सागः डोकोले छोपेको बिरालो आखिर ‘म्याउँ’ गरिछाड्यो !

सागः डोकोले छोपेको बिरालो आखिर ‘म्याउँ’ गरिछाड्यो !

फणीन्द्र फुयाल ज्वाला

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) औपचारिक रुपमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन हुनुपूर्व नै प्याग्लाइडिङ (पोखरा) र भलिबल (काठमाडौं)का खेलहरु भने जारी थिए ।
प्रतियोगिताको दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गरिन् । करिव तीन घण्टा १५ मिनेटको उद्घाटन कार्यक्रममा सहभागी मुलुकका खेलाडीले मार्च पास गरेका थिए भने खेलाडी तथा कलाकारहरुले सातै देशको कला, संस्कृती झल्किने विविध कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालको ऐतिहासिक, भौगोलिक, साँस्कृतिक, धार्मिक, प्राकृतिक लगायत बिगत, वर्तमान र भविष्यको मार्गनिर्देशन गर्ने सन्देशसहितको झाँकि प्रस्तुत गरिएको थियो ।

प्रतियोगिताको औपचारिक सुरुआत भएको घोषणा गर्दै दशरथ रंगशालाबाट विद्यादेवी भडारीले उद्घोष गरिन्, “१३ औँ दक्षिण एसियाली खेलकुद २०१९ मा हार्दिक स्वागत गर्दछु । नेपालका तीन सहर काठमाडौ, पोखरा र जनकपुरमा हुन गइरहेको छ । म दक्षिण एसियाली खेलकुद सुरु भएको घोषणा गर्दछु ।” साँझ रंगशालाबाट यसरी उद्घोष भएलगत्तै त्यो साँझ बत्ति, पटका अनि आतिशबाजीले रंगशाला रंगिन भयो । 

काठमाडौं पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने ‘साग’ प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराखिएको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।

उद्घाटन समारोहमा करिव १७ हजार दर्शक क्षमताको दशरथ रंगशाला खचाखच भरिएको थियो ।
प्रतियोगितामा नेपालबाट ५९६, श्रीलंकाबाट ५६४, भारतबाट ४८७, बंगलादेशबाट ४७०, पाकिस्तानबाट २६६ र माल्दिभ्सबाट २१६ जना खेलाडीको सहभागित रहेको छ । त्यसैगरी भुटानबाट प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या ११६ रहेको छ । सागमा खेलाडी, रेफ्रि, अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने जनाइएको छ । सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदसय सचिव रमेश शिलवालले बताए । 

 

यस्तो छ सागको इतिहास:

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको साग नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो ।

तीन सहरमा २८ खेल

प्रतियोगितामा २८ खेल समावेश गरिएको छ । यी सबै खेल ओलम्पिकमा खेलिने खेलहरु मात्र हुन् । प्रतियोगिताका खेलहरु काठमाडौं, पोखरा र जानकपुरमा संचालन हुनेछन् । पोखरामा खेलाइने खेलहरुमा 
महिला फुटबल, महिला क्रिकेट, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल छन् भने जनकपुरमा कुस्ती खेल संचालन हुने छ । बाँकी खेलहरु भने काठमाडौंको त्रिपुरेश्वर, कीर्तिपुर, ललितपुरको सातदोबाटो र लगनखेलमा संचालन हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कति पदक ?

१३औँ सागका लागि ३२४ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत र ४८७ वटा कास्य पदक गरी कूल ११३५ पदकका लागि भिडन्त हुने छ । नेपालले यो प्रतियोगीतामा कम्तिमा पनि दोस्रो स्थान हासिल गर्ने दाबी गरेको राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

खेलकुदले जोड्दै पर्यटन

सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागलाई हेरिएको छ । काठमाडौं, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्माको भनाई छ ।

शान्ति, समृद्धि र एकताको प्रतिक ‘साग’

दक्षिण एसियाली मुलुकको साझा समस्या भनेको गरिवी र द्घन्द्घ हो । यी सबै समस्याको समाधान गर्न एकता अपरिहार्य छ । त्यसैले यस पटकको सागको लोगोमा शान्तिको प्रतिक परेवा अंकित गरिएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने सागले दक्षिण एसियाली मुलुकहरुलाई एकजुट गराउँदै लैजाने विश्वास लिइएको छ । दक्षिण एसियाली महाद्घिपका राष्ट्रहरुको सम्पन्नता, वैभव, र समृद्धि देखाउने अवसरका रुपमा पनि सागलाई लिने गरिन्छ । 

मस्कटमा कृष्णसार  

यस पटकको सागको मस्कटमा लोपोन्मुख जनावर कृष्णसार प्रयोग गरिएको छ । कृष्णसार नेपालको बाँके र बर्दियामा पाइने एक स्तन्धारी जनावर हो ।
प्रतियोगिता आयोजना गर्न यसरी तयार भयो नेपाल

प्रतियोगिताको अघिल्लो संस्करण, अर्थात १२ औँ साग भारतमा भएको थियो । सन् २०१६मा भारतको गुहवटी र सिलोङबाट आयोजनाको झण्डा नेपालले बोकेको थियो । तीन पटक मिति घोषणा गर्दे र सार्दै गरेपछि बल्ल नेपाल यतिबेला प्रतियोगिता गर्न तयार भएको हो । प्रतियोगिता संचालनका लागि नेपालले करिब चार अर्ब रुपैयाँ खर्च गरेको छ ।

भुकम्पले भत्काएका संरचना टालटुल

खेलकुदका संरचनाहरु ‘काम हुन्जेल भाँडो, काम सक्किएपछि ठाँडो’ भन्ने नेपाली पौराणिक उखानसँग चरितार्थ हुने गरेका छन् । चार वर्ष अघिको महाभुकम्पले भत्काएका संरचनाहरु रातारात टालटुल पारेर ‘अड्को पड्को तेलको धूप’ शैलिमा साग प्रतियोगिता संचालन गरिएको छ । यसरी कमसल सामाग्रीहरु प्रयोग गरेर रातारात बनाइएका संरचनाहरु प्रतियोगिता हुँदै गर्दा र सकिए लगत्तै भत्किने र पुनः अर्को पटक संचालन र प्रयोग गर्न मिल्ने हुन् कि होइनन् त्यो भने निकै सोचनीय विषय बनेको छ ।

‘बाहिर बोक्रो भित्र खोक्रो’ शैली

साग प्रतियोगिताको जानकारी र तयारीका बारेमा मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्ले भित्री तयारी खोक्रो भएपनि बाहिर भने तडक भडक, रमझम र झल्याकझुलुक शैली अपनाएको छ । सार्क राष्ट्रका खेलाडी, अफिसिल र रेफ्रिहरु भित्रिने मूल बाटोघाटो, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्र, नयाँ बानेश्वर, सातदोबाटो, तीनकुने, त्रिपुरेश्वर, जावलाखेल, लगनखेल, कुपण्डोल, क्षेत्रका सडक र बिद्युतका पोलहरुमा सागको लोगो, मस्कट र ती देशका झण्डाहरु अंकित पोष्टर र ब्यानरहरु टाँगेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भलिभल खेल संचालन भइरहँदा रंगशाला र कभर्डहल बाहिर भने रातारात दुबो रोप्ने, पानी हाल्ने, रंगशालामा छानो र कुर्सीहरु राख्ने कामहरु धमाधम भइरहेका थिए । कमसल समानहरु प्रयोग गर्दा र कतिपय स्थानमा लगाइएको सिमेन्ट काँचो हुँदा त्यसले आफ्नो ठाउँ छोडेको प्रस्टै देखिन्थ्यो । यसले गर्दा असावधानीबस केही दुर्घटना निम्तिने त होइन ? यो प्रश्न खेल क्षेत्रमा व्याप्त छ ।

कसैलाई काखा कसैलाई पाखा

राखेपमा जो सदस्य सचिव वा अन्य पदाधिकारी राजनीतिक पगरी भिरेर आएपनि उसले मिडियामा गर्ने विभेद भने उस्तै छ । कथित ठूला भनिएका मिडियालाई काखा र अधिकाँश साप्ताहिक तथा अनलाईन मिडियालाई पाखा लगाइएको यसपटक सागमा गरिएको ब्यबहारबाट प्रस्ट हुन्छ । केही हुनेखाने र पहुँचवाला मिडियालाई आफ्नो कमि कमजोरी ढाकछोप गर्न मोटो रकमको विज्ञापन उपहारस्वरुप दिएपनि उनीहरुको कर्तुत र कमजोरी भने आखिर बाहिरिएरै छोड्यो । डोकोले छोपेको बिरालो आखिर ‘म्याउ’ गरिछाड्यो !