निर्वाचन परिणामले देउवालाई राहत

निर्वाचन परिणामले देउवालाई राहत

काठमाडौं । आफ्नै पार्टीभित्रबाट सङ्कटमा पर्दै गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपनिर्वाचनको मत परिणामले केही राहत दिएको छ । उपनिर्वाचन भएका ५२ स्थानमा यसअघि नेपाली कांग्रेसले ३३ प्रतिशत मत ल्याएको थियो तर यसपटक ४० प्रतिशत पु¥याएको छ । खासगरी धरान र भक्तपुरमा नेपाली कांग्रेसले उल्लेख्य प्रगति गरेको छ । भक्तपुर र धरानमा नेपाली कांग्रेसले गत निर्वाचनमा भन्दा ४० प्रतिशत बढी मत प्राप्त  गरेको छ । 

 कास्की, बाग्लुङ र दाङमा पनि नेपाली कांग्रेसका मत घटेका छैनन् ।  तर, नेकपाको ४७ प्रतिशत मत कायमै रहेका कारण देउवालाई जस दिन नेपाली कांग्रेसको इतर पक्ष तयार छैन । मुलुक दुई पार्टीय प्रणालीमा गएका कारण ४५ प्रतिशत जनमत नपु¥याई नेपाली कांग्रेसले सत्तामा जाने सपना देख्न नहुने कांग्रेस निकट विश्लेषकहरुको भनाइ छ । 

 मुलुक उपनिर्वाचनमा होमिएका कारण विगत एक महिनादेखि नेपाली कांग्रेसको आन्तरिक मामला मत्थर भएको थियो । आन्तरिक  मामिलालाई स्थगित गर्दै नेताहरु उपनिर्वाचनमा होमिएका थिए । उप निर्वाचन सम्पन्न भए लगत्तै नेपाली कांग्रेसको आन्तरिक मामिला फेरि बल्झिने सम्भावना देखिएको छ । मंसीर महिनाभित्र वडा समिति, पालिका समिति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, प्रदेश कार्य समिति अन्तरिम रुपमा गठन गरी सक्ने र फागुन मसान्तभित्र  स्थानीय अधिवेशन गरिसक्ने निर्णय नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको थियो । मंसीर मसान्तभित्र वडा समिति, पालिका समिति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, प्रदेश कार्य समिति अन्तरिम रुपमा गठन गरी नसके फागुन मसान्तभित्र स्थानीय अधिवेशन सम्पन्न गर्न नसकिने अवस्था छ । 

फागुन मसान्तभित्र स्थानीय अधिवेशन सम्पन्न हुन नसके थपिने एक वर्षभित्र १४ औं महाधिबेशनका लागि समय पुग्ने अवस्था छैन । वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी फागुन मसान्तभित्र सकिँदै छ । त्यसपछि विधानले दिएको बढीमा एक वर्ष म्याद थप्न सकिने अधिकारको प्रयोग गर्दै एक वर्ष म्याद थप्ने सहमति भइसकेको छ । तर, थपिएको एक वर्षको म्यादभित्र महाधिबेशन सम्पन्न हुन सम्भव छ कि छैन ? भन्ने प्रश्न मुख्य रुपमा अघि आएको छ । तर, कांग्रेसको अहिलेसम्मको गतिविधि हेर्दा थपिएको एक वर्षभित्र पनि १४ औं महाधिबेशन सम्पन्न हुने कुनै सम्भावना नरहेको एक केन्द्रीय सदस्यले बताए । 

त्यसपछि के हुन्छ ? भन्नेतर्फ कांग्रेसका दुवै समूहहरु आ–आफ्नो रणनीतिमा लागेका छन् । विजयकुमार गच्छदारसँगको पार्टी एकीकरणको निहुँ बनाएर महाधिबेशन नै नगराई अघि बढी रहने रणनीतिमा  सभापति देउवा छन् । यो रणनीतिमा उनले आफ्नो पक्षको मात्रै होइन इतर पक्षका पनि धेरै नेताहरुको साथ पाएका छन् । देउवाले यो अस्त्र प्रयोग गर्दै महाधिबेशन छले भने के गर्ने ? भन्ने रणनीतिमा  इतर पक्षका नेताहरु देखिएका छन् । तर इतर पक्षभित्र पनि तीन वटा समूह छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाका अलगअलग गुटहरु छन् । इतर पक्ष तीन गुटमा विभाजन हुनु र यी तीन वटै गुटको दुरी बढ्दै जानुले सभापति देउवालाई आफ्नो रणनीतिमा धेरै नै सफलता मिलेको छ । 

 तर, समय देउवाले सोचे अनुसार अघि बढ्ने सम्भावना अत्यन्त कम देखिएको कांग्रेसका विश्लेषकहरु बताउँछन् । पार्टीको मात्रै होइन प्रायः सबैजसो भ्रातृ संगठनहरुको पनि म्याद सकिएको छ । महाधिबेशन हुन नसकेको वर्षौं बितिसकेको छ । कुनै पनि बेला विष्फोट हुनसक्ने आँकलन पनि गरिएको छ । देउवा समुहभित्र पनि उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का तीनतिर देखिएका छन् । यी तीन जनालाई एक आपसमा प्रतिस्पर्धीका रुपमा  उतारेर देउवा शक्तिशाली बनेका छन् । 

तर, यी तीन जनालाई एकै ठाउँमा उभ्याउने भित्री कोसिस कुनै शक्ति केन्द्रबाट भइरहेको आभास पाएपछि देउवा थप शशंकित बनेको समाचार स्रोतले जनाएको छ । यी तीन जना एकै ठाउँमा उभिएर विकल्प तयार गरे भने देउवा आफ्नै गुटभित्र संकटमा पर्ने विश्लेषकहरु बताउँछन् । समयबद्ध साप्ताहिकबाट