बलात्कार आरोपी सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश 

बलात्कार आरोपी सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश 


सुनसरी, १६ मंसिर । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुसन्धानका लागि चार दिन थुनमा राख्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ। अदालतले उनलाई बलात्कारको आरोपमा अनुसन्धान गर्न सोमबार पहिलो पटक प्रहरीलाई अनुमति दिएको हो।
विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा उनलाई सोमबार बिहान चार बजे पक्राउ गरिएको थियो। सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धानको लागि म्याद थप गर्न अदालत पेस गरेको थियो।

अदालतबाट पक्राउ पूर्जि लिएपछि विरामी भएको बाहानामा उनी अस्पताल भर्ना भएका थिए। सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। महिलाको उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थियो।