नेप्से ४.४२ अंकले बढ्यो

 नेप्से ४.४२ अंकले बढ्यो

काठमाडौँ। शेयर बजार परिसूचक नेप्से आज ४.४२ अंकको बढेको छ, बढेसँगै नेप्से १३१२.१४ अंकमा आईपुगेको छ। सोमबार सूचक ९ अंकले घटेको थियो। बजेटले लगानीकर्ताको माग सम्बोधन हुने अपेक्षामा लगानीकर्ता सकरात्मक हुँदा नेप्से बढ्न पुगेको हो । यस पटकको बजेटमा सरकार लगानीकर्ताको माग सम्बोधन गर्न लचिलो हुने उनको अनुमान छ। 

नेप्से सूचक साताको सुरु देखिनै घट्दो क्रममा रहेको थियो। साताको पहिलो दिन आइतबार र सोमबार दुवैैदिन  सूचक घटेको थियो। लगानीकर्ताले शेयर कारोबारमा लाग्दै आएको कर अन्तिम करको रूपमा व्याख्या हुने, अल्पकालीन लगानीकर्ता र दीर्घकालीन लगानीकर्ताको लागि छुट्टा छुट्टै करको व्यवस्था र पूँजीगत लाभकरको विवाद सम्बोधन हुने अपेक्षा गरेका छन्। आजको कारोबारमा सूचक बढेपनि कारोबार रकम भने घट्न पुगेको छ । आज ८१ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा ३३ प्रतिशतले कम हो। सोमबार एक अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। मंगलबार १७३ कम्पनीको शेयर किनबेच भएको छ। 

आज पनि नेप्से सूचक अस्थिर देखिन्थ्यो, पहिलो घण्टा सूचक एक अंकले घटेको थियो। १२ बजेपछि बढेको बजारले एकाएक छलाङ्ग मारेर बजेसम्म ११ अंकको वृद्धि कायम गर्दै १३१७ मा आईपुगेर पुनः ओरालो लाग्यो ।

मंगलबार नेपाल बैकं र शिबम् सिमेन्टले कारोबारमा अग्रता लिएका छन्। नेपाल बैकको आठ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो भने शिवम्को ६ करोड ८८ लाख रुपैयाँको कारोबार भयो। 

कारोबारमा पाँच कम्पनीको शेयर कारोबारमा बढ्दो क्रममा सर्किट लागेको छ। मल्टिप्रपोज फाइनान्स, अपर तामाकोसी, कर्पोरेट डेभलपममेन्ट बैंक, रिलायन्स फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा बढ्दो क्रमको सर्किट लागेको हो।