सभामुखमा सुवास नेम्बाङ नै

सभामुखमा सुवास नेम्बाङ नै

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा ऊर्जामन्त्री वर्षमान पुनले अबको सभामुख सुवास नेम्बाङ नै हुने खुलासा गरेका छन् । सभामुख छान्ने संसद वैठकको पूर्वसन्ध्यामा पुनले यो बताएका हुन । 

‘दुई पार्टीको एकता कायम गर्न र दुई अध्यक्षबीचको विश्वासलाई सुदृढ गर्न यो अहिलेको आवश्यकता भनौं कि वाध्यात्मक विकल्प हो’ पुनको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । प्रधानमन्त्रीको चाहनामा सभामुख पद छाड्दा नै प्रचण्डले कार्यकारी अध्यक्ष सम्हाल्ने विश्वास मन्त्री पुनको छ । 

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको प्रारम्भमा नै साविक एमाले अझ खासगरी सुवास नेम्बाङलाई बनाउने योजना थियो, अर्का अध्यक्ष प्रचण्डको अड्डीका कारण कृष्णबहादुर महरा सर बन्नुभयो, महरा सरले पदीय गरिमालाई थेग्न नसकेपछि सिङ्गो माओवादी प्रवृत्ति नै रक्षात्मक बन्यो’ मन्त्री पुनको भनाइलाई हवाला दिदैं स्रोतले दावी ग¥यो, ‘हामी रोल्पावासी बसेर रोल्पाले पाएको सभामुख पद रोल्पामा नै कायम राखौं, पहिला सफल सभामुख बनेकी ओनसरी घर्तीलाई पुनः ल्याऔं भनेर भन्दा रोल्पाली साथीहरुकै एकमत भएन, त्यसपछि अग्नि सापकोटालाई बनाऔं भनेर प्रस्ताव र प्रचार मैले नै गराएँ, सापकोटालाई द्वन्द्वकालीन मुद्धा छ, उनी सभामुख भएकै दिन त्यो मुद्धा उठ्छ, उनी सेफसाइडमा सहायक पदमा नै बसेर त्यसको रक्षा गर्दै जानुपर्छ, मैले देव गुरुङ वा पम्फा भुसाललाई पार्टीले अगाडि सारेर गल्ती नगरोस भनेर मात्र यो प्रस्ताव गरेको हुँ ।’

‘सभामुख जस्तो महत्वपूर्ण पदमा दुई पार्टी अध्यक्ष, अन्तर्राष्ट्रिय शक्ति उद्देलित हुने, कण्ट्रोल गर्न वा काबुमा लिन नसकिने, सिद्धान्तको जडमा सिकड्ने देव गुरुङलाई रोक्नका लागि मात्र अग्नि सापकोटालाई विकल्पमा अगाडि सारिएको हो, पम्फा भुसाललाई बनाउँदा फरक पर्दैन थियो तर उनी पनि हिजो पार्टी फुटाएर एकतामा जोडिएकालाई किन दिने भन्ने मेरो मत हो, यसमा अध्यक्ष प्रचण्ड पनि कन्भिन्स हुनुभएको छ’, ऊर्जामन्त्री पुनको भनाइ छ । 

ऊर्जामन्त्री पुनले कृष्णबहादुर महराले सांसद पदबाट राजीनामा दिएको भए अहिले जेल जानु नपर्ने अवस्था हुने जिकिर गरेको बताउँदै उनी निकट स्रोतले उनको भनाइ उद्धृत गर्दै भन्यो, ‘प्रधानमन्त्री केपी ओली शंकर पोखरेललाई मुख्यमन्त्रीमा राखेर गल्ती गरेको निश्कर्षमा पुग्नुभएको छ, उहाँले असाध्यै विश्वास गरेको, भर गरेको युवा नेतामा पोखरेल हुन, उनलाई महराको ठाउँमा उठाएर संघीय मन्त्री, केन्द्रीय राजनीतिमा ल्याउने योजना छ, महराले सांसद पदको लोभ गर्दा त्यो पद त बच्दैन बच्दैन उहाँलाई अदालतमा सेटिङ गरेर अपराधी करार गरेर जेल हालिन्छ । सभामुखमा सुवास नेम्बाङ र संघमा शंकर पोखरेललाई प्रभावशाली मन्त्री बनाउने भित्री योजना प्रधानमन्त्रीको छ । प्रधानमन्त्रीको यो मनोभाव र मनोविज्ञानलाई अध्यक्ष प्रचण्डले राम्ररी बुझेर यसको सहजीकरण गर्न उहाँ लाग्नुभएको छ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई विश्वासमा लिन यो राम्रो हो भनेर मैले पनि सुझाव दिएको हुँ । आफूलाई पनि अप्ठ्यारो पर्दा नटेर्ने देव गुरुङ, पम्फा भुसाललाई सभामुख बनाउने, अग्नि सापकोटालाई बनाएर अर्काे झमेला झेल्नुपर्ने, फेरि उनी पनि सन्तुलित र समन्वयकारी होइनन् अनि चारित्रिक रुपमा स्खलित महरालाई बोकेर आफैं कमजोर बन्नुभन्दा त प्रधानमन्त्रीलाई विश्वासमा लिएर पार्टी एकता र अध्यक्ष प्रचण्डको भूमिका सुदृढ गर्नु नै मनासिव हुने मेरो पनि सुझाव हो ।’