देउवालाई आफ्नै बोली पासो

देउवालाई आफ्नै बोली पासो

काठमाडौं । कोइराला परिवारको तर्फबाट नेपाली कांग्रेसको भावी सभापतिका लागि अघि सारिएका नेता डा. शेखर कोइरालामाथि गरेको शाव्दिक आक्रमण सभापति शेरबहादुर देउवाका लागि निकै महङ्गो सावित भएको छ । दुई साताअघि वीरगञ्जको एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले भनेका थिए, ‘नेपाली कांग्रेसको सभापति पद ताक्ने को हो शेखर कोइराला ? योगदानका आधारमा पार्टीको नेतृत्व लिने हो कि पारिवारिक विरासतका आधारमा ? नेपाली कांग्रेस कोइराला परिवारको विर्ता होइन ।’

 आगामी महाधिबेशनमा पनि चुनाव जित्ने तारतम्य मिलाउँदै गरेका सभापति देउवाले कोइराला परिवार एक ढिक्का भएर सभापति पदमा उमेद्वारी दियो भने मुस्किल हुने आँकलन गरिरहेका छन् । कोइराला परिवारले एक ढिक्का भएर डा. शेखरलाई  सभापति पदका लागि अघि सार्ने निधो गरिसकेको छ । कोइराला परिवारको यो निधो नै आउने महाधिवेशनमा पार्टी कब्जा गर्ने ध्याउन्नमा लागिसकेका देउवाका लागि निकै ठूलो चुनौति बनेको छ । तर यो चुनौतिको सामना कूटनीतिक रुपमा गर्नुपर्नेमा सिधै गरेको भन्दै देउवा आफ्नै पक्षमा आलोचित बनेका छन् । खासगरी सभापति देउवालाई भेटेरै उपसभापति विमलेन्द्र निधिले यो भनाइ फिर्ता लिन आग्रह गरेका थिए ।  

२०५९ साउनमा नेपाली कांग्रेस विभाजित भएपछि देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेको थियो । त्यसबेला एउटा सार्वजनिक कार्यक्रममा सभापति देउवाले आफू र गिरिजाप्रसाद कोइरालालाई तुलना गर्दै भनेका थिए– ‘म किसानको छोरो, उहाँ सामन्तीको छोरो ।’  त्यसबेला पनि निधिले अब आइन्दा यस्तो कुरा नबोल्न आग्रह गरेका थिए ।  त्यतिबेला देउवालाई निधिको सुझाव थियो– ‘नेपाली कांग्रेस भनेको कृष्णप्रसाद कोइरालाले पु¥याएको योगदानको जगमा जन्मेको र खडा भएको पार्टी हो, कृष्णप्रसाद कोइरालालाई सामन्ती भनेर कम्युनिष्टहरुले पनि भन्न सकेका छैनन्, तपाईंले यसरी गाली गरिदिनु भयो भने पार्टी कसरी अघि बढ्छ ?’ 

त्यसबेलादेखि देउवाले कोइराला परिवारलाई गाली गर्न छाडेका थिए । तर, दुई साताअघि अचानक गाली गरेपछि देउवासँग कोइराला परिवार ज्यादै  क्षुब्ध भएको छ । डा. शेखर कोइरालाले भन्ने गरेका छन्– ‘नेपाली कांग्रेस र मुलुकलाई कृष्णप्रसाद कोइराला र उनका सन्तानहरुले के कति योगदान पु¥याएका छन् ? भन्ने हेक्का समेत नराख्ने सभापति देउवाले आम कार्यकर्ताको मूल्यांकन कसरी गर्लान ? कांग्रेसका आम कार्यकर्ताहरुले कसरी न्याय पाउलान ?’ 

   समाचार स्रोतका अनुसार  कोइराला निकटस्थ बुद्धीजीवीहरुले देउवा र शेखर कोइरालाले व्यक्तिगत रुपमा नेपाली कांग्रेस र मुलुकलाई पु¥याएको योगदानको तुलना गर्दै महाधिबेशनको पूर्वसन्ध्यामा पुस्तिका नै निकाल्ने तयारी गरिरहेका छन् । तर तत्कालका लागि भने प्रचारात्मक अभियान सुरु गरेका छन् । 

   उमेरको हिसावले डा. कोइराला भन्दा देउवा छ वर्ष जेठा छन् । २०१५ सालको आम निर्वाचनमा नौ वर्षकै उमेरमा शेखर नेपाली कांग्रेसको प्रचार प्रसारमा हिँडेको देखिन्छ भने देउवा २०२१ सालमा मात्रै विद्यार्थी राजनीति मार्फत नेपाली कांग्रेसमा आवद्ध भएका हुन् । तर विद्यार्थी राजनीतिमा भने  शेखरले कुनै पद लिएनन् । देउवा नेवि संघको अध्यक्ष समेत भए । २०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा देउवा नेवि संघको अध्यक्ष हुँदाहुँदै पनि आन्दोलनको विरुद्धमा लागे तर डा. शेखर भने बीर अस्पतालको स्थायी डाक्टर पदलाई जोखिममा राखेर आन्दोलनमा होमिए । जनमत संग्रहको बेला बहुदलको प्रचार प्रसारमा जुटे । जसका कारण उनको जागिर गयो । जनआन्दोलन २०४६ मा शेखर कोइरालाको भूमिका अग्रणी रह्यो । उनी एक्सन कमिटीमै थिए । केही दिनमा आन्दोलन सिथिल भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रे । चिकित्सकहरुको आन्दोलनले जनआन्दोलनमा ऊर्जा थप्यो । चिकित्सकहरुलाई आन्दोलित गराउन डा. शेखरको महत्वपूर्ण भूमिका थियो । तर २०४६ सालको जनआन्दोलनमा देउवाले भाग लिएनन् । उनी २०४४ देखि २०४७ सालसम्म बेलायतमा थिए । बेलायत छाडेर नेपालमा चुनाव लड्न शेखरले नै देउवालाई बोलाएका थिए । जनआन्दोलन २०६२÷२०६३  त देउवाकै विरुद्ध भएको हो भन्दा पनि फरक पर्दैन । 

देउवाले नेपाली कांग्रेसको बहुमत रहेको प्रतिनिधिसभालाई विघटन गरिदिए तर चुनाव गराएनन् । यसरी २०४६ सालको जनआन्दोलनको उपलव्धिलाई देउवाले राजा कहाँ बुझाई दिए । देउवाले दरवारमा बुझाएको ०४६ सालको आन्दोलनको उपलव्धिलाई फिर्ता ल्याउने तागत नेपाली कांग्रेस एक्लैले राख्न सकेन । किनकि देउवाले नेपाली कांग्रेसलाई पनि फुटाएर कमजोर बनाइदिइ सकेका थिए । त्यतिबेला सशस्त्र संघर्षमा लागेको माओवादीलाई शन्ति प्रक्रियामा ल्याएर दरबारलाई कमजोर बनाउने अभियानमा डा. शेखर कोइरालाको महत्वपूर्ण भूमिका थियो । योगदानको हिसावले देउवा भन्दा डा. शेखर धेरै गुणा माथि छन् । फरक यत्ति हो कि  २०४८ यता देउवाले  निकै महत्वपूर्ण पदहरु हात पारे तर शेखरले त्याग देखाउँदै गए । डा. शेखरले राजनीतिक पद लिएको दोस्रो जनआन्दोलनको सेरोफेरोदेखि हो । २०६२ सालमा सम्पन्न ११ औं महाधिबेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछिका लगातार दुई वटा महाधिबेशनमा पनि अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य  निर्वाचित भएका छन् ।  

 नेपाली कांग्रेसका विश्लेषक गोविन्द अधिकारीले आफ्नो फेसबुकमा लेखेका छन् – ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा पिताजीका नामबाट विख्यात कृष्णप्रसाद कोइरालाका तेस्रो पुस्ताका तीनजना प्रतिनिधि केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइराला तथा महामन्त्री डा. शशांक कोइराला अहिले कांग्रेसको राजनीतिमा छन् । तीनै जनाले एउटै मञ्चबाट आगामी महधिवेशनमा उनीहरूमध्ये एक जना पार्टीको सभापतिमा उमेदवार हुने घोषणा वीरगन्जमा पुगेर गरे । त्यही घोषणाबाट तिलमिलाए जसरी सभापति देउवाले ‘‘कोइराला हुँदैमा सभापति हुन नपाइने’’ भन्दै शेखरको नामै किटेर उनको सभापति हुने हैसियत नभएको भने । पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् डा. शेखर कोइराला भन्ने सायद देउवाले हेक्का राखेनन् । विधानले पनि शेखरलाई सभापतिको निर्वाचन लड्न रोक्दैन होला ।’

हुन पनि नेपाली कांग्रेसको निर्माणमा कोइराला परिवारको योगदान अरूको भन्दा त धेरै नै छ । परिवारका अरू सदस्यसँगै शेखरका बाबुआमा पनि कांग्रेससँग अभिन्न रूपमा जोडिएका थिए । शेखर कोइराला आन्दोलनका बेला (पञ्चायतकालको ) कहाँ थिए भन्ने प्रश्न गर्दा कसैले २०४६ सालको आन्दोलनमा देउवाको भूमिका, राजालाई लोकतन्त्र सुम्पेको, राजाको इसारामा पार्टी फुटाएको, प्रतिनिधि सभा पुनःस्थापनाका लागि नेपाली कांग्रेस आन्दोलनमा रहेकै बेलामा ‘गोर्खाली राजाले न्याय दिए’ भन्दै राजाको भारदार हुन पुगेको हिसाब खोज्न सक्छन् भन्ने हेक्का राखेको  देउवाले देखिएन । विधानले दिएको अधिकार प्रयोग गर्न खोज्ने कुनै पनि कार्यकर्तालाई ‘हैसियत’ सोध्ने अधिकार कसैको पनि हुँदैन । र, देउवा पनि अपवाद हुन सक्तैनन् । नेपाली कांग्रेसमा सभापतिमा चुनाव लड्छु भन्दा अपराध पक्कै पनि हुँदैन । गिरिजाप्रसाद कोइरालासँग त सभापति पदमा स्वयं देउवालगायत अरू पनि चुनाव लडेका थिए । त्यतिबेला गिरिजाप्रसादले देउबाको हैसियत माथि प्रश्न गरेका थिएनन् । नेपाली कांग्रेसका कुनै सभापतिले सार्वजनिक रूपमा यसरी आफ्नो केन्द्रीय सदस्यको ‘हैसियत’ मै प्रश्न गरेको सायद यो पहिलो पटक हो । समयबद्ध साप्ताहिकबाट