दुई लाख घुससहित सप्तरीका वडा सचिव मिश्र पक्राउ

दुई लाख घुससहित सप्तरीका वडा सचिव मिश्र पक्राउ

सप्तरी २५ मंसिर । दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् ।

मंगलबार साँझ ५ राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

'जन्म दर्ता गर्नकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा मिश्र पक्राउ परेका हुन्', अख्तियारको क्षेत्रिय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले भने । मिश्रले सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटेको टोलीले रैगेहात पक्राउ गरेको उनको भनाई छ । सेवाग्राहीको नाम भने तत्काल भन्न नमिल्ने उनको भनाई छ ।

मिश्रलाई थप अनुसन्धानका लागि क्षेत्रिय कार्यालय ल्याइएको आयोगले जनाएको छ ।