आगामी चुनावमा नेकपा एक्लैले दुई तिहाइ मत ल्याउँछः प्रचण्ड

आगामी चुनावमा नेकपा एक्लैले दुई तिहाइ मत ल्याउँछः प्रचण्ड

चितवन, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाइ मत ल्याएर सरकार चलाउने बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार भएको कार्यक्रममा प्रचण्डले सरकार र पार्टीको कामबाट आफुहरुले एक्लैले दुई तिहाइ मत ल्याउने ठोकुवा गरे । उनले भने, केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम गर्छौ, त्यसले उत्साह ल्याउने छ।

अबका तीन वर्ष सरकार र पार्टीले गर्ने कामले आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउनका लागि आधार तयार गर्ने प्रचण्डको भनाई छ ।

पार्टी र जनताबीच जीवन्त सम्बन्ध नहुँदा जित्नुपर्ने कतिपय ठाउँमा उपनिर्वाचनमा पराजित हुनु परेको उनले बताए। उनले भने, केही ठाउँहरू हामीले हार्ने कल्पना पनि नगरेको ठाउँ हारियो । 

विकास निर्माणका काम जनताले चाहे जस्तो छिटो नभएको पनि उनले बताए। नेपालका भूमि एक इन्च पनि अरूलाई नदिने र अरूको एक इन्च पनि नलिने भन्दै अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि नेपालको भएको र अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक पहल भइराखेको बताए।