अध्यागमन कार्यालयको अवस्था बुझ्न गृहमन्त्री थापा विमानस्थलमा 

 अध्यागमन कार्यालयको अवस्था बुझ्न गृहमन्त्री थापा विमानस्थलमा 

काठमाडौं, २ पुस । गृहमन्त्री रामबहादुर थापा‘ बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । 

नेपाल भ्रमण वर्ष २०२० नजिकिरहँदा अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा बुधबार बिहान विमानस्थल पुगेका हुन् । निरीक्षणको क्रममा गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभि मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरे।
अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा  निकै सुधार भएपनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य तथा नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुबिधासम्पन्न अध्यागन कार्यालयको रुपमा यो सञ्चालनमा आउन लागेकोे बताए।

निरीक्षणको क्रममा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत उपस्थित थिए ।