बुटवलमा डा. बलरामको आतङ्कः टाउको चिर्दै 'रिफर' गर्दै ...

बुटवलमा डा. बलरामको आतङ्कः टाउको चिर्दै 'रिफर' गर्दै ...

बुटवल । आजभोली धेरै जटिल रोगहरुका अपरेशनहरु काठमाडौं बाहिर पनि हुन थालेका छन् । काठमाडौंसम्म बिरामी ल्याउन पहुँच वा क्षमता नहुने अथवा काठमाडौंसम्म बिरामी ल्याउ मुस्किल पर्ने रोगहरुको निधान सम्बन्धित ठाउँमा नै हुनु एक हिसावले राम्रो मान्न सकिन्छ र हो पनि । तर मोफसलमा गएर सेवा दिने होडबाजिले अर्को समस्या पनि थपेको छ ।

सामान्यतया औषधि मात्र चलाउने रोगहरुमा त्यति धेरै समस्य नदेखिएपनि जटिल प्रकारका शल्यक्रिया भने मोफसलमा बिकराल समस्या देखिन थालेको छ । र यसलाई शल्यक्रिया क्षेत्रमा चुनौतीका रुपमा हेरिएको छ । जस्तोसुकै शल्यक्रिया भएपनि त्यसमा विशेषज्ञता हाँसिल गर्दैमा (एमएस) ती चिकित्सकले शल्यक्रिया सफलतापूर्वक गर्न सक्दैनन् । त्यसका लागि उक्त चिकित्यसकले धेरै लामो समय बरिष्ठ सल्य चिकित्सकहरुको रोहबरमा शल्यक्रिया गर्न सिक्नु पर्दछ ।

तर आजभोली विशेषज्ञता हाँसिल गर्ने बित्तिक्कै कुनै अनुभव र सिकाई नै नभएकाहरुले नाम र दाम कमाउने बहानामा ती चिकित्सकहरु मोफसल झर्ने गरेका धेरै तथ्यहरु फेला परेका छन् । त्यस्ता चिकित्सकले बिरामीहरुलाई धमाधम चिर्दै आफ्नो प्रयोगशाला बनाउने गरेका पाइन्छ । यसको पछिल्लो उदाहरण रुपन्देही जिल्लाको मणिग्राममा अवस्थित क्रिमशन अस्पतालका न्यूरो शल्यचिकित्सक डा. बलराम न्यौपाने हुन् ।

केही दिन अगाडि क्रिमसन अस्पतालमा तिलोत्तमा ७ का शुकवहादुर रानाको मृत्युको घटनाले ठुलो रुप लियो । समान्य समस्याबाट बिमारीको मृत्यु भए पछि दुई तीन सय आफन्तहरु आन्दोलनमा उत्रिए । अस्पतालले गल्ती भएको महशुस गरि मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च फिर्ता गर्ने निर्णय गर्याे । बिमारीका केही आफन्तलाई अस्पताल प्रशासनले फकाएर घटना गुपचुप पार्ने कोशिस गरियो । तर जति नै गरेपनि अहिले त्यो घटना बुटवल र मेडिकल क्षत्रमा भुसको आगो झैँ फैलिँदै गएको छ ।

के थियो घटना ?

शुकबहादुर राना उच्च रक्तचापका बिमारी थिए । उनलाई शरिरमा समस्या भएपछि घर नजिकैको क्रिमशन अस्पतालमा आफन्तकासाथ पुगे । त्यहाँ थिए न्युरो शल्यचिकित्सक बलराम न्यौपाने । सिटि स्क्यान गरि हेर्दा उनकोे टाउकाको पछाडि पट्टिको भागमा केही रगतको दाग देखिनुकासाथै पानीको चाप बढेको देखियो । बिरामीको उक्त अबस्थाको बारेमा डा. बलरामले शुकबहादुरको सालो नाता पर्ने युवराज जैसीलाई बताए । जैसीले शल्यक्रिया गर्नुपर्ने भए अन्यत्र रिफर गर्न डा. समक्ष अनुरोध गरे । 
तर डा. बलरामले सामान्य समस्या भएकाले अन्यत्र लानु नपर्ने र यस्तो समस्या आफैले समाधान गर्ने र गर्दे आएको समेत बताए । डा. बलरामले बिरामीको टाउकोमा जमेको पानी र रगतलाई प्वाल पारेर पाइपको माध्यमद्वारा  बाहिर निकाल्ने प्रक्रिया शुरु गरे । समान्यतया न्युरो सर्जरीमा यो प्रक्रिया ४/५ दिनको हुने गर्दछ । तर केही घण्टा पछि एकाएक डा. बलरामले बिमारीको टाउको खोले र आफ्नो सिप अनुरुप केही गर्न गर्ने प्रयास गरे ।

उनले गर्न खोजेको कार्यमा उनी सफल भएनन् । तुरुन्तै उनले टाउको ‘क्लोज’ गर्न थाले । टाउको ‘क्लोज’ त गरे तर अतालिएका डा. बलरामले रगतका नसाहरु भने बन्द गर्न नैं सकेनन् । टाउकामा आन्तरिक रगत प्रवाह ‘इन्टरनल ब्लिडिङ’ भयो र शुकबहादुरको मृत्यु भयो ।

यस्तो बिमारीलाई कसरी उपचार गरिन्छ ?

न्युरो शल्यचिकित्सामध्यकै टाउकाको शल्यक्रिया जटिल मध्येको एक मानिन्छ । तर शुकबाहादुरको समस्या भने त्यत्ति जटिल ‘केश’ नभएको चिकित्सकहरु बताउँछन् । राम्रो सिप भएको चिकित्सकका लागि यो शल्यक्रिया ठुलो र बिरामीको ज्यान नै लिने खालको भने होइन ।

खासगरी यस्तो समस्या भएका बिमारीको टाउकोमा प्वाल पारि पाइपको माध्यमबाट टाउकाको भित्र जमेको पानी र रगतलाई बाहिर निकाल्ने प्रयास गरिन्छ । यो प्रक्रिया कम्तिमा ४/५ दिन सम्मको हुन्छ । यदि ४/५ दिन सम्म पनि टाउकोमा जमेको पानी वा अन्य कुराहरु पुर्ण रुपले बाहिर ननिस्केको खण्डमा टाउको खोलेर गर्ने  अन्य प्रक्रिया अपनाइन्छ । तर यहाँ डा. बलरामले प्वाल पारेर गर्ने उपचार प्रक्रियाको समय पर्याप्त हुँदाहुँदै किन टाउको खोले भन्ने बिषयमा नै सङ्का देखिन्छ । यसबारेमा काठमाडौंका एक बरिष्ठ प्राध्यापक तथा न्युरो शल्यचिकित्सकलाई प्रश्न गर्दा उनले सिप र तालिम कम भएका शल्यचिकित्सकले शल्यक्रिया गर्दा यस्तो समस्या आउने गरेको बताए ।

उनका अनुसार केश सुन्दा सर्वप्रथम डा. बलरामले बिरामीको टाउकोमा प्वाल पार्ने प्रक्रियामा गल्ती गरेर तुरुन्तै दोस्रो प्रक्रियामा जाने अर्को गल्ति गरे । उक्त प्रक्रिया सफल नभए पछि उनि अतालिनु स्वभाविक थियो, जसका कारण बिरामीले ज्यान गुमाउनु पर्यो । ती बरिष्ठ प्रा. डा.को अनुभव अनुसार टाउको खोल्न जति सजिलो छ त्यसको सयौं गुणा जटिल बन्द गर्नमा हुन्छ । 

‘टाउको खोल्ने क्रममा धेरै नसाहरु छिन्न भिन्न भई काटिएका हुन सक्छन्, ती नसाहरुलाई एक एक गरेर बन्द गर्नु पर्ने हुन्छ । बन्द नगरिएका नशाबाट आन्तरिक रक्तश्राब हुनु स्वाभिाविक हो । त्यही कारण बिरामीको मृत्यु भएको हुनसक्छ । यसका लागि पढेर मात्र हुँदेन धेरै लामो अनुभव र सिकाई चाहिन्छ,’ उनले भने । 

के भन्छन् डा. बलराम ?

झिल्को संवाददाताले डा. बलरामसँग मोवाइलमा सम्पर्क गर्दा घटना बाहिर आए जस्तो नभएको प्रतिक्रिया दिए । उनले भने, ‘बिमारीको उपचारका क्रममा मृत्यु भएको कुरा सत्य हो, तर उपचार गर्ने पद्धति जहाँ गए पनि एउटै हो ।’

टाउको चिर्दै 'रिफर' गर्दै

सामान्यतया बिमारीलाई अन्यत्र ‘रिफर’ गर्ने भनेको आफुले गर्न नसक्ने शल्यक्रियाका बिरामीहरुलाई हातै नहाली आफु भन्दा जान्ने शल्यचिकित्सक र प्रविधियुक्त अस्पतालमा जानका लागि सल्लाह दिने कार्य हो । तर, यहाँ डा. बलराम त जस्तो ‘केस’ का बिरामी आएपनि पैसा कमाउन र सिक्नकालागि आफैँ तम्सिने गरेको देखिन्छ । बिरामी बाँचे आफुले नाम कमाउने, बिरामीको कथंकदाचित मृत्यु भयो भने बिरामी र उसका आफन्तलाई दोष थोपरिदिने ।

डा. बलरामले ‘केस’ बिगारेर ‘रिफर’ गरेका घटनाहरु धेरै छन् । त्यसमध्ये क्रिमशन अस्पतालमै कार्यरत एक स्टाफ नर्सका बुवा बलवहादुर आले हुन् । बलवहादुर आलेको शल्यक्रिया पनि यिनै डा. बलरामले केही दिन पहिला गरेका हुन् । बिरामीका आफन्तले उपचारका लागि अन्यत्रै लैजाने भन्दा भन्दै डा. बलरामले अनेक बहानामा बिरामीका आफन्तलाई प्रलोभनमा पारी आफैँसँग शल्यक्रिया गर्न राजी गराए । तर शल्यक्रिया बिग्रियो ।

त्यसपछि बलरामले बिरामिलाई ललितपुरको महंगो मेडिसिटि अस्पताल ‘रिफर’ गरे । बलवहादुरका परिवारले त्यहाँको खर्च धान्न सकेनन् । उनीहरुले बिरामीलाई मेडिसिटिबाट काठमाडौंको दीर्घायु अस्पताल लगे । त्यहाँ लगे पनि बलवहादुरलाई बचाउन सकिएन ।यदि बेलैमा सही उपचार पाएको भए बलवहादुर बाँच्थे कि ! 

को हुन बलराम ?

बलाराम बङ्गलादेशबाट न्युरो शल्यचिकित्सा अध्ययन गरेर आएका हुन् । कुनै पनि शल्यक्रियामा विशेषज्ञता हाँसिल गर्दैमा कोही पनि राम्रो शल्यचिकित्सक बनिहाल्न सक्दैन । राम्रो हुनको लागि त शिक्षा मात्र भएर पुगदै त्यसका लागि दीक्षा अझै महत्पूर्ण हुन्छ । दीक्षा भनेको आफ्नो औपचारिक सिकाइकासाथै व्यबहारिक ज्ञान, क्षमता, दक्षता र सीप हो । निक्कै ठुलो मेहनत र कुनै  बरिष्ठसँग  धेरै बर्ष सँगै  काम गरेपछि मात्रै ऊ आफ्नो बिषयमा पोख्त हुन सक्छ । डा. बलराम सँग डिग्री त छ तर सिकाई अनुभव न्यून छ ।

उनले अहिलेसम्म कुनै ‘सिनियर’ सँग काम नैँ गरेका छैनन् । बंगलादेशबाट नेपाल फर्किए लगत्तै लुम्बिनी मेडिकल कलेज, पाल्पामा काम गर्न गए । त्याहाँ पनि ‘आए आँप गए झटारो’ भने जस्तै भयो । डा. बलरामको १४/१५ महिना लुम्बिनी मेडिकल कलेजको बसाइमा त्याहाँको प्रशासन नै दिक्क भैसकेको थियो । बलराम बुटवल जाने कुरा भएपछि त्यहाँ ‘कुचोले बाडार्नु पर्ने कसिङगर हावाले नै उडाइदियो’ भन्ने उखान चर्चित भएको लुम्बिनी मेडिकल कलेज प्रशासनका एक कर्मचारीले नाम गोप्य राखिदिने शर्तमा झिल्कोलाई बताए ।