महामारीको बेला जनताको आँखामा छारो हाल्ने कामः वैद्य

महामारीको बेला जनताको आँखामा छारो हाल्ने कामः वैद्य
काठमाडौ, १९ चैत । देश गम्भीर स्थितिबाट गुज्रिएको भन्दै नेकपा क्रान्तिकारी माओवादीले सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन माग गरेको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै यो स्थितिलाई ठीक ढङ्गले सम्बोधन नगरे नेपाली जनता महामारीको भुमरीमा फस्ने जनाएका छन् । देशमा सङ्कट अरू गहिरिँदै जानेतर्फ गम्भीर बन्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् । साथै महामारीविरुद्ध एकताबद्ध भएर लड्न आम नागरिकलाई नेकपा क्रान्तिकारी माओवादीले अपिल समेतगरेको छ। वैद्य माओवादीले सरकारले कोरोना भाइरस रोकथामका लागि गरेको घोषणा जनताको आँखामा छारो हाल्ने र सत्तामा बस्नेले लाभ लिने साधन बन्न लागेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ। सरकारले महामारी नियन्त्रण र लकडाउनद्वारा सिर्जित समस्या समाधान गर्न भनी गरेको घोषणा सुन्दा नराम्रा नभएको तर व्यवहारमा हेर्दा जनताको आँखामा छारो हाल्ने काम भएको आरोप छ। सत्तामा बस्नेहरुले यो बेलालाई आर्थिक लाभ गराउने साधन बनाउन लागेको आभाष दिएको विज्ञप्तिमा उल्लेख छ।