पर्यटनको आधारः सिन्धुलीको जुनार

पर्यटनको आधारः सिन्धुलीको जुनार

फणीन्द्र फुयाल ज्वाला

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । हामी अंग्रेजी नयाँ वर्षको प्रवेशद्वार नजिकै आइपुगेका छौँ । सन् २०१९ को डिसेम्बरका आखिरी दिनहरु मात्र हामीसँग बाँकी छन् । यस अर्थमा पनि आम नेपाली अंग्रेजी नयाँ वर्षको स्वागतमा आतुर छन् किनकी सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल पार्न स्थानिय सरकार र जनताले पनि हातेमालो गरिरहेका छन् ।

पर्यटन वर्षलाई सफल पार्नका लागि हरेक प्रदेश, जिल्ला र स्थानिय तहमा उत्पादन भएका कृषि उपजहरुलाई भरपुर रुपमा सदुपयो गर्न सकिन्छ । स्थानिय स्तरका उत्पादनलाई आम जनता र पर्यटकसँग भेट गराइदिनका लागि स्थाथानिय  सरकारले कृषकलाई ढुवानी र बजारीकरण अनि कोल्ड स्टोरको सुविधा उपलब्ध गराउनु पर्छ । अंग्रजी नयाँ वर्षमा सरकारले बीस लाख पर्यटक भित्राउने जुन उद्देश्य लिएको छ त्यसलाई पूर्णंतः सफल पार्नका लागि स्थानिय स्तरका भेषभुषा, रितिथिती, कला, संस्कृती, भौगोलिक तथा प्राकृतिक छटा र सुन्दरताहरुको पनि उत्तिकै महत्व छ । यी सबैको उचित समायोजनबाटै ‘सृमद्ध नेपाल, सुखि नेपाली’ बनाउने सरकारको नारा सफल हुने छ भने पर्यटन वर्ष सफलताको आधार मात्र होइन आगामी दिनमा समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पनि यसैबाट पुरा हुने निष्चित छ । 

देशका बिभिन्न जिल्ला, क्षेत्र र प्रदेशमा बिभिन्न प्रकारका फलफुल र अन्नबालीको उत्पादान हुने गर्छ । यी स्थानिय फलफुल र उत्पादनहरुको मौलिक महत्व त छँदै छ त्यसलाई अझ बजारीकरण गर्दै व्यापकता दिन सकेको खण्डमा ती उत्पादनले भरपुर मात्रामा पर्यटनको मन लोभ्याउन सक्छन्, पर्यटकलाई स्थानिय उत्पादनले मोहित पार्न सक्छन् ।

भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा हामी पर्यटकलाई कसरी स्वागत गर्ने तयारी र योजना बनाएका छौँ ? पर्यटकलाई लोभ्याउने कामहरु कति भए र कति गर्न बाँकी छन् ? पर्यटकलाई केन्द्र र स्थानिय सरकारले कस्ता सेवा प्रदान गर्ने छन् ? स्थानिय स्तरमा बसोबास र सुरक्षाको ब्यबस्था कसरी मिलाइँदै छ ? यो भ्रमण वर्षले नेपाल र नेपालीलाई कस्तो फाइदा पुग्छ ? पहिलो पटक सन् १९९८ र दोस्रो पटक सन् २०११ मा भ्रमण वर्ष मनाउँदा कस्तो फाइदा भयो ? त्यतिबेला हाम्रा के कस्ता कमि कमजोरीहरु रहे तिनको पनि उचित समीक्षा गर्नु जरुरी हुन्छ ।  

यसै सन्दर्भमा सिन्धुली जिल्लाको पुरानो र मौलिक फल जुनार सिन्धुली जिल्लाको मात्र समृद्धिको आधार नभई पर्यटन वर्ष २०२० लाई सफल तुल्याउने एक महत्वपूर्ण आधार बन्न सक्छ । अहिले सिन्धुलीका महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन भ्याइनभ्याई छ । महाभारत क्षेत्रका बारी र बगैँचा अहिले पहेंलपुर देखिन्छन् । वि.पी राजमार्गको आसपासका बजार, खनियाखर्क, खुर्कोट, सिन्धुलीमाढीको बसपार्क क्षेत्र र भिमानसमेत जुनारको ब्यापार भइरहेको देख्न सकिन्छ । 

यहाँका कतिपय फलफुल पसलमा जुनारको जुस समेत तयार पारेर बिक्रि गरिरहेको देख्दा सिन्धुली पुग्ने जो सुकै घरेलु तथा बाह्य पर्यटकको मुख रसाउने गर्छ ।
चैत–बैशाखमा मगमगाउँदै फुल्ने जुनारको सेतो फुलले बगैँचालाई माधुर्यता थपेको हुन्छ भने त्यसका दानाले गुच्चा आकार हुँदै क्रिकेटबलको जत्रो जवानी पार गरेर असोजको अन्तिमतिर अमिलो हुने यो हरियो फल जुनार मंसिरदेखि गुलियो स्वादमा परिणत हुन्छ । दानामा गुलियो रस बन्ने प्रकृयासँगै यो फल हरियो रंगबाट क्रमश पहेँलो र सुनौलो हुँदै जान्छ । लटरम्म जुनार पाकेको मौसमा बगैँचामा गएर यसको दृष्याबलोकन गर्दैमा पनि मन, र मुख स्वादले आफैँ भरिन्छ । यो मौसममा जुनार बगैँचामा पुगेर सेल्फी खिच्दै सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्नेहरुको पनि कुनै कमि हुँदैन । 

जुनारको राजधानीको रुपमा परिचित सिन्धुली जिल्लाको रतनचुरा, जलकन्या, तीनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखोला क्षेत्रलाई जुनार सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर, भोगटे लगायतका अमिलो जातका फलफलहरु प्रसस्तै रुपमा उत्पादनका लागि उर्वर भूमि मानिन्छ । यो नै सिन्धुलीको पर्यटन र समृद्धिको एक आधार हो ।

त्यसोतः सिन्धुली जिल्लालाई ऐतिहासिक सिन्धुली गढीले पनि नचिनाउने होइन् । यसअघि सरकाले देशका सयवटा पर्यटकीय स्थलहरुको पहिचान गर्दै सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नु पनि सिन्धुली जिल्लाको पर्यटन प्रबद्र्धन र समृद्धिको एक महत्वपूर्ण कडी हो ।
जिल्लाको पछिल्लो जुनार उत्पादनको आँकडा हेर्दा गत वर्ष आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानी भएका कारण अझ उत्पादन बढ्ने अनुमान गरिएको छ । यहाँ वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको सङ्ख्या दुई हजार भन्दा बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको प्राविधिक टोलिको तथ्याङ्क छ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म जुनार फलेको रेर्कड छ ।

पछिल्लो समय देशकै प्राथमिकताको फलफूल बालीको सूचीमा जुनार परेको छ । सिन्धुलीलाई अहिले जुनारको पहिचान थपिएको छ । सिन्धुलीको यो पहिचानलाई पर्यटन वर्ष २०२०ले पर्यटनसँग जोड्न सकेको खण्डमा समृद्ध सिन्धुली त हुन्छ नै त्यसले समृद्ध नेपाल निनर्माणमा पनि एउटा इट्टा थप्ने निश्चित छ । 
सिन्धुलीका ३६ वटा जुनार सहकारी सञ्चालनमा रहेकोमा दुई वटाले उत्पादित जुनार प्रशोधन गरेर जुस, स्क्वास, जेलीजस्ता वस्तु उत्पादन गर्दै आएको जुनार उत्पादन जिल्ला सहकारी सङ्घ सिन्धुलीको आँकडा छ । 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीका अनुसार जिल्लामा एक हजार ३२५ हेक्टर क्षेत्रमा व्यावसायिकरुपमा जुनार खेती हुँदै आएको छ ।

जुनार फलको खेती सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुङ्गा, भोजपुर, धनकुटा र रामेछापमा पनि व्यावसायिकरुपमा विस्तार हँुदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरुपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको बताइन्छ । नगदे बालीका रुपमा रहेको जुनार खरिद गर्न, बगैँचा अवलोकन गर्न, जुनारका बिरुवा खरिद तथा उत्पादन गर्नकै लागि कतिको संख्यामा पर्यटकहरु चासोपूर्वक सिन्धुली पुगे भन्नेमा कुनै पनि आधिकारिक तथ्याँक नभएतापनि जुनार पर्यटन भने पछिल्ला दिनमा बृद्धि भएको स्थानिय जुनार कृषकहरुको अनुभव छ ।   

उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हँुदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । दुई हजार एकसय घरधुरी व्यावसायिक र सङ्गठित रूपमा जुनार खेतीमा संलग्न रहेको आङ्कडा रहेपनि थप करिब एक हजारको सङ्ख्यामा कृषकले यसको खेती गरेको बताइएको छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरुपमा जुनार खेती हुँदै आएको छ ।

पछिल्लो समय विभिन्न सङ्क्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास पनि किसानमाझ फैलिएको छ । सङ्क्रमणबाट उत्पादित फल मध्ये झण्डै ३० प्रतिशत खेर जान थालेपछि कृषकहरु चिन्तित भएका छन् ।
काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ । सोलाभन्ज्याङ र खनियाँखर्कमा केही बेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाँै र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।

प्रत्येक जिल्लालाई एक जिल्ला एक उत्पादनको अवधारणाकासाथ अघि बढाउँदै दीर्घकालिन योजना बनाएर कृषि उत्पादनहरुको बृद्धि गर्दै लैजाने हो भने देशमा कृषि क्रान्ति हुने त छनै यसले कृषि पर्यटनमा पनि महत्वपूर्ण टेवा पु¥याउन सक्छ । त्यसका लागि मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला स्याउको लागि प्रख्यात भए जस्तै सिन्धुली पनि जुनार पर्यटनको ‘हव’ बन्नेमा कसैको दुईमत नरहला ।