सुनको भाउमा दैनिक रेकर्ड ब्रेक, कारोबार सुस्ताउँदा व्यवसायी चिन्तित

सुनको भाउमा दैनिक रेकर्ड ब्रेक, कारोबार सुस्ताउँदा व्यवसायी चिन्तित

पछिल्लो समय सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गर्न थालेको छ। अन्तराष्ट्रिय बजारमा सुनको माग बढेर मूल्य बृद्धि हुँदा नेपालमा पनि  बढेर नयाँ उचाइमा पुगेको हो। 

सुनको मूल्य एक महिनामै ४ हजार ५ सय रुपैयाँले बढेको छ। पुस १ गते ७१ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य २१ गते सोमबारसम्म आईपुग्दा तोलाको ७६ हजार पुगेको छ।

यसअघि करिब ४ महिना पहिले सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। गत भदौ ९ गते ७३ हजार ५०० रुपैयाँको नयाँ रेकर्ड कायम गरेको हो। पुस १८ गते सुनको मूल्यले पुनः त्यही मूल्य भेट्टाएको थियो। त्यसपछि सामान्य कारोबारका बिच किनबेच भइरहेको सुन गत शुक्रबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको छ। सुनसँगै चाँदीको भाउ पनि बढेको छ, चाँदीको प्रतितोला ९२० मा कारोबार भईरहेको छ । 

            

आइतबार पनि ७५ हजार ५ सय भएको सुनको भाउ सोमबार ५ सयले बढेर ७६ हजार रुपैयाँमा उक्लिएको छ। सोमबार अन्तराष्ट्रिय बजारमा समेत सुनको रुपैयाँ उल्लेख्य बढेको छ। अन्तराष्ट्रिय बजारमा यो समाचार बनाउँदा १५७५.५० डलर प्रतिऔंसमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारकै कारणले स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
 

भाउ बढेपछि कारोबारमा मन्दी
भाउ बढ्दै गएपछि सुन कारोबार भने निकै घटेको व्यवसायीहरु बताउछन्। पछिल्लो समय दैनिक ९ किलो  सुन पनि बिक्न छाडेको छ। यस अघि चालु आर्थिक बर्ष लागेसँगै सुनको कारोबारमा मन्दी देखिएको थियो। भदौमा थप मूल्य बढेपछि कारोबार थप सुस्ताएको थियो। भदौमा सुनको मूल्य ७३ हजार ५०० सम्म आइपुगेको थियो। भदौमा नै मूल्य बढेर कारोबार सुस्ताउँदा आत्तिएका व्यवसायी पछिल्लो समयको मूल्य बढाइले चिन्तित देखिएका छन्।

पुस सुनचाँदी व्यवसायीको लागि अफसिजन मानिन्छ। यस महिनामा विवाह जस्ता कार्यहरु नहुने तथा अन्य सुन उपभोग गर्ने चाडपर्व पनि नपर्ने भएकाले यो महिनामा अन्य समयको तुलनामा निकै कम सुन कारोबार हुने गरेको छ गरेतापनि यस बर्ष बजारमा सुन किन्ने भन्दा भाउ महंगो भएपछि बेच्नेहरुको घुईंचो लागेको छ । 

यसकारण बढ्दैछ सुनको भाउ 
पछिल्लो समय सुनको मूल्य अचाक्ली रुपमा बढ्दै गएको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।

अमेरिका र इरानबिचको विवादका कारण सुनचाँदीको भाउ लगातार उकालो लगेको  हो। इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि दुई देशबीच तनाव बढ्दा त्यसको असर आर्थिक क्षेत्रमा समेत परेको छ। जसका कारण लगानीकर्ताहरु शेयर बजारभन्दा सुनप्रति आकर्षित भएका छन्। परिणमस्वरुप, अन्तराष्ट्रिय बजारमा सुनको माग बढेको छ। माग बढेकै कारण सुनको भाउ उच्च रुपले बढ्दै गएको शाक्यको भनाइ छ। अमेरिका र चीन बिचको व्यापार युद्ध, डलरको तुलनामा भारु कमजोर हुनुले पनि सुनको भाउ बढ्न टेवा पुर्‍याएको छ। 

अमेरिका र चीनबिच प्रारम्भिक व्यापार सम्झौता भएपनि त्यसको कार्यान्वयन अझैसम्म हुन सकेको छैन्। सम्झौता कार्यान्वयनको लागि जनवरी १५ मा दुइ देशविच वार्ता हुँदैछ। इरान र अमेरिकाको विवादकै कारण पछिल्लो समय अन्तराष्ट्रिय क्षेत्रमा तेलको भाउ समेत बढ्दै गएको छ।