प्रम ओली र नेता नेपालबीच भेटवार्ता : पार्टीको आन्तरिक विषयमाथि छलफल

प्रम ओली र नेता नेपालबीच भेटवार्ता : पार्टीको आन्तरिक विषयमाथि छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै पुगेका थिए।

पछिल्लो समय नेकपामा ठूलै रस्साकस्सी परेको छ । विशेषगरी एमसिसिसँग सम्बन्धित विषय र बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने विषयमा प्रधानमन्त्री तथा प्रचण्ड र माधव नेपालहरुको मतभेद भएको देखिन्छ । यिनै समसामयिक मतभेदका विषयलाई निराकरण गर्न दुई नेताहरुविचको छलफल भएको हो ।

दुई नेताहरुबीच पार्टीको आन्तरिक र समसामयिक विषयमा छलफल भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यस अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको बैठकमा पनि नेता नेपाल सहभागी भएका थिए।  बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओली बाहेकका शीर्ष नेता सहभागी थिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको सचिवालय बैठकको निर्णयलाई कार्यान्वयन गराउने निर्णय गरेको बुझिएको छ । 

यसैबीच, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीलाई नभएको बताएका छन् । उनले सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताए ।