राष्ट्रपति भण्डारीको शक्ति अभ्यास !

 राष्ट्रपति भण्डारीको शक्ति अभ्यास !

काठमाडौं । संविधानतः राष्ट्रपति आलङ्कारिक पद हो र यसका सीमा, गरिमा र दायित्व दलीय स्वार्थभन्दा माथि सर्वमान्य हुने परिकल्पना संविधानले नै गरेको छ । तर, ५ पुसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई सामूहिक रुपमा बोलाएर छलफल गरेर आफू दलकै नेता भएको सन्देश दिइन । जब नेकपा स्थायी कमिटी बैठक जारी थियो भने किन उनलाई वैठकमा सहभागी नेताहरुलाई सामूहिक भेट्न वम दर्शन भेटमा बोलाउन आवश्यक प¥यो ? यो प्रसङ्गले शनिबारको स्थायी समिति वैठक पनि तरङ्गित भयो । 

राष्ट्रपति भण्डारीबाट शनिबार विहान दर्शन भेट पाउने भाग्यमानी नेकपा स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई जानकारी नदिई शीतलनिवास पुगेका थिए । 

पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक सुरु हुँदा पनि शीतल निवास गएका नेताहरु समयमा वैठकमा आइ पुगेनन् । बैठक चलिरहेका बेला शीतल निवास गएका नेताहरु एकसाथ आएपछि वैठकको नेतृत्व गरिरहेका अध्यक्ष प्रचण्ड उनीहरुप्रति कडा रुपमा प्रस्तुत भए । अध्यक्ष प्रचण्डले केही समयअघि मन्त्रिपरिषद् पुनर्गठन र दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गर्दा पनि आफू र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास जानु कमजोरी भएको स्वीकार गर्दै अहिले फेरि पार्टी बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्यहरुलाई बोलाउने र जाने नेताहरु दुबैको आलोचना गरे । राष्ट्रपतिले बोलाएपछि नजाने भन्ने त होइन, अध्यक्षलाई जानकारी गराउनुपर्ने विधि, पद्धति हो कि होइन ? भन्ने प्रचण्ड प्रश्नमा सबै नतमस्तक भए ।

प्रचण्डको कडीकडाउ विमतिपूर्ण प्रश्नको जवाफमा मन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले आफूहरु पूर्व निर्धारित भेट भएकाले गएको स्पष्टीकरण दिएका थिए । समाजवाद, अर्थतन्त्रबारे नेताहरुको कुरा सुन्न र आफ्ना चासोहरु पनि राख्न राष्ट्रपतिले बोलाएको उनले जवाफ फर्काएका थिए । उनले ९ बजे नै गएको र खाना खाएर जाउँ भन्दा केही ढिला भएको भन्दै सबैको तर्फबाट क्षमायाचना समेत गरेका थिए । यसको मतलव पार्टी वैठक छाडेर शीतलनिवास जाँदा गल्ती भएको महसुस नेताहरुमा पनि थोरबहुत भएको बुझिन्थ्यो ।

तथापि वैठकमा नेताहरु भीम रावल, रघुजी पन्त लगायतका नेताहरुले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो ? जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्दै प्रश्न उठाएपछि वैठक विषयान्तर भयो र अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर राष्ट्रपतिबारे पार्टी बैठकमा छलफल नगरौं भनेर रोक्नु परेको थियो । आफूले विधि पद्धतिको कुरा उठाएको र के भएको हो भनेर जान्न चाहेको भन्दै प्रचण्डले भने, ‘नेताहरुले थाहा दिनुभयो, सकियो । थप छलफल नगरौं ।’

पार्टी वैठकमा प्रचण्डले विधि र पद्धतिको कुरा उठाएर सिध्याएको यो प्रसङ्गले वैठकमा थप बहस नभए पनि नेपाली राजनीतिलाई अरु तरंगित गरिरहेको छ । सामाजिक सञ्जाल र मिडियामा यो प्रसङ्गले थपेको नयाँ बहस र विवाद हो राष्ट्रपतिको शक्ति अभ्यास । यो प्रसङ्गले नेकपा वैठक त प्रभावित भयो, भयो, राष्ट्रपति किन अनावश्यक विवादमा पर्दैछिन भन्ने थप प्रश्नहरु पनि उठाएको छ । 

गैरसंवैधानिक काम

निसन्देह राष्ट्रपति भण्डारी नेकपाकी पूर्व नेतृ थिइन । तर, राष्ट्रपति पदमा आसिन भए यता उनको कुनै दलीय आवद्धता संविधानतः परिकल्पना गरिएको छैन । त्यस कारण उनले दलका नेताहरुलाई हुलका हुल बोलाएर भोज खुवाउँदै सरकारको कामको समीक्षा वा पार्टी वैठकको ब्रिफिङ लिने काम आफैंमा गैरसंवैधानिक र पदीय आचरण विपरीतको काम हो । 

वर्तमान केपी ओली नेतृत्वको सरकारको काम गराइप्रति राष्ट्रपति भण्डारीले नेताहरुको भेटमार्फत् असन्तुष्टि जनाएका खबरहरु बाहिरिएका छन् । यसबाट भण्डारीले  राष्ट्रपतिको शिखर भूमिकामा रहेर पनि नेकपाभित्र पार्टीकी सर्वोच्च नेताको हैसियतमा हस्तक्षेपकारी भूमिका खेलेको सन्देश स्थापित भएको छ । यो आफैंमा उनको ‘काम कुरो एकातिर झण्डा बोकी पार्टीतिर’ गर्ने पदीय आचरण र मर्यादा विपरीतको कर्म हो । राष्ट्रपति भण्डारीले अब सरकारको काममा पनि हस्तक्षेप गर्न थालेको संकेत दिएकी हुन भने उनी संविधान उल्लङ्घन गर्ने अर्को विवादाष्पद राष्ट्रपति करार हुने असंवैधानिक हर्कतमा उत्रदैछिन भन्ने बुझ्नुपर्छ ।  

सडकका खाल्डाखुल्डी पुर्न नसकेकोदेखि गोकर्ण रिसोर्टको सरकारी जग्गासम्मका समाचारहरु आफूले पत्रपत्रिकामा पढिरहेको भन्दै राष्ट्रपति भण्डारीले ओली सरकारको भूमिकाप्रति नेताहरुको भेटमार्फत् असन्तुष्टि प्रकट गरेर सरकार प्रमुख र आफ्नो सीमा बुझ्न नसकेको दर्शाएकी छिन । फेसबुक र ट्वीटरमा लेखेर मात्र नहुने भन्दै नेकपाले पाएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीले नेकपाका नेताहरुलाई सम्झाउनु उनको सरकारको कार्यकारी अधिकारमाथिको हस्तक्षेप नै हो । ‘सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटअनुसार काम भइरहेको छ कि छैन ?’ ‘मैले पत्रपत्रिकामा विभिन्नखालका समाचार पढिरहेकै छु, सरकार कसरी अगाडि बढिरहेको छ, यस विषयमा तपाईंहरुको धारणा के छ ?’ भन्ने जस्ता उनका प्रश्नहरु उनले आफ्नो औकात बिर्सेर कार्यकारी सरकारको अधिकारमाथि धाबा बोल्ने घृष्टताकै एक रुप हुन । 

नेकपा स्थायी कमिटीको वैठक चलिरहेकै बेला राष्ट्रपतिले बहालवाला मन्त्रीसहित पार्टीको दोस्रो पुस्ताका केही नेताहरुलाई शीतलनिवासमा बोलाएर सरकारको कामबारे चासो राख्नु भनेको उनले कार्यकारी भूमिकामा आफू उदाउन चाहेको भित्री सन्देश पनि हो । यो भनेको संविधान मिचेर आफू शक्ति अभ्यासमा उत्रिन चाहेको खतरनाक सन्देश नै हो । 

राष्ट्रपतिको अभिव्यक्तिमा सरकारको काम गराइप्रति असन्तुष्टि झल्किएको त्यहाँ सहभागी नेताहरुको अभिव्यक्तिबाट सार्वजनिक हुँदै आएको छ । नेकपाले पाएको दुई तिहाइ वहुमत अनुसार वर्तमान अवस्थामा गम्भीर भएर ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले नेकपा नेताहरुलाई सम्झाएका विवरणहरु वाहिर आइरहेका छन ।  यो नै राष्ट्रपतिको सर्वथा निन्दनीय काम हो । किनभने संविधानतः राष्ट्रपतिको सल्लाहकार मन्त्रीपरिषद र त्यसका कार्यकारी प्रमुख प्रधानमन्त्री हुन । कुनै अमुक नेताहरु होइनन्, हुन सक्दैनन । राष्ट्रपति खोपीका देउता नै हुन सरकारको तुलनामा । तर हरदम सम्पर्कमा नै रहने सरकार प्रमुखलाई छलेर उनको परामर्श बिना नै यसरी सरकारको कामको समीक्षा गर्न नेता विशेषलाई भोज खुवाएर लविङ गर्ने राष्ट्रपतिको शैली गैरसंवैधानिक मात्रै होइन, आफू कार्यकारी हुने नयाँ शक्ति अभ्यास हो । यसले अन्ततः राष्ट्रपति भन्ने संस्थाको सर्वस्वीकार्य हुनुपर्ने सर्वमान्य सिद्धान्तको स्खलन र संविधानको उल्लङ्घन सिवाय केही गर्दैन ।

रामवरणको नयाँ अवतारमा भण्डारी ?

देश राजनीतिक संक्रमणमुक्त नभईसकेको र अन्तरिम संविधान मात्रै बहाल रहेका बेला २०६५ सालमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि आफ्नो भूमिकालाई विवादरहित बनाउन चुकेका थिए । उनले तत्कालीन जननिर्वाचित प्रधानमन्त्री प्रचण्डको सिफारिशलाई लत्याएर तत्कालीन सेनापति रुक्मांगत कटवाललाई सेनापतिका रुपमा पदमा थमौती गर्ने काम बिना कुनै संवैधानिक जग र आधार गरेका थिए । यसले प्रचण्डको सरकार गिराउने, संविधान पङ्गु बनाउने र देशलाई राजनीतिक अस्थिरताको नयाँ भूमरीमा धकेल्ने काम गरेको थियो । आठ वर्षसम्म संविधान नबन्नु, पहिलो संविधानसभा संविधान जारी गर्न असफल हुनु, देशले दोस्रो संविधान सभाको खर्चिलो चुनाव व्यहार्नु र स्वयम् राष्ट्रपति पद स्थापनाकालमा नै विवादरहित नहुुनु आदि त्यसबेलाका राष्ट्रपति डा. रामवरणका कदमका कमजोरीका नकारात्मक ‘बाइप्रोडक्ट’ थिए ।

अहिले ठीक त्यही भूमिकामा राष्ट्रपति भण्डारी देखा पर्न खोज्दैछिन, उही डा. रामवरणको नयाँ अवतारमा । उनले आफ्ना गैरसंवैधानिक कर्महरु मार्फत आफूलाई संविधान भन्दा माथि रहेको देखाउन खोज्दैछिन । डा. रामवरण यादवले उतिबेला प्रचण्ड सरकार गिराउने गरी सेनापति प्रकरणमा संविधान नमिचेको भए देश अरु अस्थिरतातर्फ जानबाट रोकिन सक्थ्यो । तर, त्यो सुझबुझ र विवेकसम्मत काम जसरी डा. रामवरणबाट हुन सकेको थिएन, त्यसैगरी अहिले राष्ट्रपति भण्डारीबाट पनि त्यस्तो भूमिका हुन सकेको छैन ।  

उतिबेला कटवाल प्रकरणबाट देशलाई नयाँ राजनीतिक अस्थिरता र संक्रमणमा धकेलेका प्रथम राष्ट्रपति यादवले पछि आफ्ना छोरालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनाउन पनि नाङ्गो रुपमा पदीय मर्यादा बिपरित पार्टीगत राजनीति गरेका थिए । अहिले आफ्ना पूर्ववर्तीका ती विवादाष्पद कामबाट पाठ नसिकेर उल्टै ती हर्कतहरुलाई उछिनेर अघि बढ्दैछिन वर्तमान राष्ट्रपति भण्डारी । संविधानलाई पङ्गु बनाएर आफू हिरो हुने गैरसंवैधानिक हर्कतले जसरी डा.रामवरणले राष्ट्रपति संस्थाको गरिमा खुइल्याएका थिए, त्यसमा वर्तमान राष्ट्रपति भण्डारीले क्रमभङ्गता ल्याउनुको सट्टा झन् बढी फड्को मार्न खोज्नुले उनी पदका लागि लायक नै पो थिइनन् कि भन्ने प्रश्नहरु पनि उठाएको छ । यो विद्या भण्डारीको लहड र सनकमा होइन, संविधानले निर्दिष्ट गरेको रोडम्यापमा चल्ने शासन पद्धति हो भन्ने तथ्यवोध यदि राष्ट्रपतिको कदमले व्यवहारतः पुष्टि गर्न नसक्नु भनेको गणतन्त्रलाई धमिरा लगाउने कुकर्म नै हुनेछ । के उनी त्यतैतिर अग्रसर छिन त ? 

सरकारको रहस्यमय मौनता ?

स्वतन्त्र लेखक तथा विश्लेषक सौरभले केही समयअघिको एक टेलिभिजन अन्तर्वार्तामा भावी प्रधानमन्त्री विद्या भण्डारी हुने तर्क गरेका थिए । उनको लाक्षणिक भनाइ चरितार्थ गर्ने काम राष्ट्रपतिका कामहरुले गरिरहेका छन् । सरकार प्रमुख ओली अस्वस्थ भइरहनु, सरकार जनताका वीचमा कामकाजी प्रमाणित हुन चुकिरहनु र संविधान विपरीतका शक्ति अभ्यासमा राष्ट्रपति भण्डारी लम्किरहनुले अन्ततः संविधान र व्यवस्थाकै तेजोबध गरेर जनतामा वितृष्णा बढाउने हो । गणतन्त्रको जग नबस्दै यसमाथि प्रहार गर्ने पहिलो राष्ट्रपतिको पदचापमा अहिले राष्ट्रपति देखिनु सर्वथा अमान्य छ । 

पारिवारिक रुपमा पनि सम्धी सम्धिनी बनेका डा. रामवरण र भण्डारीका शासकीय महत्वाकाङ्क्षा यदि बढेका हुन भने यसको निशानामा पर्ने व्यवस्था र संविधान जोगाउन उनका महात्वाकाङ्क्षामाथि सरकारले ब्रेक लगाउने हिम्मत गर्न सक्नुपर्छ । नेकपा वैठकमा चर्काचर्की हुनु तर प्रधानमन्त्री यसबारेमा कानमा तेल हालेर बस्नु पनि आफैमा रहस्यमय छ । 

आफू कमजोर स्वास्थ्यको शिकार भएकाले कतै मौन रुपमा राष्ट्रपतिलाई शक्तिशाली बनाउन ट्रायलका रुपमा यस्ता गैरसंवैधानिक काममा सरकार प्रमुख ओली मुकदर्शक भइरहेका त छैनन् भन्ने प्रश्नहरुको पनि जवाफ खोजिनु पर्छ । किनभने गएको भदौमा दुई साता लामो उपचारमा विदेशिएका बेलादेखि नै प्रधानमन्त्री ओलीले आफ्ना अधिकारहरु राष्ट्रपतिमा सारेर उनलाई शक्तिशाली बनाउन चाहेको भन्ने खबरहरु चर्चामा थिए । उनले नेता वामदेव गौतम, वर्षमान पुन र महासचिव विष्णु पौडेललाई उतिबेला सिंगापुरमा नै बोलाएर केही न केही राजनीतिक रोटी पाक्दैछ भन्ने सन्देश दिएका थिए । उतिबेलाबाट सुरु भएका चर्चाहरु अहिले राष्ट्रपतिको शक्ति अभ्यासका हर्कतहरु मार्फत सार्वजनिक हुन थाल्नु र सरकार कानमा तेल हालेर बस्नुले यस्तै रहस्यहरु लुकेको प्रतित हुन्छ । होइन भने सरकारले राष्ट्रपतिलाई ध्यानाकर्षण गराउने वा सचेत बनाउने एक्सन लिन सक्नुपर्ने हो । संविधानको संरक्षक तथा सेनाकी सेनाधिपति राष्ट्रपतिको दलका नेतासँगको भोजभतेरसहितका वैठक सामान्य राजनीतिक शिष्टाचारका स्वाभाविक वैठक होइनन् भन्ने तथ्य यो सरकारलाई हेक्का छैन भन्न सकिन्न ।

नयाँ राजा होइनन् राष्ट्रपति 

स्व. जननेता मदन भण्डारी बारबार भन्ने गर्थे, सामन्तवादको जरा काट्न नसके एक राजा हटाउनु मात्रैले जनताको सत्ता स्थापित हुन सक्दैन । अहिले राजा हटेर राजाको भूमिकामा मदन पत्नी भण्डारी नै राष्ट्रपति हुनु मदनले देखेको सपनाको साकार रुप त हो तर मदनले औंल्याएको खतरा उनकै पत्नीको पदीय मर्यादा उल्लङ्घनका घटनाहरु मार्फत बढ्नु चाहि मदनकै सिद्धान्त र व्यवहारको अपमान पनि हो । नयाँ राजा होइनन् राष्ट्रपति भन्ने सन्देश जनमानसमा स्थापित हुन नसक्नु दुःखद विडम्वना नै हो ।

राष्ट्रपति भण्डारीको पार्टी वैठक चलिरहेका बेलाको यो भोज वैठक एक ताजा उदाहरण मात्रै हो । उनी पहिलो कार्यकालदेखि दोस्रो कार्यकालको मध्यान्तरसम्म दर्जनौ विवादास्पद काममा मुछिएकी छिन । यसले उनको तटस्थ र सर्वमान्य पदीय भूमिकालाई स्खलित गर्दा गणतन्त्रको विरोध गर्नेहरुलाई बल पुग्दै आएको छ । खोई को मर्यो भन्दा पनि काल पल्क्यो भन्ने चिन्ताको सवाल यही हो । जनताको बीचबाट उठेकी र जननेता भण्डारीकी जीवनसङ्गिनी हुनुका नाताले राष्ट्रपति भण्डारी कुनै पनि विवादमा नपरी उदाहरणीय भूमिकामा चम्किरहुन भन्ने जनजनको अपेक्षा हो । उदाहरण दिने होइन आफै उदाहरण बन्ने नै उनको कर्म देख्न पाउन जनताले । समयबद्ध साप्ताहिकबाट