प्रचण्डलाई जुनारको माला !

प्रचण्डलाई जुनारको माला !

सिन्धुली, १७ पुस । नेताहरुको गलामा माला पहिरिएको त हामी सबैले देखेकै छौँ । तर सिन्धुलीमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गलामा भने स्थानिय जनताले जुनार र  सुन्तलाको माला भिराइदिएका छन् ।

भ्रमण वर्ष २०२० अभियान अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन संचालक समिति र जुनार उत्पादन सहकारी संघ गोलन्जोर सिन्धुलीले जुनार क्षेत्र विकासका लागि कृषकहरुको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डलाई सुन्तलाको माला लगाएर प्रमुख अतिथिका रुपमा आशन ग्रहण गराएका हुन् ।

पछिल्लो समय जुनार कृषकहरु जुनारमा बिभिन्न किरा लाग्ने, कुहिने र बोट छिटै मर्दै जाने समस्याबाट पिडित छन् । यस्ता कार्यक्रमहरुमा वास्तविक जुनार कृषकलाई नै बोलाएर उनीहरुले भोगिरहेका समस्या नेतालाई सुनाउन सकेको भए अझ कार्यक्रम फलदायी हने थियो । जुनार कृषकका नाममा गरिएको यो कार्यक्रममा वास्तविक कृषक उपस्थित नभई जुनार संघका नेता, जुनार सहकारीका नेता, पार्टीका नेता र अगुवा कार्यकर्ताहरुको मात्र उपस्थित थियो ।

जुनार सिन्धुली जिल्लाको प्रशिद्ध फल हो । यो जिल्ला जुनारको 'राजधानी'का रुपमा परिचित छ ।

यसरी नेता र नेतृत्वलाई कुनै पनि कार्यक्रममा बोलाएर गलाभरी माला र खादा लगाएर कार्यक्रमको उद्घाटन गर्नु पछिल्लो समय 'फेशन' जस्तै बनेको छ ।