धरानको प्रमुखमा तिलक राई विजयी

धरानको प्रमुखमा तिलक राई विजयी

धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याए । निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ । 

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हारेका राईले यस उपनिर्वाचनमा  दुई हजार ७९५ मतान्तरमा विजयी भएका हुन् । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताए । 

जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताए । 

गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेका थिए । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध थिए । पार्टीको नगरसचिव हुँदै १३औँ महाअधिवेशनपछि उनी धरान नगर सभापतिसमेत बनेका थिए ।