धनुषा र सिरहामा बम बिस्फोट, इन्स्पेक्टरसहित तीनको मृत्यु

धनुषा र सिरहामा बम बिस्फोट, इन्स्पेक्टरसहित तीनको मृत्यु

जनकपुर, २८ मंसीर । धनुषा र सिरहामा गए राति बम बिस्फोट हुँदा एक प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित राजेश्वर साहको घरमा राति बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका प्रहरी निरीक्षक अमिर दहालसहित घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको मृत्यु भएको हो । 

बम बिस्फोटमा परी घरमुली साह बाबु छोराको घटनास्थलमै मृत्यु भएको छ भने घाइते प्रहरी निरीक्षक दहालको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर भन्दा केही पर राजेश्वर साहको घरमा शौचालय अगाडि राखिएको बम प्रहरी निरीक्षकसहितको टोली एकिन गर्न पुगेको बेला बिस्फोट भएको थियो ।

सोही बिस्फोटमा परी प्रहरी जवान रिजन महतो, मृतक घरमुली साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गएराति अज्ञात समूहले बम बिस्फोट गराएका छन् । 
    
अज्ञात समुहले राति ११ बजेतिर गराएको बम बिस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरिक्षक अपिलराज बोहराले जानकारी दिए । 

    बम बिस्फोट गराउनेहरुको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बोहराले बताए ।