फोहोर फाल्न सिसडोल हिँडेको मिनीट्रक तिनपिप्लेमा दुर्घटना, दुईको मृत्यु

फोहोर फाल्न सिसडोल हिँडेको मिनीट्रक तिनपिप्लेमा दुर्घटना, दुईको मृत्यु

फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ना२क ३३८ नंको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिए । उनको अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले स्कारभेटर मगाइएको ककनी गाउँपालिकाको उपाध्यक्ष सीता खतिवडा (लामा)ले जानकारी दिनुभयो ।