सभामुखमा सुवास र राष्ट्रियसभाको अध्यक्षमा दीनानाथ !

सभामुखमा सुवास र राष्ट्रियसभाको अध्यक्षमा दीनानाथ !

१५ पौष, काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा साविक एमाले नेता सुवास नेम्बाङलाई र राष्ट्रियसभाको अध्यक्षमा साविक माओवादी नेता दीनानाथ शर्मालाई दिने कि भनेर पनि छलफल भइरहेको छ । 

सभामुख पद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नछाड्ने सुरसार देखाएपछि महत्वपूर्ण संवैधानिक अङ्गमा साविक माओवादीले नलिंदा नेता तथा कार्यकर्ताको मनोबल ह्वात्तै घट्ने भएपछि यसरी जाँदा हुन्छ कि भनेर यसबारेमा पनि छलफल भइरहेको वर्षमान निकट स्रोतले बतायो । 

रिक्त सभामुख पदमा चयन गर्नु स्वाभाविक भए पनि हुँदाखादाको राष्ट्रियसभाको अध्यक्ष पदलाई फेरि खाली गराएर पदको मिलान गर्दा दुई पार्टीको एकतामा अविश्वासमात्र बढाउँछ । यसले जनतामा समेत भागबण्डाको एकता, राजनीति भन्दै निराशा नै बढाउँछ । गणेश तिमल्सिनालाई अध्यक्षबाट हटाएर दीनानाथ शर्मालाई बनाउँदा सदनमा खासै तात्विक भिन्नता हुँदैन तर त्यसले पार्टीमा तलदेखि माथिसम्म पुरानो गुट, समूहको नाममा धाजोमात्र बढाउनेछ । 

चर्चा यसबारेमा उठे पनि कार्यान्वयनमा लैजाने कुरामा राम्रो नहुने धेरैको मत रहेको छ ।