खाडीबाट अमेरिकी सेनाको वर्चस्व हटाउन त्रिपक्षीय सैनिक अभ्यास

खाडीबाट अमेरिकी सेनाको वर्चस्व हटाउन त्रिपक्षीय सैनिक अभ्यास

काठमाडौ । मध्यपूर्वको जलीय क्षेत्रबाट अमेरिका हटनु पर्ने कुरो बाहिर आइरहेका बेला चीन र रूसको सेनासँग त्रिपक्षीय जल सैनिक अभ्यास पछि इरानको जल सेना प्रमुखले खाडीमा विदेशी सेनालाई मात्र खतरा भएको बताएका छन् । साथै उनले अन्य देशहरूलाई  वर्सेनी हुने यो जल सैनिक अभ्यासमा भाग लिन आह्वान गरे ।

चिनियाँ र रूसी सेनाको उपस्थितिमा इरानले आयोजना गरेको यो त्रिपक्षीय संयुक्त जल सैनिक अभ्यास आइतबार समाप्त भएपछि इरानको रियर एडमिरल होसेइन खान्जादीले यस्तो बताए । उनले यसमा अन्य देश सामेल भइ यसलाई विस्तार गर्न सक्ने आफ्नो चाहना रहेको जनाए ।

“अमेरिका जस्ता यो क्षेत्रको सुरक्षामा खतरा थोपर्ने विदेशी सेनाका लागि मात्र यो सैनिक अभ्यास खतरा रहेको पर्सियाको खाडी क्षेत्रका देशहरूलाई यसबाट कुनै खतरा रहेको छैन” उनले भने  ।
ओमानको खाडीमा  यस किसिमको त्रिपक्षीय सैनिक अभ्यास पहिलो पटक भएको हो । यो चाबाहर बन्दरगाह निकट गरियो । यो अभ्यास सामुद्रिक लुटेराहरूसँग लडन र शत्रुको जहाजलाई आगोमा झोस्न सक्ने सीपको तालिम दिन गरिएको थियो ।

अमेरिका र उसका सहयोगी देशहरूलाई एक सशक्त सन्देश दिन यो त्रिपक्षीय जल सैनिक अभ्यासको आयोजना गरिएको सहभागीहरूले स्वीकार गरेका छन् ।