सत्तारुढ दलको विद्यार्थी संठगनद्वारा कोहलपुर घटनाको छानबिन माग

 सत्तारुढ दलको विद्यार्थी संठगनद्वारा कोहलपुर घटनाको छानबिन माग

काठमाडौं, २३ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ विद्यार्थी संगठन अनेरास्ववियुले कोहलपुर घटनाको छानबिन गर्न माग गरेको छ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले सोमबार विज्ञप्ति जारी गर्दै कोहलपुर घटनाको छानबिन गर्न माग गरेका हुन्। आइतबार कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा पनि अनेरास्ववियुले आपत्ति जनाएको छ । 

कलिला बालबालिकामाथि गरिएको निर्मम र अमानवीय प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङले भनेका छन्, ‘विद्यालयको गेटअगाडि आफ्ना सहपाठीलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थी आक्रोशित हुनु स्वभाविक नै थियो।’ सुरक्षाकर्मीले उत्पन्न समस्यालाई संयमतापूर्वक सुल्झाउन नसकेको पनि अनेरास्ववियुले बताएको छ।

‘समस्यालाई संयमतापूर्वक सुल्झाउन लाग्नुको सट्टा उल्टो गोलीसमेत चलाएर आगोमा घ्यु थप्ने अत्यन्तै गैरजिम्मेवार र बहुलठ्ठीपूर्ण हर्कत गरेको छ,’ तामाङले भनेका छन्।

घटनाको उचित छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ। ‘लापरबाही गर्ने सवारी चालकलाई हदैसम्मको कारबाही गर्न, अनावश्यक र अमानवीय दमनमा उत्रने दोषी प्रहरीलाई हदैसम्मको कारबाही गर्न माग गर्दछौं,’ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण घाइते विद्यार्थीको निस्शुल्क उपचार गर्न र पीडित बालबालिकालाई उचित परिपूरणको व्यवस्था गर्न माग गर्दछौं।’