एमसीसी र इण्डो प्यासिफिकको बहस वेमौसमी बाजा : वर्षमान

एमसीसी र इण्डो प्यासिफिकको बहस वेमौसमी बाजा : वर्षमान

१४ पौष, काठमाडौं । एमसीसी र इण्डो प्यासिफिकको बालको खाल उतारेर नेपालमा आएको आर्थिक सहयोगलाई किनारा लगाउन नहुने ऊर्जामन्त्री वर्षमान पुनको धारणा रहेको छ । 

यसबारेमा साविक माओवादीका नेताभन्दा विल्कुलै पृथक धारणा राख्दै आएका पुनले क्रान्तिपछिको पुननिर्माणमा चीनका नेता माओ त्से तुङ भन्दा देङ सियाओ पिङ नै सफल रहेको धारणा आफ्ना निकटसँग राख्ने गरेका छन् । 

‘मुसाका लागि विरालो सेतो र कालो हुनुको अर्थ नहुने देङको धारणा कति मर्मबोध र जीवन उपयोगी छ ?’ पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

पुनको भनाइलाई उद्धृत गर्दै स्रोतले थप अगाडि भन्यो, ‘साविकका कतिपय एमाले नेताहरु एमसीसी, इण्डो प्यासिफिकको सैद्धान्तिक जलप मन्त्रीमण्डलका लागि नै हो, साविक एमालेमा पाँचौ महाधिवेशनपछि घनश्याम भुसालले केही राजनीतिक बहस ल्याउन खोजे पनि अरुले व्यवस्थित मत ल्याएको छैन । जहाँसम्म साविकको माओवादीको कुरा हो त्यो बेलाबेलामा किरण, विप्लवको धङधङी लिएर एकीकृत पार्टीमा पनि सिद्धान्तको रटान लगाएर विकास र समृद्धिको यात्रालाई नियोजन गर्ने कोशिश गर्छ । अध्यक्ष प्रचण्डले एमसीसी र इण्डो प्यासिफिकको प्रस्ताव प्रतिवेदनमा ल्याएर अहिले राम्रो गर्नुभएन । यो एक ढंगले कार्यान्वयन भइसकेको छ । यसको कार्यान्वयनको कमिटीमा कुलमान घिसिङलाई पठाइसकिएको छ । यस्ता सैद्धान्तिक विषय पार्टीमा उठाउँदा व्यावहारिक कम्युनिस्टले भन्दा जडसूत्रवादी चिन्तन राख्नेहरु बलशाली हुन्छन, पार्टी चाहिं विकास नगर्ने भनेर जनताबाट कट्छ । त्यसैले यो बहस वेमौसमी बाजा हो ।’ 

पार्टीको स्थायी समितिको वैठकमा एमसीसी र इण्डो प्यासिफिकको निर्माण र त्यसको रणनीति विल्कुलै अलग भएको भन्दै आफूले विस्तारपूर्वक राखेको स्मरण समेत गराएका थिए ।