गोकर्ण फरेस्ट रिसोर्ट प्रकरणः सार्वजनिक लेखा समितिले थाल्यो छानबिन 

गोकर्ण फरेस्ट रिसोर्ट प्रकरणः सार्वजनिक लेखा समितिले थाल्यो छानबिन 

काठमाडौं, ७ पुस । ६ वर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण फरेस्ट रिसोर्ट प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

नेपाल ट्रस्टको गोकर्णको झण्डै २८०० रोपनी जग्गा लिज अवधि सकिनुपूर्व नै पुनः अर्को २५ वर्षका लागि सरकारकै संलग्नतामा प्रक्रिया पूरा नगरी यती समूहलाई भाडामा दिइएको विषय सार्वजनिक भएपछि लेखा समितिले चासो देखाएको हो ।

लेखा समितिको सोमबार बसेको बैठकले सो विषयमा भएको भनिएको अनियमितताबारे छानबिनका लागि सबै कागजात नेपाल ट्रस्टसँग माग गरेको हो ।सरकारले गोकर्ण रिसोर्ट भएको जग्गा पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी रहँदै यती समूहलाई थप २५ वर्ष दिने सम्झौता गरेको विषय सार्वजनिक भएपछि सरकारको सर्वत्र आलोचना भएको छ ।

मागिएका कागजात प्राप्त भएपछि अध्ययन गरेर अघि बढ्ने लेखा समितिका सभापति भरतकुमार शाह बताउँछन् । उनले भने, ‘हामीले कागजात मगाएका छौँ । कागजात आएपछि अध्ययन गर्छौँ । त्यसपछि मात्रै अगाडि बढ्छौँ । यो विषयलाई समितिले गम्भीरता पूर्वक लिएको छ ।’