मुख्यमन्त्री पौडेलद्वारा नेपाली खेलाडीको प्रशंसा

मुख्यमन्त्री पौडेलद्वारा नेपाली खेलाडीको प्रशंसा

काठमाडौं, २२ मंसिर । ३ नं प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले साग खेलकुदमा नेपाली खेलाडीले हाल सम्म प्राप्त गरेको नतिजाको प्रसंशा गरेका छन् । उनले एक सन्देश जारी गर्दै नेपाली खेलाडीले गरेको सुरुवात अत्यन्तै सुखद रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री पौडेलले भनेका छन्, 'हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद नै छ । विभिन्न विधामा विश्व कीर्तिमान समेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाइ हार्दिक शुभकामना दिन चाहान्छु । बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासको साथ सबै खेलाडीहरूलाईअग्रिम शुभकामना ।'

मन्त्री पौडेलले 'सबैका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराकासथ प्रदेश सरकार खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगत रूपमा नै लागिरहेको जनाएका छन्। 'प्रदेशमा एक अन्तराष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रंगशाला एवम् स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्डहल निर्माण कार्य भैरहेको छ ।' उनले उल्लेख गरेका छन्, 'आगमी २ वर्षमा भौतिक रुपमा हामी सक्षम हुनेछौं, अनि प्रदेश सरकारले खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ ।'