सरकारी नीजी साझेदारीमा फलाम खानी

सरकारी नीजी साझेदारीमा फलाम खानी

काठमाडौं । सरकारी निजी साझेदारीमा नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ । सो कम्पनी सरकारी वर्चस्वमा रहने गरी सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ ।

कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहने गरी स्थापित सो कम्पनीका बारेमा  चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिने’ उल्लेख छ । सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  आइतबार एक  पत्राकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएको हो । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले जनाए अनुसार  धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भइरहेको छ ।  उनले भननि “ कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको छ ।”

नवलपुरको धौवादी क्षेत्रमा फलाम हुन सक्ने गरी  भेटिएको वस्तुको चीनमा परीक्षण गरिएको थियो । “उत्खनन, प्रशोधन तथा उत्पादन गर्न स्थापित सो कम्पनी सञ्चालनको प्रारम्भिक कार्यविधि तयार भइसकेको छ ” उनले भनिन ।

सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने अनुमान छ ।  उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल अध्यक्ष रहने गरी सो कम्पनी स्थापना गरिएको छ । काठमाडौँस्थित खानी तथा भूगर्भ विभाग परिसरभित्र यो कम्पनीको कार्यालय स्थापना गरी काम अगाडि बढाइएको छ ।

कम्पनीको सञ्चालक समितिमा विभिन्न मन्त्रालयको प्रतिनिधित्व रहने गरी  सञ्चालक समिति गठन प्रक्रिया अगाडि  बढाइएको छ । मन्त्रिपरिषदले भदौमा नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको थियो ।