उपनिर्वाचनः नेकपाप्रति धर्मराउँदो जनविश्वास

उपनिर्वाचनः नेकपाप्रति धर्मराउँदो जनविश्वास

नामैले उपचुनाव । उपचुनाव अर्थात उन्नत मानक नहुने चुनाव । तर, चुनाव जनता र नेता, दल र जनता तथा सरकार र जनताबीचको सम्बन्ध परीक्षित हुने अवसर नै हो । यस हिसाबले हेर्दा सत्तारुढ नेकपाका लागि मंसिर १४, २०७६ को चुनावी परिणाम धेरै कोणबाट सकसपूर्ण शिक्षाप्रद रह्यो ।

अघिल्लो आम चुनावको नतिजा अनुसार सत्तारुढ नेकपाको लोकप्रियता जनजनका नजरका नखस्केको भए, सरकार जनताका वीचमा कामकाजी साबित भइदिएको भए, एमाले र माओवादी दुई पार्टीबीचको पार्टी एकता भावनात्मक रुपमा नै स्थापित भएको भए, यो उपचुनावको परिणाम अझ उन्नत र उत्साहित हुन सक्थ्यो । 

उपत्यकाको भक्तपुर, दाङ, चितवन र धरानमा नेकपाको स्थिति कमजोर रहेको पछिल्लो जनादेशको स्पष्ट सन्देश यही हो कि बितेका २१ महिनामा सरकारले जनताको मन जित्ने काम गरेर वाहवाही बटुल्न सकेन । पार्टी प्राविधिक र सैद्धान्तिक रुपमा मात्र एकतावद्ध भयो, तर त्यो जरैदेखि भावनात्मक रुपमा एकीकृत भएन । पार्टी र जनताबीचको सम्बन्ध गएको अवधिमा औपचारिक मात्रै रह्यो, जनताको दिल दिमागमा पार्टी हिजो भन्दा बढी नजिक हुन सकेन ।

स्वाभाविक नै हो, अक्सर जनमत सत्ताको विपक्षमा उभिन्छ । तर, अहिलेको जनमत यसरी नेकपालाई सबक नै सिकाउने गरी विपक्षमा जानुपर्ने अवस्था किन थिएन भने पार्टी एकीकरणबाट दुईतिहाई बहुमत ल्याएर सरकारले स्थायित्व र समृद्धिको सन्देश दिएको थियो । तर, यो सुखद अवस्थाका बीच पनि जनताको दिनदिनको अवस्थाप्रति सरकार अझै कामकाजी हुन नसकेको सन्देशकै रुपमा उपचुनावमार्फत् जनमत व्यक्त भएको छ ।

हारको धक्का

पार्टी एकता केन्द्रदेखि वडा तह हुँदै कार्यकर्ताहरुको वस्तीवस्तीसम्म मूर्त भएको हुन्थ्यो भने भक्तपुरमा नेकपाले विजयोत्सव मनाउन सक्थ्यो । उम्मेदवार छनौटमा रैथाने स्थानीय अनुहारलाई प्राथमिकता दिएको भए पनि प्रारम्भिक चरणमा नै असन्तुष्टि नरहन सक्थ्यो । समयमा नै स्थानीय पार्टी कार्यकर्ता र नेतृत्वको असन्तुष्टिलाई सम्वोधन गरिएको भए पनि यो स्तरको हारमा नेकपा खुम्चिनुपर्ने थिएन ।

हामी पूर्व एमाले वा पूर्व माओवादी भन्ने अधिकाँश अगुवा नेता कार्यकर्ताको विभक्त मनोविज्ञानले जबसम्म भावनात्मक एकता र सहकार्यको परिस्थिति ल्याउँदैन, तबसम्म भक्तपुरका जस्तो चुनावी नतिजा घट्दैनन् भन्ने उदाहरण यो परिणामले सत्तारुढ नेकपालाई सिकाएकोे छ । 

उसै पनि संसदीय चरित्रको चुनावहरु पार्टीको नीति, सरकारको काम र तत् उम्मेदवारको छवि र व्यक्तित्वको कारण पनि प्रभावित हुन्छन् । राजनीतिक परिवर्तनको आन्दोलनमा आफ्नै मौलिक संघर्षपूर्ण इतिहास बनाएको भक्तपुरमा उम्मेदवार छनौटदेखि पार्टी र सरकारको असल कामको सञ्चार जनजनमा गराउन चुक्नु नै नेकपाको पराजयको कारक बन्यो । 

पूर्व माओवादीभित्रैबाट पनि भक्तपुरमा अर्का पात्र चुनावी मैदानमा उत्रेका हुन्थे भने परिणाम अर्को हुन सक्थ्यो । यसले उम्मेदवार चयन नेता विशेषको सनक र सम्बन्धका आधारमा होइन, स्थानीयता र पार्टी कार्यकर्ताको मनोभावनालाई बुझेर गर्न आवश्यक छ भन्ने सन्देश पार्टीका शीर्ष नेताहरुलाई दिएको छ ।

धरान उपमहानगरपालिकाको मेयरको निर्वाचनको परिणाम त झन् गम्भीर शिक्षा लिने प्रकृतिको छ । पञ्चायतकालदेखि वाम बर्चस्व रहेको यस नगरपालिकामा यसपटक गुम्नु मुख्यतः अहङ्कार र आन्तरिक कलहको उपज मानिएको छ ।   
यी पराजयहरुबाट जनतालाई सेवा गर्न सरकार अरु बढी क्रियाशील हुनुपर्ने, पार्टी एकता अझ व्यावहारिक र मनसँग मन मिल्ने गरी मूर्त हुनुपर्ने र आम रुपमा जनतालाई नेकपा सरकारले केही न केही गर्दैछ है भनेर जनता जागृत गराउने चुनौती सत्तारुढ नेकपा र सरकारको काँधमा थपिएको छ । 

कुनै पनि कामको परिणाममा पराजय वा असफलताको कारक र कारणहरु आफैभित्र हुन्छन । आफ्नै कमजोरी र त्रुटीहरु मूल रुपमा असफलताका मूल हुन्छन । नेकपाले भक्तपुर, धरान, चितवन लगायतका गुमेका चुनावी परिणामहरुको आलोकमा निर्मम समीक्षा गर्नुपर्ने आफैभित्रका आन्तरिक कमजोरीहरुको हो । 

भनिन्छ, जनता जर्नादन हुन । जनता सिधा परिणामको अपेक्षा गर्छन सत्तारुढ दल वा सरकारबाट । जनतालाई आफ्नो जीवन दैनिकीलाई सकारात्मक प्रभाव पार्ने सरकारी सेवा र पार्टीको साथले नै बढी तरङ्गित र आकर्षित गर्छ भन्ने चुरो कुरो नेकपाले पछिल्ला चुनावी परिणाममार्फत् सिक्नु पर्छ । 

मुलतः स्थानीय पार्टी नेतृत्वको जनतासँगको टाढिदै गएको सम्बन्धलाई पुनर्ताजगी गर्दै जनताको मनमा वास गर्ने पार्टी संस्कार अब जमीनदेखि पुनस्र्थापित गर्न सत्तारुढ नेकपा र तीनै तहका सरकार आफै सुध्रिएर अघि बढ्न आवश्यक छ । स्थानीय तहका जति पनि परिणामहरु छन्, ती स्थानीय तहका पार्टी शक्तिलाई सच्याउने साँकेतिक जनादेश हुन ।

सान्त्वना जीत

कास्कीको उपचुनावमा नेकपाको विजय, पार्टी वा सरकारको लोकप्रियताको मानक उदाहरण मान्न सकिन्न, भलै त्यो सुखद विजय हो । आफ्नो पकड क्षेत्रमा नेकपाले पुनः बाजी मार्यो, जो प्राकृतिक परिणाम हो । यो स्वाभाविक छ । त्यसमाथि रवीन्द्र अधिकारीको शोकमा उनकी जीवन सङ्गिनीलाई उम्मेदवार बनाएपछि चुनावअघि नै उनको विजय सुनिश्चित जस्तै थियो । यो भावनात्मक भोटको विजय बढी हो । यसमा सत्तारुढ नेकपा हौसिन जरुरत छैन । 

विद्यार्थीकालीन राजनीतिको लिगेसी र रवीन्द्र अधिकारीको वास्तविक उत्तराधिकारित्व लिने विद्याको प्रण नै कास्की नेकपाका विजयका आधार हुन । कास्कीमा काँग्रेस रक्षात्मक बन्नुमा उसका कमजोर प्रतिपक्षी भूमिकाको स्वाभाविक परीक्षा हो ।
यस्तै,  दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा विजयी हुनु स्वाभाविक नतिजा हो । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई पाँच हजार बढी मत अन्तरले हराउनु पार्टीको पकड कायम रहेको सन्देश हो । 


साना दललाई बाई बाई

यो उपचुनावको परिणामले अधिकाँस ठाउमा नेकपा र नेपाली कँग्रेसलाई नै अघि देखाएको छ । मुलतः प्रतिष्पर्धा नेकपा भर्सेज काँग्रेस देखिनुको अर्थ नेपाल दुई दलीय व्यवस्थामा अग्रसर छ भन्ने सन्देश पुनः दिएको छ । रवीन्द्र मिश्रको साझा पार्टी होस कि उज्ज्वल थापाको विवेकशील लगायतका नयाँ दल हुन, तिनका लागि जनताको माझमा एजेण्डा स्थापित गरेर राजनीतिक सत्ता प्राप्ति अझै सगरमाथा आरोहण सरह चुनौतीपूर्ण छ भन्ने सबक मिलेको छ । साझा र विवेकशील एकतावद्ध रहेकै भए पनि उनीहरुले यो स्तरमा बढारिनु नपर्ने हुन सक्थ्यो । तर जन्मदै फुटको शिकार भएका यी नयाँ दलहरु अब आफै पहिले सच्चिनुपर्छ भनेर मतादेशले सिकाएको छ । 

आफ्नो लालकिल्ला बनाउदै आएको भक्तपुरमा नारायणमान विजुक्छे समेत खस्कदै गएका छन् भन्ने उदाहरण पनि हो यो पटकको परिणाम । सानो दल भए पनि विजुक्छेको नेमकिपाले शक्ति बिस्तार गर्न नसक्नुले साना पार्टीहरुलाई संविधानतः राखिएको थ्रेसहोल्डले मात्रै होइन, उनीहरुका नीति, सिद्धान्त र व्यवहारले पनि जनता तत्कालै उनीहरुलाई वैकल्पिक शक्ति मान्न तयार छैनन् भन्ने देखाएको छ । 

साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले ताजा चुनावी परिणमबाट हतोत्साही भएर जनताले तमाम विकृति र काण्डैकाण्डहरुलाई अनुमोदन गरेको टिप्पणी गरेका छन । सत्तारुढ दलतिर औला उठाउदै गर्दा नेता मिश्रले तिनलाई चिर्न आफ्नो पार्टीको नीति, कर्म र शक्ति कमजोर रहेको स्वीकार गरेका छैनन् । आधा शताव्दी भन्दा लामो संघर्षको मैदानबाट उदाएका काँग्रेस वा कम्युनिष्ट शक्तिलाई सामाजिक सञ्जालहरुमार्फत गाली बर्साएर मात्रै विस्थापित गर्न सकिन्छ भन्ने मनोगत निष्कर्षका आधारमा उदाएका साझा र विवेकशील दलले अब आकाश मार्गका माद्यम सामाजिक सञ्जालमा पौरखी बनेर होइन, जनताका घर घर र बस्ती बस्ती र धर्तीमा जनताको सेवा गरेरै जनताको मन जित्ने प्रण गर्नुपर्ने पाठ सिक्नुपर्छ ।

जनतामा राजनीतिक सत्ताको विकल्पको भोक जीवित नै छ, तर त्यसका लागि साझा र विवकेशीलहरु लायक भइसकेका छैनन् भन्ने उदाहरण यो चुनावी परिणामले दिएको छ । अरु साना दलहरुले समेत अझै केही वर्ष उदाउन सम्भव छैन भन्ने सन्देश पनि यही चुनावी परिणामले सङ्केत गरेको छ । देशकै नेताको हैसियतमा रहेका पुराना, पाका वाम नेता विजुक्छेको नेमकिपा समेत अरु आक्रामक रुपमा जनता माझ जानुपर्ने मतादेशले सिकाएको छ ।

समाजवादी र राजपा, अब कता ?

राजपा वा समाजवादी दलको लागि यो चुनावी परिणाम झन् निराशाजनक छ । प्रधानमन्त्रीले विदेश भ्रमणमा रहेकै बेला मन्त्रालय परिवर्तन गरिदिदा पनि प्रधानमन्त्रीको माया सम्झेर सत्ता छोड्न नचाहने उपेन्द्र यादवको सत्तामोहप्रति जनताको कुनै चासो नरहेको सन्देश चुनावी परिणामले दिएको छ । मुलतः पूर्व माओवादीका शीर्ष नेतामध्येका एक मानिने डा. बाबुराम भट्टराई, पूर्व एमाले उपाध्यक्ष अशोक राई, उपत्यकाका रैथाने राजेन्द्र श्रेष्ठ समेतलाई नेता बनाउँदा पनि समाजवादी पार्टी अझै क्षेत्रीय दल भन्दा माथि उठ्न नसकेको संकेत यो चुनावी परिणामले  दिएको छ । संविधान अनुसार उपेन्द्र यादवले सत्तामा बसेर संविधान संशोधनको मुद्धा उठाउँदैमा जनताको हिस्सा उनको राजनीतिलाई पत्याइरहेका छैनन् भन्ने मतादेशले संकेत गरेको छ ।
राजपा अब कता ? भन्ने यक्ष सवालसहित महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र रायहरुको लामो राजनीतिक ‘करिअर’ माथि नै जनादेश प्रश्नवाचक बनिदिएको छ । राजपाको संविधान संशोधनको मागमा जनता आश्वस्त भएको भए उनीहरुले पाउने मतमा बढोत्तरी हुनु पर्ने थियो । उनीहरुको संविधान संशोधनको माग सत्ताशक्ति आर्जनको हतियार मात्रै त होइन भन्ने प्रश्न फेरि उनीहरुप्रति नै फर्किएको जनमतले देखाएको छ ।

स्वतन्त्र मधेशको वकालत गर्ने डा. सीके राउतको जनमत पार्टी त जनताका लागि सरोकारको दल नै नरहेको जनमतले देखाएको छ । सीके हावामा नेता बनाइएका थिए, जमिनमा उनको हैसियत बन्नै समय लाग्छ भन्ने सन्देश चुनावी परिणामले दिएको छ ।

मौसमी राजनीतिक मुद्धाहरुले उदाएका दलहरु जनताका बीचमा आम रुपमा स्थापित हुन समय लाग्ने मात्रै होइन, तिनले एकीकृत रुपमा जनताको मन जित्ने इमान नदेखाएसम्म तिनीहरु वैकल्पिक राष्ट्रिय दल बन्न सक्दैनन् भन्ने उदाहरण राजपा, समाजवादी र जनमत दललाई प्राप्त निराशाजनक मतादेशले देखाएको छ ।

दक्षिणपन्थको अवसान

त्यो कित्ताका अक्सर समर्थकहरु पत्याउन तयार हुदैनन् होला, तर पूर्वराजा वा राजसंस्था र हिन्दुत्वको अजेण्डालाई उछालेर सत्ताशक्तिमा उदाउन प्रयासरत दक्षिणपन्थी कित्ताका राप्रपावालाहरुको यो उपचुनावले मागी खाने झोली पुनः रित्तो पारिदिएको छ । एकातिर एकतावद्ध हुन नसक्ने, अर्कोतिर राजसंस्था वा हिन्दुत्वलाई शक्ति आर्जनको औजार मात्रै बनाउने, सिद्धान्त र निष्ठामा इमान्दार नहुने राप्रपा नामधारी दलहरु अब जनताकै मतबाट सत्तामा जान अनुमोदित हुने सम्भावना लगभग सकिएको छ । यसले उनीहरुको राजनीतिक इमानमा नै जनताको अविश्वास जारी रहेको सन्देश दिएको छ । जनता राप्रपाका ‘हेभी वेट’ नेताहरु भन्दा निकै बाठा र विवेकी छन् भन्ने देखाएको छ । 

यसको मतलव पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका परिवारका सदस्यको व्यक्तित्व जनतामाझ कमजोर हँुदै गएको अर्थ लगाउन मिल्दैन । किनभने जनभावनाको कदर गरेर आज्ञाकारी गणतन्त्रवादी नागरिक बन्ने मामलामा पूर्व राजपरिवारको भूमिका र व्यवहार जनतामाझ लोकप्रिय हुँदैछ । तर, राजसंस्था र हिन्दुत्वलाई ब्यानर बनाएर राजनीतिको रोटी सेक्ने कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीहरुको लगौंटी खुस्किएको छ । 

यसले तत्कालका लागि कम्तिमा चुनावी समरबाट नेपालमा दक्षिणपन्थ राजनीतिको उदय र चुनौती छैन भन्ने सन्देश दिएको छ । पूर्व राजपरिवारका सदस्य लोकप्रिय हँुदै जानु र तिनलाई प्लेकार्ड बनाएर राजनीति गर्नेहरु जनमतमा गिर्दै जानु फरकफरक कुरा भएकाले वर्तमान गणतन्त्र प्रतिक्रान्तिको शिकार भइहाल्छ, प्रतिगमन मुखैमा छ भन्ने आँकलन गणतन्त्रवादीहरुको मनको बाघ मात्रै हो भन्ने चुनावी मतादेशको सन्देश हो । समयबद्ध साप्ताहिकबाट