सभामुख चयन पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउँछ: नेपाल 

सभामुख चयन पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउँछ: नेपाल 

भीमदत्तनगर, २० पुस। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् ।

प्रेस सङ्गठन कञ्चनपुरले आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे ।
प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ,’ उनले भने, ‘जनभावना अनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।’

जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको दबी गर्दै नेता नेपालले प्रतिनिधि सभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पुर्याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो ।

‘पर्यटन आर्थिक विकासको इन्जिन हो,’ उनले भने, ‘यसलाई गतिशील बनाउन आवश्यक छ ।’ भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए ।

‘आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौं,’ उनले भने, ‘छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।’