प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, २७ मंसिर । प्रेस काउन्सिल नेपालले पत्र पत्रिका वर्गीकरण गर्दा विभेद गरेको भन्दै आन्दोलनको थालनी गरेका पत्रकारहरुले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

पत्रकार दीपक पाण्डेको अध्यक्षतामा केन्द्रीय संघर्ष समिति गठन गरि चरणबद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले शुक्रबार एक घण्टा प्रेस काउन्सिलमा धर्ना दिनुकासाथै श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । काउन्सिलको सुद्धिकरणको माग गर्दै आन्दोलित पत्रकारहरुले काउन्सिलका पदाधिकारीहरुले कसैलाई काखा र कसैलाई पखा गर्ने नीति हटाएर आफुहरुले गरेको गल्ति नसुधारेसम्म तालाबन्दी जारी रहने केन्द्रीय संघर्ष समितिका संयोजक दीपक पाण्डेले बताए ।

काउन्सिलमा धर्ना दिएका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ उपत्यका समिति, पत्रकार महासंघ काठमाडौं, भक्तपुर, ललितपुर, झापा, उदयपुर, पर्सा लगायत देशभरका अधिकाँश पत्रकार महासंघका शाखाहरुले ऐक्यबद्धता जनाएका छन् ।

केन्द्रीय संघर्ष समितिका संयोजक दीपक पाण्डेले काउन्सिलको गतिविधिले नेपाली पत्रकारले शिर झुकाउनु पर्ने अवस्थामा पुगेको भन्दै सूचना तथा प्रसारण विभागले गर्नु पर्ने पत्रपत्रिकाको वर्गीकरणमा हस्तक्षेप गर्दै आग्रह–पूर्वाग्रहका आधारमा पत्रकार र पत्रिकाप्रति प्रतिशोध साँध्ने काम काउन्सिलका पदाधिकारीबाट भइरहेको बताए ।

'पत्रकार र सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफैँ आचारसंहिता उल्लंघन गर्ने, पत्रकाररिताको मर्यादा विपरित कार्य गर्ने, पत्रकार र संञ्चारमाध्यमको हुर्मत लिने जस्ता कार्यले प्रेस काउन्सिल बिवादको घेरामा पर्दै आएको छ' पाण्डेले भने ।

काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४ /०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न माग गरिएको छ ।

आफुहरुका माग पूरा नगरेकाले काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले प्रेस काउन्सिल घेराउ गर्दे कार्यबाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आफहरु बाध्य भएको आन्दोलित पत्रकाहरुले बताएका छन् ।

 

यस्तो छ प्रेस विज्ञप्ति...................

प्रेस काउन्सिल नेपाल शुद्घीकरणका लागि केन्द्रीय संघर्ष समिति
काठमाडौँ 

मितिः २०७६।०८।२७
प्रेस विज्ञप्ति

प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिको आह्वानमा आज एक घन्टाको धर्ना तथा कोण सभा सम्पन्न भएको छ । धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल,  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल, वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाई, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्नालिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य, वरिष्ठ पत्रकार चक्रपाण्ी नेपाल लगायतले ऐक्यवद्धता जनाउनु भएको थियो ।
शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरी परिचालन गरिएकोमा कडा आपत्ति प्रकट गर्दछौं । र, कार्यक्रम समापन पछि काउन्सिलको मूल ढोकामा टाँगिएके व्यानर प्रहरीले जफत गरोकेमा निन्दा र भत्सर्ना गर्दछौं ।
संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको छ । आइतबार सम्म समस्या समाधानमा पहल नगरिए थप कडा र शशक्त आन्दोलनको कार्यक्रम घोषणा गरिने छ । कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सञ्चारमन्त्रीलाई बुझाउने कार्यक्रम छ ।
 
                                      दीपक पाण्डे
                                      संयोजक