पुँजी न सुँजी '.....नही लत्ता चले कलकत्ता’ (व्यङ्ग्य)

पुँजी न सुँजी '.....नही लत्ता चले कलकत्ता’ (व्यङ्ग्य)

साईँला भाइ

संविधानको तमसुकमा समाजवाद तिर दौडिने लिखितम गरिएको छ । तर अर्थशास्त्र भन्ने सिद्धान्तमा पुँजीवादमा नगैकन समाजवादमा नपुगिने भन्ने रैछ । यसैले आजकाल नेपालमा कुन पुँजीवाद आएको हो खुट खबर लिन सबै दौडिदत्त गर्न लागेका छन् ।
फेरी पुँजीवादलाई समाप्त गरेपछिमात्र समाजवादमा जाने दैलो खुल्ने भएकोले पुँजीवाद यकिन गर्नु पर्ने मेलो मेसो गर्नै पर्ने भो । तर कुन पुँजीवाद हो भन्ने ठहर चैं भैसकेको छैन । त्यसैले अलमलअलमल परेको छ ।

हुन पनि हो । उतिबेला हिन्दीमा एउटा उखान चल्तीको थियो ‘...... नही लत्ता चले कलकत्ता’ । गोप्य अंग छोप्ने लत्ताकपडा नलगाई परदेश कलकत्ता जाने कुरा पनि भएन । जाने भन्ने कलकत्ता तिर तर लंगोटीको भरमा त जानु भएन नै । त्यस्तै पुँजी बेगर समाजवादमा जान नसकिने भएकोले नेपालमा कुन पुँजी आएको छ भन्नेमा सबैको अनुसन्धान खप्टिएको छ ।
यस्ता केही पुँजीको बारेमा तल चर्चा गरिनेछ ।

आसेपासे पुँजीवाद:

धेरै विद्वान विदुषीहरु नेपालमा आसेपासे पुँजीवाद छ भन्छन् । म्लेच्छ (अंग्रेजी) भाकामा यस्तो पुँजीवादलाई ‘क्रोनि क्यापिटीलीजम’ भनिन्छ । म्लेच्छ भाकामा सुन्दा त राम्रै लाग्छ तर भर्नाकुलर नेपालीमा सुन्यो भने लाज घिन नै लाग्छ । अझ सत्ताधारीलाइ यस्तो पुँजीवाद पो नेपालमा रैछ भन्यो भने मुखै अमिलो पार्छन । धेरैले यो नाम सुन्दै झुसिलो डकार पनि निकाल्छन ।

यो पुँजीवादको अर्थ यतिमात्र लाग्दैन । बाबु पट्टीका ९ पुस्ता र आमा (मावली) पट्टीका सात पुस्ता र ससुराली पट्टीका एकाध पुस्ता बाहेक यो पुँजीवाद जनता जनार्दनमा जाँदैन । यो पुँजीवादको विशिष्ठ विशेषता अनुसार भुक्के चप्पलबाट एकैचोटी पजेरोमा पु¥याउने काम गर्छ । यो पुँजीसम्पन्न भएपछि उसको मातृभाकामा पनि ठूलो परिवर्तन आउँछ । हिजोछाडी अस्तिसम्म उसले आउजाउ, लाउखाउ, टट्टीपिसाव गर भन्ने ठाउँमा आइस्यो गइस्यो, लाइस्यो, खाइस्यो वा ज्युनार गरीस्यो, हल्का भइस्यो आदि भन्नु पर्ने हुन्छ । भर्नाकुलर नेपाली भाकाको क्रियापदमा पुरै ‘स्यो’ लगाउनु पर्ने हुन्छ । अझ केहि अन्तर वैयक्तिक क्रियाकर्म गर्दा त यो भाकाले पुरै रामरमिता देखाउँछ ।

काँठे पुँजीवाद:

यो अर्को जौडे पुँजीवाद हो । उपत्यकाको काँठ क्षेत्र वा राजधानी, सदरमुकामको वरीपरी मात्र वालछ्याल पुँजी खेल्ने खेलाउने यो व्यवस्था हो । पुँजीको भोर जुवा यस्तो क्षेत्रमामात्र खेलाइन्छ भने त्यो काँठे पुँजीवाद हो । म्लेच्छ भाकामा यसलाई ‘पेरीफेरीयल’ पुँजीवाद भन्छन् । विषय वा प्रसंगले अर्को अर्थ नलागेमा काँठ भन्नाले कुनै जाति विशेषलाइ बुझाउँछ । तर अर्थशास्त्रको हिसावमा त्यस्तो केहि होइन । फेरी हामीलाई नै भनी पठाको होला भनी कसैले खुट्टो उचाल्यो भने त्यो संयोग मात्रै मानिने छ ।

काँठे पुँजीवादका केही प्रांगारिक (अग्र्यानिक) विशेषता छन् । यो विशेषता अनुसार राष्ट्रिय व्यापार (जग्गा दलाली) कारोबार हुने ठाउँमा मात्र यो पुँजीवाद लागु हुन्छ । काँठ क्षेत्र त हो तर राष्ट्रिय व्यापार (जग्गा दलाली) को कुनै गुञ्जाइस छैन भने ति असनका गल्ली जस्तै रहने छन् । यसर्थ यो पुँजीवादको नाम काँठे भएपनि गाँठ आउजाउ नहुने ठाउँमा लागु हुँदैन । यसर्थ यो पुँजीवाद ‘गाँठे’ वा ‘गाँठ‘ पुँजीवाद भनेर पनि चिनिन्छ ।

किनारा पुँजीवाद:

यसलाई ढुकुवा पुँजीवाद पनि भनिन्छ । अन्तिम मौकामा चौका हानेर कमाउने यो पुँजीवाद हो । असार मसान्तलागे पछि बाटोघाटो, नाली ढल बनाएर पुँजी कुम्ल्याउने । चाडबाडमा नुनचिनी अभाव हुँदा सरकारबाट लाइसेन्स लिएर जनताको ढाड सेक्ने गरी नाफा कमाउने यसको विशेषता हुन्छ । अप्ठ्यारो परेको बेला एेंठने पुँजीवाद भएकोले यसको नाम किनारा पुँजीवाद भनिएको हो । यस्तो पुँजीवाद विकसित देशमा हुँदैन ।

अन्य पुँजीवाद:

यसका अतिरिक्त पुँजीवाद, दलाल पुँजीवाद वा दलाल नोकरशाही पुँजीवाद भन्ने पनि हुन्छ । तर यस्ता पुँजीवादको बारेमा जान्न धेरै पुस्तक पढनु पर्ने, अध्ययन अनुसन्धान गर्नु पर्ने भएकोले निकै जटिलता खेप्नु पर्छ । यस्तो जटिलता फुकाएर जानु सकिँदैन पनि । नजाने गाउँको बाटो किन सोध्नु ? बरु माथिका सजिलै बुझ्न सकिने प्रांगारिक (अग्र्यानिक) भाकाका पुँजीवाद मध्ये एउटालाइ छानेर समाजवादको यात्रा गर्नु राम्रो होला । संविधानको क्रियाकर्म हुनेछ । यसो गरे कसो होला ।  समयबद्ध साप्ताहिकबाट