एमसीसी : हिन्द–प्रशान्त रणनीतिको अङ्ग, बाबुराम, खिलराज हुँदै देउवासम्म ...

एमसीसी : हिन्द–प्रशान्त रणनीतिको अङ्ग, बाबुराम, खिलराज हुँदै देउवासम्म ...

एमसीसीको खुटखबर :

अमेरिकी दुतावासले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) हिन्द–प्रशान्त रणनीति(आइपीएस)को बारेमा निकालेको वक्तव्यले एमसीसी आइपिएस रणनीतिको अंग भएको पुस्टि भएको छ । अमेकिी दुतावासले निकालेको हालैको आलो व्यक्तव्यमा प्रस्टैसंग उल्लेख छ, ‘एमसीसी हिन्द–प्रशान्त रणनीति कै अंग हो ।’ एमसीसीकै सन्दर्भमा बसेको नेकपाको स्थायी समितिको वैठकले एमसीसी आइपिएसको अंग भए एमसीसी सहयोग नलिने निर्णय सार्वजनिक गरे लगत्तै यो विषय राष्ट्रिय राजनीतिको ‘हटकेक’ भएको हो ।

स्थाइ समितिको निर्णय ‘एमसीसी अइपिएसको अंग भए त्यस्तो सहयोग नलिने’ जुन निर्णय गरेको छ अमेरिकी दूतावासको व्यक्तव्य पछि स्थाइ समितिले अर्को निर्णय गरेर एमसीसीलाई फिर्ता लिनु बाहेक अर्को विकल्प छैन । यसअघि पनि अमेरिकी सरकारका प्रतिनिधिहरुले विभिन्न समयमा एमसीसी हिन्द प्रशान्त रणनीति कै अंग भएको बारम्बार पुस्टि गरेकै विषय हो ।

बाबुराम, खिलराज हुँदै देउवासम्म 
बाबुराम भट्टराई र खिलराज रेग्मीको प्रधानमन्त्रीत्व कालमा यो परियोजनाको वृहत सम्भाव्यता अध्ययन सम्पन्न भएको थियो । नेपाली कांग्रेस पार्टी (शेरबहादुर देउवा) सरकारको पालामा सम्झौता भएको एमसीसी रणनीतिको यहिँनेर आएर पटाक्षेप भएको छ । केहि महिना अगाडि पोखरामा भएको समाजवादी पार्टीको पश्चिमाञ्चल भेलामा बाबुरामले व्यक्त गरेको विचारले पनि उनी नै एमसीसीलाइ हरियो झण्डा देखाउने पात्र थिए भन्ने बुझ्न कठिन छैन । 

हेर्नुहोस मिलेनियम च्यालेञ्जको च्यालेञ्ज:

यसै सन्दर्भमा समयबद्ध साप्ताहिकले ०७६ कनार्तिक २९ गते (अंक २२) मिलेनियम च्यालेञ्जको च्यालेञ्ज शिर्षकमा मूख्य समाचार बनाएर यसको रुपरेखा सार्वजनिक गरिसकेको हो , जतिखेर मिलेनियम च्यालेञ्जले नेपाली राजनीतिलाई च्यालेञ्ज गर्दैछ भन्ने भविष्यवाणी नै गरेको थियो । पाठकको सुविधाको लागि त्यो समाचारलाई पुनः यहाँ साभार गरिएको छ :

नेपालको राष्ट्रिय राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन चर्चाको केन्द्रमा छ । आगामि राजनीतिको उठापटक यसैको सेरोफेरोमा घुम्ने निश्चित छ । दक्षिण एसीयामा यो अमेरिकी रणनीतिको ‘ट्रयाक’ खोल्ने प्रारम्भिक रुपरेखा हो । आर्थिक विकास गरेर गरिबी निवारण गर्ने यसको तुरुप हो । यस्तो तुरुप आफैमा हास्यास्पद लाग्छ । आर्थिक विकास गरेर गरिवी निवारण हुने कुरा रुप पक्षको बुझाइ हो । तर, सारमा यसले अर्थ–वितरणलाइ सन्तुलनमा ल्याउन नसक्ने हो भने आर्थिक विकासले गरिवी निवारण गर्न सक्तैन । अमेरिकी योजनाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको बाहिर प्रचारित गुत्थी कुरा यहि नै हो । तर यसको अन्तर्य भने गम्भीर छ । त्यो गम्भीरतालाइ राष्ट्रिय बहसमा नलाने हो भने नेपालको भू–राजनीतिमा यसले नकारात्मक परिणाम दिनेछ ।

नेपाल दक्षिण एसियामा मिलेनियम च्यालेञ्ज कर्पोरेसनमा सहमति गर्ने पहिलो देश हो । हालै मात्र अमेरिकी विदेश मन्त्री माइकल रिचर्ड पम्पिओले उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र संघले लगाएको नाकावन्दीको समर्थन र तिब्बती शरणार्थीलाइ चीन फर्काउन नहुने शर्त राखेको कुरा सार्वजनिक भएपछि नेपाललाइ मिलेनियम च्यालेञ्ज घाँटीमा अड्केको हड्डी सरह हुन पुगेको छ । 

हिन्द–प्रशान्त ट्रयाक:

मिलेनियम च्यालेञ्ज कर्पोरेशन अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त रणनीति ओसार्ने ‘ट्रयाक’ हो । एसिया–प्यासेफिक रणनीतिले चिनको द्रुत आर्थिक विकास र रणनैतिक विस्तारलाई रोक्न नसकेपछि अमेरिकाले नयाँ हिन्द–प्रशान्त रणनीतिलाई अघि सारेको हो । यो रणनीतिको गोरेटो विस्तार गर्न प्रारम्भिक रुपमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई अगाडि सारेको कुरामा मत बझाई रहनु पर्ने कुनै आवश्यकता छैन । यूएसएआडि जस्ता अमेरिकी संस्थाको कार्यक्रमकै विफलताको कारण पनि यस्ता संगठनहरु अगाडि आएका हुन । 

यसअघि ‘क्वाड’ जस्ता अमेरिकाको रणनैतिक साझेदार बनाउने संगठन पनि यस क्षेत्रमा निर्माण भैसकेका थिए । अमेरिकाको नेतृत्वमा बनेको क्वाडमा जापान, भारत, अष्ट्रेलिया सहभागि छन् । तर, यो संगठन निश्क्रिय प्रायः भैसकेको छ । भारत–अमेरिका व्यापारमा चिसोपन आएपछि यो संगठनको औचित्य समाप्त प्रायः भएको हो । अमेरिकाले भारतीय समानमा अत्याधिक निर्यात कर लगाएपछि व्यापारमा चिसोपन आएको हो । अमेरिकाले भारतबाट निर्यात हुने दूइ दर्जन बढीवस्तुमा कर लगाएपछि व्यापारिक सम्बन्धमा चिसोपन आयो । अमेरिकाले आफ्नो रणनीतिमा भारतलाई ल्याउन वाध्य पार्ने तुरुपको रुपमा व्यापारिक दवाव बढाएको थियो । तर भारतले अमेरिकाबाट आयात हुने समानमा पनि कर वृद्धि गरेर जवाफ दियो । यसैमेलोमा क्वाडलगायत अमेरिकी संगठनबाट भारत पछि हट्यो । र, हिन्द–प्रशान्त रणनीतिमा पनि मौनता साँधेको हो ।

भारतको अनमन पछि नै आफ्नो हिन्द–प्रशान्त रणनीतिलाई अगाडि बढाउन अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसनलाइ नेपालमा स्थापित गराएर चीनलाइ रोक्ने अर्को रणनीति बनाएको छ । यो रणनीतिको हैसियत नबुझ्नु अपरिपक्व कुटनीति हो या जानेरै यो धुरीमा जानु बिडम्बना हो ।   

केहो मिलेनियम ?

उर्जा, क्षेत्रीय उर्जा शक्ति, कनेक्टिीभिटी, यातायातलाइ सर्वसुलभ बनाउने र नीजि लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले अमेरिका सकारले बनाएको निगमको नाम नै मिलिनियम च्यालेञ्ज कर्पोरेशन हो । यो अमेरिकी सिनेटले ‘मिलेनियम च्यालेञ्ज एक्ट–२००३’ पारित गरेपछि सन् २००४ मा स्थापित निगम हो । यसले व्यानरमा आर्थिक वृद्धि गरि गरिवी निवारण गर्ने नारा राखेको छ । यो निगम छोटकरीमा एमसीसी नामले बहुप्रचारित छ । यो निगमको कम्प्याक्ट सदस्यको रुपमा दूइ दर्जन देशमात्र सहभागि छन । एसीयामा यो निगममा सहभागि हुने देश नगन्य छन् ।

एमसीसी अमेरिकाले गरिव देशलाइ दिने अनुदान होइन । उसले आफ्नो निगमका कार्यक्रममा सहभागि बनाउन गरिव देशहरुलाइ आफ्नो धुरीमा तान्न खोजेको हो । जस अन्तर्गत यो कम्प्याक्टमा अमेरिकाले ५०० मिलियन डलर छुट्याए पनि नेपाललाइ १३० मिलियन डलरको लगानी सहभागिता अनिवार्य गराइएको छ । 

सम्झौतै सम्झौता :

सन् २०१७ सेप्टेम्बर २०१७ मा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु निर्देशक जोननाथन नाशले सहमतिमा हस्ताक्षर गरेका थिए । यहिँदेखि नेपालको राष्ट्रिय राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसनले चर्चा पायो । त्यसपछि एकै पटक सन् २०१९ सेप्टेम्बर २९ तारिखमा नेपालमा सहमति भएको थियो । यो सहमतिमा एमसीसीका उपाध्यक्ष एन्थोनी वेल्चर तथा नेपालकातर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले हस्ताक्षर गरेका थिए । सन् २०१७ मा तत्कालिन मन्त्री कार्कीले गरेको सहमति प्रारम्भिक सहमति थियो । हालसालै डा. खतिवडासंग भएको सहमति निगमको कार्यक्रम कार्यान्वयन गर्ने हदको थियो । 

षडयन्त्रै षडयन्त्र :

यो सहमति जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको थियो । राष्ट्रपति सि चिनफिङ असोज २५ र २६ गते नेपाल भ्रमणको तयारीमा थिए । सिको भ्रमणको पूर्वसन्ध्यामा भएको यावत घटनाको विश्लेषण गर्ने हो भने एमसीसीको आयतन कति छ भन्ने प्रस्ट हुन्छ । सिको भ्रमणलाई नै असफल पार्ने गरी भएको यी प्रकरणले अमेरिकाले एमसीसीलाइ दिएको महत्व थाहा हुन्छ ।

यता असोज ११ गते प्रम केपी शर्मा ओलीले संसद सचिवालयको कारण एमसीसी विधेयक अल्मलिएको सार्वजनिक गर्नु, असोज १२ गते अमेरिकी नियोग कर्पोरेशनसंग सरकारको सहमति हुनु, असोज १३ गते महरा प्रकरण घट्नु एउटा संयोगमात्र थिएन । त्यसयता कार्तिक २ गते कान्तिपुर दैनिकमा प्रमं ओलीले दिएको अन्तरवार्ताले एमसीसी प्रकरण नेपालको राष्ट्रिय राजनीतिको ककपिटमा बसेको मुद्धा हो भन्ने पुष्टी भएको छ । त्यसयता लगातार एमसीसीको सार्वजनिक बहस केन्द्रमा रहनुले पनि यसको कित्ता सिँगारेको छ ।

शेष फल :
मिलेनियम च्यालेञ्ज कर्पोरेसन हिन्द–प्रशान्त रणनीतिमा जाने प्रस्थान विन्दू हो । चीनले अगाडि सारेको महत्वकांक्षी अर्थ–राजनैतिक कार्यक्रम ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ रणनीतिलाइ सेबोटेज गर्ने यो अग्रिम अभियान हो । असन्तुलित विदेश नीतिलाई खोज्न यहाँभन्दा पर्तिर जानु पर्दैन । बुझ्नु पर्ने कुरा के हो भने यतिखेरको विश्व शित युद्धकालीन, एकल ध्रुवीय होइन । विश्व बहुध्रुर्वमा विभाजित छ । परम्परागत विश्व व्याख्याले आजको विश्वलाइ परिभाषित गर्न सक्तैन । 

यो मुद्धाले नेपालको राष्ट्रियता र भू–राजनीतिलाई प्रभावित गर्न सुरु गरिसकेको छ । विगतका राष्ट्रिय मुद्धाहरु द्विदेशीय वा क्षेत्रीयसम्मका हुन्थे । तर यो मुद्धाले बहुध्रुवीय विश्व राजनीतिलाई रंगाउने निश्चित छ । यस्तो राष्ट्रिय मुद्धालाइृ बहसमा नलगी अन्यत्रबाट संस्थागत गर्न खोजियो भने परिणाम प्रत्युत्पादक हुनेछ । नेपालको भूराजनीतिले एकै चक्के विदेश नीतिको माग गर्दैन । कमसेकम नेपालको वैदेशिक नीति छिमेकी मित्र देशलाई हेर्ने, एसियाली देशलाई व्याख्या गर्ने र बाँकी विश्वलाइ व्याख्या गर्ने तिन चक्के हुनु पर्छ, तब मात्र नेपालको राष्ट्रियता, स्वाधिनता सुरक्षित र संस्थागत हुनेछ ।  समयबद्ध साप्ताहिकबाट