नेपालसँग जलमार्गको सम्बन्ध विस्तार गर्न बंगलादेशी प्रधानमन्त्रीको आदेश

नेपालसँग जलमार्गको सम्बन्ध विस्तार गर्न बंगलादेशी प्रधानमन्त्रीको आदेश

काठमाडौ । बंगलादेशले नेपालसँग जलमार्गको सम्बन्ध विस्तार गर्न खोजेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले यस सम्बन्धमा नेपालसँग कुरो अगाडि बढाउन पानी जहाज मन्त्रालयलाई निर्देशन दिएकी छिन् ।
बंगलादेशका योजना मन्त्री एमए मन्नानले यसका लागि भारतका उत्तरपूर्वी प्रान्त आसाम र भुटानसँग पनि छलफल गर्न भनिएको खुलाएका हुन् ।

योजना आयोगको राष्ट्रिय आर्थिक परिषद्को कार्यकारी समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री हसिनाले यस्तो निर्देशन दिएकी हुन् । उनले छिमेकी देशहरूसँग जलमार्गको सम्पर्क विस्तारलाई जोड दिन भन्दै यस्तो आदेश दिइन् ।
मन्नाले जनाएअनुसार ब्रह्मपुत्र नदीको अधिकतम उपयोगका लागि समकक्षीहरूसँग छलफल शुरू गर्ने विषयमा प्रधानमन्त्री हसिनाको चासो रहेको थियो ।

छत्तोग्राम बन्दरगाह, मोङ्गला बन्दरगाह र पायरा बन्दरगाहलाई थप आधुनिकीकरण गर्न आवश्यक उपकरण जडान गर्न तिनका सञ्चालकहरूलाई प्रधानमन्त्रीले आदेश दिएकी छिन् । सो अवसरमा प्रधानमन्त्री हसिनाले योजना मन्त्रालयको वार्षिक प्रतिवेदन अनावरण गरेकी थिइन् ।