सांसदहरूले वास्तविकता नै नबुझि प्रधानमन्त्री र मेरो विरोध गरेः मन्त्री पोखरेल 

सांसदहरूले वास्तविकता नै नबुझि प्रधानमन्त्री र मेरो विरोध गरेः मन्त्री पोखरेल 

काठमाडौँ, १० पुस । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टका अध्यक्ष रहेका पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट र दरबारमार्गको सरकारी जग्गा यती समूहलाई भाडामा दिएकोमा सांसदहरूले यथार्थ नबुझेर विरोध गरेको आरोप लगाएका छन् ।नेपाल ट्रस्टको सम्पत्ति कसरी र कुन सरकारले कसलाई दिएको भन्ने यथार्थ नबुझेर संसद् बैठकमा सरकारको आलोचना भएको उनको भनाई छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोलेका मन्त्री पोखरेलले सांसदहरूले वास्तविकता नै नबुझेर प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो विरोध गरेको पनि बताए ।
'विद्वान् माननीयज्यूहरूले कुरा उठाउनुभएको छ, राम्रो हो। तर दुःखको कुरा सबै यथार्थ बुझ्नुभएन कि भन्ने हामीलाई परेको छु', पोखरेलले भने। नेपाल ट्रस्ट मातहतको सार्वजनिक सम्पत्तिको वास्तविक लेखाजोखा गरेर श्वेतपत्र जारी गर्ने उनले जानकारी दिए।

विगतमा भएका कानुनविपरीतका कामको दोष वर्तमान सरकारलाई नदिन पोखरेलको आग्रह थियो। उनले भने, 'सरकार, प्रधानमन्त्री र उपप्रधानमन्त्री मेरो नाम लिएर संसदमा कुरा उठ्यो। यथार्थ र तथ्य बुझेर कुरा उठाउँदा राम्रो हुन्छ'।
उनले कानुनमा भएका परिमार्जन प्रक्रिया सम्मत भएको पनि दाबी गरे । सरकार कानुनअनुसार नै चलेको उनको भनाइ छ । 'कानुनबाहिर चल्ने सोच्न सकिँदैन। सोलो डोलो ढंगले कुरा बाहिर आएका छन्। कतिपय तथ्यसंगत ढंगले आएका छैनन्। नेपाल ट्रस्टको सम्पत्तिको विवरण संकलनको काम सम्पन्न भएपछि जनता र सांसदलाई जानकारी दिनेछौँ। केही दिनभित्रै व्यवस्थित जानकारी गराउने तयारी छ। श्वेतपत्र जारी गर्ने तयारी भइरहेको छ,' उनले भने।