विश्व च्यम्पियनमा भाग लिने खेलाडीलाई किन रोक्यो अध्यागमनले ?

विश्व च्यम्पियनमा भाग लिने खेलाडीलाई किन रोक्यो अध्यागमनले ?

काठमाडौं । भर्खरै काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली खेलाडीहरुले हात पारेको ऐतिहासिक सफलताको खुशि आम नेपालीहरुले साटासाट गरिरहँदा नेपाली खेल क्षेत्रमा अर्को दुःखलाग्दो घटना घटेको छ । कुनै खेलाडीलाई काखा र कुनै खेलाडीलाई पाखा गर्ने काम स्वयम् सरकारी निकायबाट हुँदा खेलाडी मात्र नभई प्रशिक्षक र सम्बन्धित खेलका पदाधिकारीहरु नै आक्रोशित बन्दै शिर झुकाउनु पर्ने बाध्यता आइपरेको छ ।

विश्व कजाख् कुरेसी च्याम्पियनसीपमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागले खेलाडीहरुलाई लगाएकोमा रोकप्रति खेलाडी तथा प्रशिक्षकले दुःख व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षकहरु यही मंसिर २६ गते त्यसतर्फ प्रस्थान् गर्न लागेका थिए । तर, अध्यागमन विभागले खेलाडी तथा प्रशिक्षकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै घर फर्काइदिएपछि उनीहरुको पदक जितेर राष्ट्रको नाम उच्चो पार्ने अभियानमा ठेस लागेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अध्यागमनका कर्मचारीले आफुहरुप्रति गरेको यस्तो व्यबहारबारे दुःखेसो पोखेका हुन् । प्रतियोगितामा भाग लिनको लागि प्रशिक्षक गणेश बहादुर कुँवर, खेलाडीहरु ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजित लामा जान लागेका थिए । उनीहरुले आफूहरुलाई बिनाकारण विमानस्थलको अध्यागमन विभागले रोक लगाएकोमा दुःख व्यक्त गरेका हुन् । 

उक्त प्रतियोगितमा विश्वभरिका १ सय १६ भन्दा बढि देशबाट खेलाडीहरुको सहभागिता रहेको तर, नेपाली खेलाडीहरु छनौट हुँदा पनि खेल्न जान नपाएकोमा भने दुःखी छन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई कजाख्  कुरेसी
च्याम्पियनसिपले सम्पूर्ण स्पोन्सर गरेता पनि नेपालको अध्यागमन बिभागले बिनाकारण रोक लगाएको प्रशिक्षक कुँवरले गुनासो पोखे । 

खेलाडीसँग भिसा पेपर, इन्भिटेसन लेटर, एयर टिकट र होटल बुकिङको सम्पूर्ण कागजजात साथैमा थियो । तर, अध्यागमन बिभागले राष्ट्रिय खेलकुद परिषदको पत्र नभएको कारण देखाउँदै खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा भाग लिनबाट रोक लागाएको उनीहरुको गुनासो छ । 

अध्यागमनले सुरुमा ट्राभल हिस्ट्री भएका खेलाडीलाई मात्र जान अनुमति दिएको थियो । कुँवरले भने,‘सुरुमा अध्यागमनले ट्राभल हिस्ट्री भएकालाई जानदिने भन्यो, तर फ्रेस पासपोर्ट भएका खेलाडीलाई रोक लगाउने भन्नुभयो । पछि कसैलाई पनि जान दिनुभएन ।’ 

प्रशिक्षक तथा खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन नपाएको र आफ्नो देशको झण्डा उठाउन नपाएकोमा दुःख व्यक्त गरेका छन् । 

प्रशिक्षक कुँवरका अनुसार प्रतियोगितामा सहभागी हुन जाँदा राष्ट्रिय खेलकुद परिषदले आफूहरुसँग दर्ता नभएका संघलाई अनुमति दिन नहुने जनाएको थियो । प्रतियोगितमा भाग लिनबाट बञ्चित खेलाडी माधव राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितमा सहभागी हुनबाट रोकिएकोमा गुनासो पोखे । उनले भने,‘राष्ट्रको लागि खेल्न जानलागेका हामी खेलाडीहरुलाई अध्यागमनले अपमान गरेको छ । यसले हामीलाई साहै दुःखी तुल्याएको छ ।’