भारतमा आज पनि इन्टरनेट मोबाइल  एसएमएस सेवा बन्द रहने

भारतमा आज पनि इन्टरनेट मोबाइल  एसएमएस सेवा बन्द रहने

काठमाडौ । नागरिकता विरोधलाई कमजोर पार्न भारतका विभिन्न ठाउँमा इन्टरनेट, मोबाइल , एसएमएस सेवा शुक्रबारसम्म बन्द रहने भएको छ । बिहीबार जारी गरिएको आदेशका अनुसार यस्तो रहने देखिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नागरिकता कानुनमा गरेको संशोधनको विरोधमा भारतीय जनता सडकमा ओर्ले पछि यस्तो आदेश बिहीबार दिइएको थियो ।

सरकारले सम्भावित प्रदर्शनलाई दबाउन धारा १४४को घोषणा गरेपनि भारतीय जनता बिहीबार अवज्ञा गर्दै भारतभरका विभिन्न प्रमुख शहरहरूमा प्रदर्शन गरेका छन् ।  राजधानी दिल्ली लगायतका विभिन्न शहरमा प्रदर्शनको चाप कम गर्न यसलाई रोक्न सरकारले इन्टरनेट मोबाइल फोन सेबा बन्द गर्ने आदेश दिन बाध्य भयो । साथै दिल्लीमा चल्ने आन्तरिक रेल  मेट्रो रेल सेवा बन्द गर्न समेत आदेश दिन सरकार बाध्य भएको देखियो ।

प्रदर्शनमा सरकारको दमनका कारण तीन जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । नयाँ नागरिकता कानुन अन्तर्गत पाकिस्तान , बंगलादेश र अफगानिस्तानबाट अवैध गैर मुस्लिम आप्रवासीहरूलाई भारतको नागरिकता दिने प्रावधान थपेका कारण यसको विरोध गरिएको हो ।
सत्ताधारी भारतीय जनता पार्टी बाहेक प्रायः सबै प्रमुख राजनीतिक दलले यसको विरोध गरेका छन् । उनीहरूका अनुसार भारतीय संविधानको धर्मनिरपेक्षताको छविलाई यसले हानि पु¥याएको छ । प्रधानमन्त्री मोदीले विरोध गर्ने राजनीतिक दलको यो चिन्तालाई निराधार बताउँदै विपक्षीले भ्रम छर्ने काम गरेको आरोप लगाएका हुन् ।

बिहीबार भएको भारतभरको प्रदर्शनमा कर्नाटकको मंगलुरुमा प्रहरीको गोली प्रहारबाट दुईको मृत्यु भएको भारतीय समाचार नियोग पीटीआईले जनाएको छ । प्रहरी चौकीमा आगो लगाउने प्रयास गर्दा प्रहरीले गरेको फायरिङमा उनीहरूको मृत्यु भएको जनाइएको छ ।
मंगलुरुमा ४८ घन्टाको इन्टरनेट सेवा बन्द गरिएको छ । यसैगरी उत्तरप्रदेशमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

मोदीका विश्वस्त मानिएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हिंसा भडकाउने विरूद्ध सख्त कारबाही गरिने चेतावनी दिएका हुन् । साथै उत्तर प्रदेशमा इन्टरनेट र एसएमएस सेवा ४५ घन्टाका लागि बन्द गरिएको हो । बिहीबार दिल्लीको लाल किला क्षेत्रमा निषेधाज्ञा उल्लंघ गरेको भनी १२०० जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो ।

यो प्रदर्शनमा विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन, सामाजिक कार्यकता तथा सिनेमा क्षेत्रका अभिनेताहरू सामेल हुँदै गएको देखिएको छ । बेंगलुरुमा विरोध प्रदर्शनमा सामेल भएको प्रसिद्ध इतिहासकार रामचन्द्र गुहालाई तथा  दिल्लीमा योगेन्द्र यादवलाई हिरासतमा लिइयो ।
मुम्बईमा विरोध प्रदर्शनमा निस्केका अभिनेता फरहान अख्तरले भेदभावपूर्ण कानुनको शान्तिपूर्ण विरोध गर्न आफूहरूको हक भएको बताए ।

भारतभर भएको विरोध कार्यक्रमबाट पूर्व राष्ट्रपति प्रणव मुखर्जीले  भारतको जनताले शक्तिशाली सरकारलाई पनि  ढाल्ने गरेको इतिहास रहेको भनी दिएको अभिव्यक्ति मोदीको दुई तिहाई सरकारको सन्दर्भमा कतै सत्य त साबित होइन भने चर्चा चल्न थालेको हो ।