भक्तपुरमा अन्तरघात भएको होईन, परीणामबाट खुशी छौंः आनन्द पोखरेल

भक्तपुरमा अन्तरघात भएको होईन, परीणामबाट खुशी छौंः आनन्द पोखरेल

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको बताए उनले भने,‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।’

सोमबार राजधनीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘हामी यो उपनिर्वाचनको मतपरीणामबाट खुशी छौं । हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं । तर, म यो निर्वाचन परीणामबाट खुशी छु ।’ उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए । 
साक्षात्कारमा बोल्दै उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने,‘यो सरकारले भारतले मिचेको कालापनी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ । सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमी फिर्ता गर्ने अडान लिएको छ । प्रधानमन्त्रीज्यूले एक ईन्चपनि नेपालको भूमि मिच्न दिईँदैन् भन्नुभएको छ ।’

पोखरेलले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गरेको सुनाउँदै सरकारले ठूलादेखि साना सबै अपराधीलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले भने,‘सरकारले अपराधीलाई र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेको छ । १२ वर्षअघि जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाउने आलम थुनामा हुनु, बलात्कारीहरु थुनामा हुनु यसको उदाहरण हो ।’ त्यतिमात्रै नभएर न्यायिक र प्रशासनिक क्षेत्रमा पनि सरकार अत्यन्तै सफल भएको उनको दाबी छ । 

सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न लागिरहेको छ । सन् २०३० सम्म नेपाललाई दिगो विकासको लक्ष्यमा पुर्याउँछौं ।’
उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे । उनले भने,‘हामीले पूर्व, पश्चिम नभनीकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन् ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमा पनि गर्न सकिने बताए । उनले भने,‘नेपालको स्वास्थ्योपचार र चिकित्सक विश्वको कुनैपनि देशभन्दा कम छैनन् ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारे । उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह«ास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ।’

आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेकोपनि उनले सुनाए । उनले भने,‘यो निर्वाचन परीणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’
यद्धपी उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाई छ । उनले भने,‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ । कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।’

त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं । निर्वाचनको परीणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भिर र्हास हो ।’ उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि उनको टिप्पणी छ । 

काँस्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्धवारले विजयी हाँसिल गरेको उनको विश्लेषण छ । उनले भने,‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्धवारले जितेका छन्, ती ठाउँमा पनि सहानुभुति लहरका कारण उनीहरुको अनुकुल परीणाम आएको हुनसक्दछ । किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विद्यवाहरु उम्मेद्धवारको रुपमा रहिआएका थिए । त्यही भएर सहानुभुति भोट आयो ।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्धवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनको परीणामले सरकारविरुद्ध जनमत प्रकट भएको स्पष्ट पारे । उनले भने,‘समग्रमा यो उपनिर्वाचनमा नेकपाविरुद्ध जनमत प्रकट भएको देखियो । उसले भक्तपुर र धरानमा दुई महत्वपूर्ण सिट हार्यो । पोखरा र बाग्लुङमा उसको स्थिर नतिजा आयो । धरान र भक्तपुरमा चाहीँ सरकारविरुद्ध जनमत आएको हो ।’

जबराले सरकारले दुई तिहाई बहुमतको अवसरलाई खेर फालेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार बनेको झण्डै दुई वर्ष भयो । तर, यसलाई यो अवधिमा तौलने हो भने राजनीतिक रुपमा सफल भएको छ । तर, विकास र समृद्धिको हिसाबमा असफल भएको छ । वर्तमान प्रधानमन्त्री ओलीजी पनि राजनीतिक रुपमा सफल हो । तर, विकास र समृद्धिको हिसाबमा असफल हुनुभयो । उहाँले दुई तिहाई बहुमत खेर फाल्नुभयो । उहाँले ऐतिहासिक मौकाको सदुपयोग गर्न सक्नुभएन् ।’ सरकार विकास र प्रशासनिक रुपमा पुरै असफल भएको उनको आरोप छ । 

जबराले मुलुकलाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापित गर्नको लागि देशव्यापी रुपमा सही छाप (हस्ताक्षर) गर्ने आफूहरुको तयारी रहेको पनि सुनाए । उनले भने,‘देशभरि हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाउँछौं ।’
उनले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने आफूहरुको अठोट रहेको सुनाए । उनले भने,‘यो मुलुकलाई हिन्दूराष्ट्र बनाएरै छोड्छौं । यो अभियानमा हामी सम्पन्न गर्छौं ।’

राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले मंसिर १५ गतेको उपनिर्वाचन धाँधलीरहित रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय र आम मतदाताहरुलाई धन्यवाद दिएकी छिन। पूर्वमन्त्रीसमेत रहेकी नेतृ चौधरीले भनिन्,‘यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । कहीँकतै धाँधली भएन् । यो खुशीको कुरा हो । म निर्वाचन आयोगलगायत सम्बन्धित सबै निकायलाई यहाँबाट धन्यवाद दिन चाहन्छु ।’

निर्वाचनमा हार÷जित हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । चौधरीले भनिन्,‘लोकतान्त्रिक देशमा निर्वाचनमा हार र जित हुनु स्वभाविक हो ।’ उनले कांस्की क्षेत्र नम्बर २ मा संघीय संसदको लागि भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराईले जितेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्,‘विद्याजीप्रति हाम्रो सहानुभुति थियो । उहाँले जित्नुपर्छ भन्ने नै हाम्रो चाहना थियो । नतिजा त्यही आयो, यो खुशीको कुरा हो ।’

केन्द्रमामात्रै नेकपा र कांग्रेसबीच सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध रहेको बताउँदै उनले यो पटकको उपनिर्वाचनमा कतिपय ठाउँमा दुवै पार्टी मिलेको पनि टिप्पणी गरिन् । उनले भनिन्,‘महोत्तरीमा त कांग्रेस र नेकपाबीच आन्तरिक एकता देखियो । पिपरा गाउँपालिकामा त्यही देखियो । उहाँहरु जसरीपनि मधेशवादी दललाई हराउनैपर्छ भनेर लाग्नुभयो ।’

चौधरीले महोत्तरीको कतिपय वडामा कांग्रेसको पकड रहेको क्षेत्रमा पनि नसोचेको मत खसेको सुनाईन् । उनले भनिन्,‘जबकी पिपरा गाउँपालिका भनेको कांग्रेसको पकड क्षेत्र हो । त्यहाँ रामचन्द्र तिवारी, हरिशंक मिश्राजस्ता हस्तीहरु छन् । पिपरा गाउँपालिकामा कांग्रेसको १९ सयको हाराहारीमा मत खसेको छ । सोही गाउँपालिकाको वडा नम्बर ६ मा त कांग्रेसको जम्मा २४ मत खसेको छ । यो विश्वास गर्ने मत नै होईन् । जबकी यो क्षेत्र कांग्रेसका गढ मानिन्छ ।’

नेतृ चौधरीले उपनिर्वाचनमा राजपा र समाजवादी पार्टीले चुनावी गढबन्धन नबनाएकोमा भने असन्तुष्टि पोखिन् । उनले भनिन्,‘यसअघि भएको प्रदेश र संघको निर्वाचनमा शीर्ष नेताहरुले चुनावी गठबन्धन गर्नुभयो । तर, स्थानीय तहको निर्वाचन भनेर हो कि किन हो ? उहाँहरुले गठबन्धन वा तालमेल गर्नुभएन् । यो दुःखद् छ । पार्टी त हिजोपनि एकता थिएन, त्यतिवेला त गरियो नि ।’