भ्रष्टाचार अभियोगमा पूर्व मन्त्री बलवहादुर केसीबिरुद्ध उजुरी

 भ्रष्टाचार अभियोगमा पूर्व मन्त्री बलवहादुर केसीबिरुद्ध उजुरी

काठमाडौ, २ पुस । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा काँग्रेसका नेता तथा पूर्व मन्त्री बलबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

सार्वजनिक पद धारण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुको तत्कालीन सल्लेरी गाविस ७ का नारायण निरौलाले उजुरी दर्ता गरेका हुन् ।नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री केसी २०४८ सालदेखि सोलुखुम्बुबाट प्रतिनिधित्व भई सांसद र मन्त्रिसमेत भइसकेका छन् ।

उनले अकुत सम्पत्ति आर्जन गरी अवैध किसिमबाट कमाएको सम्पति लुकाउन आफ्ना दाजु, भाइ, दिदी बहिनी, भाञ्जा र अरु नातेदारसमेतको नाममा साविकको गाविस र महानगरपालिकाको विभिन्न वडामा घरजग्गा किनेको उजुरीमा उल्लेख छ ।

उनको पहिलाको आर्थिक हैसियत घर खर्च पनि चलाउन नसक्ने अवस्था रहेको र प्रतिनिधि सभा सदस्य र मन्त्री भएपछि एकाएक करोडौंको सम्पत्ति जोडेको भन्दै उजुरी दर्ता गरिएको जनाइएको छ । उनी मन्त्री हुँदा राष्ट्रिय खेलकुद परिषद्मा बिना प्रतिष्पर्धा सयजना भन्दा बढी काँग्रेसका कार्यकर्ता भर्ति गरेका थिए ।