समाजवादीको सत्ता बहिर्गमनसँगै राजपा–समाजवादीबीच जुहारी

समाजवादीको सत्ता बहिर्गमनसँगै राजपा–समाजवादीबीच जुहारी

जनकपुर, १० पुस । संघीय सरकारबाट समाजवादी पार्टीको बहिर्गमनलाई लिएर प्रदेश २ मा तरङ्ग ल्याएको छ । करिब डेढ बर्षको सत्तारोहण पश्चात समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुलुकको राजनीतिक कोर्स फेरिने संकेतसमेत देखिन थालिएको छ ।

संबिधान संशोधनमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओली लचिलो नभएको आरोप लगाउँदै सरकारबाट बाहिरिएको समाजवादी पार्टीका नेताहरुले अब आन्दोलनमा जाने चेताबनीसमेत दिन थालेका छन् । दुई बुँदे सहमति गरेर सरकारमा सहभागि समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यतिबेला प्रदेश २ मा उसको आलोचना भईरहेको छ ।

मधेस आन्दोलनको मुद्दा र आन्दोलनको क्रममा भएका शहिदहरुको बलमा चुनाव जितेर अवसरवादको राजनीति गरेर मधेसलाई धोका दिएको भन्दै राजनीतक वृत, बुद्धिजीवी वर्ग र समाजिक संजालमासमेत समाजवादी पार्टी र उसको अध्यक्ष यादवको आलोचना भईरहेको छ ।

प्रधानमन्त्रीले सरकारबाट हटाउने तयारी गरेपछि सरकारबाट बाहिरिएको समाजवादी पार्टी र अध्यक्ष यादवले सरकार संबिधान संशोधनमा इमान्दार नभएकाले सरकारबाट बाहिरिएको बताएपनि उसको भनाईप्रति अन्य दल र स्वंयम् समाजवादी पार्टीकै कतिपय नेताहरु सन्तुष्ट हुन सकेका छैनन् । समाजवादी पार्टीको सत्ता बहिर्गमनको बिषयलाई लिएर सत्तारुढ नेकपा, नेपाली काँग्रेस र राजपालेसमेत उसको आलोचना गरिरहेका छन् ।

समाजवादी पार्टीको सत्ता बहिर्गमनसँगै राजपा र समजावदीका नेता कार्यकर्ताहरु प्रष्ट रुपमा दुई कित्तामा उभिएको देख्न सकिन्छ । यतिबेला समाजवादीले संबिधान संशोधनको बिषय नमिलेर नभई प्रधानमन्त्रीले सरकारबाट हटाउने तयारी गरेपछि डर लागेर समाजवादी पार्टी सरकारबाट बाहिरिएको भन्दै राजपाका नेताहरु खुल्ला रुपमै समाजवादीको आलोचना गरिरहेका छन् ।

यसको असर पार्टीका नेताहरुमा मात्रै होईन्, प्रदेश २ का मन्त्रीहरुमा पनि परेको छ । समाजवादी पार्टीले सरकार छाडे लगत्तै राजपाका नेता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले फेसबुकमा स्टाटस लेख्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई धोखेबाजको संज्ञा दिएका छन । जसले जे भनेपनि संविधान संशोधनको आन्दोलनलाई कमजोर पार्ने काम उपेन्द्र यादवबाट नै भएको भन्दै मण्डलले फेसबुकमा मधेश आन्दोलनलाई धोका दिएर चुनावमा जानेदेखि लिएर आन्दोलन र चुनावका सहयात्री राजपालाई अलपत्र छाडेर सरकारको एकल यात्रा गरेको हो भन्ने उल्लेख गरेका छन् ।

राजपाका नेता रामजी रायले फेसबुकमा कटाक्ष गर्दै समजावदी पार्टी र अध्यक्ष उपेन्द्र यादव जनतालाई भ्रममा पार्न खोजेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘‘उपेन्द्र यादव जब सरकारमे थे, तब उनको संबिधान संशोधनका याद नही आया, अब जब सरकारसे बाहर आया तो संबिधान संशोधन कि यादव आने लगे, ए केबल जनताको भुर्ख बनारहा हैं ।”

राजपाका नेता तथा राज्यमन्त्री मण्डल र रायकोे फेसबुक पोष्टलाई काउण्टर दिँदै समजावदीका नेताहरुले राजपालाई सरकारमा जान हतार भईरहेको भन्दै टिप्पणी गरेका छन् ।

समाजवादीका नेता अमेरन्द्र यादवले पनि फेसबुकमा राजपाप्रति कटाक्ष गर्दै अरुलाई गाली गर्दै हिड्ने, पछि त्यही बाटोमा हिड्ने भन्दै आलोचना गरेका छन् । यस्तै समाजवादी पार्टीकी नेतृ तथा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवले राजपा सिकन्दरको फन्दामा फसेको टिप्पणी गरेकी छिन् । उनले पनि आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै राजपा सिकन्दरको फन्दामा फसेको भन्दै टिप्पणी गरेकी छिन् ।

यसरी समाजवादी र राजपाका नेता तथा मन्त्रीहरुबीच फेसबुकमै वाकयुद्ध चलेपछि प्रदेश २ सरकारको आयु घट्न लागेको संकेतका रुपमा समेत व्याख्या गर्न थालिएको छ ।
नेकपा र राजपाबीच केही दिनअघि राष्ट्रियसभाको चुनाबमा सहकार्य गर्न भएको सहमतिसँगै प्रदेश २ को सरकार परिवर्तन चर्चा चुलिएका बेला समाजवादीको सत्ता बहिर्गमनले यो सम्भावनालाई थप मजबुत बनाएको बिश्लेषकहरुको भनाई छ । यसले समाजवादी  र राजपाबीचको एकता प्रक्रियामासमेत ठुलो धक्का पुगेको बुद्धिजीवीहरुको कथन छ । समाजवादी पार्टीले सरकार छाडेपछि अब केन्द्र सरकारमा राजपा पनि सहभागि हुने र प्रदेश २ मा नेकपा र राजपा मिलेर सरकार बनाउन सक्ने आकलन समेत राजनीतिक बृतमा हुन थालेको छ ।