इरानी आक्रमणमा कोही हताहती नहुनुबारे अमेरिकामा बहस

इरानी आक्रमणमा कोही हताहती नहुनुबारे अमेरिकामा बहस

काठमाडौ । इरानले  अमेरिकी सैनिक शिविरमा लक्षित गरी गरेको आक्रमणमा कोही हताहती नहुनु विषयमा अमेरिकामा बहस शुरू भएको छ । इरानको  सैनिक कमान्डर कासिम सुलेमानीलाई हवाइ हमला गरी अमेरिकाले मारेपछि त्यस हत्याको बदला लिन गरिएको आक्रमणमा परी कोही अमेरिकी वा इराकी हतहती नहुने विषयको रणनीतिक विषयबारे अमेरिकी अधिकारीहरूले विभिन्न किसिमले चर्चा गर्न थालेका छन् ।

इरानले जानीजानी आक्रमणमा कसैको हताहती नहुने गरी आक्रमण गरेको हो वा उसको आक्रमण असफल भएको हो भन्ने विषयमा बहस भइरहेको छ । अमेरिकी र युरोपीय सरकारी सूत्रहरूको हवाला दिँदै रोयटर्सले कोही अमेरिकी सैनिक हताहती नहोस भनेर नै इरानले आक्रमण गरेको जनाएको छ ।

उनीहरूका अनुसार इरानले विद्यमान संकटको नियन्त्रण राजनीतिक क्षेत्रबाट बाहिर नजान पाओस भनेर यस्तो आक्रमण गरेको हो । साथै इरानको मनसाय पनि बुझ्न सकियो भनिएको छ । यसैगरी अमेरिकी प्रतिरक्षा मन्त्रालयका अधिकारीहरूले पनि यस्तै विश्वास गरिरहेका छन् ।

इरानले कोही हताहती नहुने गरी नै आक्रमणको लक्ष्य निर्धारण गरेको पेन्टागनका अधिकारीलाई उल्लेख गरी सीएनएनका पत्रकार ज्याक टयापरले जनाएका छन् । तर कतिपयले भने इरानले जानजानी यस्तो आक्रमण गरेको हो वा उसको आक्रमण असफल भएको भन्ने विषय स्पस्ट हुन नसकेको बताउने गरेका छन् ।

स्याटेलाइट तस्विरबाट अमेरिकी शिविरका कतिपय महलमा हानी पुगेको तर कसैको हताहती नभएको हुनु रणनीति पनि हुन सक्ने र संयोग दुबै हुन सक्ने देखिएको छ ।इरानका सार्वोच्च नेता आयातोल्ला खामेनीले यो आक्रमण अमेरिकाको गालामा एक थप्पड भएको टिप्पणी गरेका छन् ।