प्रदेश सरकारको विदाको अवज्ञा

प्रदेश सरकारको विदाको अवज्ञा

सप्तरी । प्रदेश २ सरकारले आईतबार विवाह पञ्चमीको अवसर पारेर घोषणा गरेको सार्वजनिक विदाको अवज्ञा गर्दै यहाँ स्थित सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु खुलेका थिए। 

स्थानिय तहका कार्यालयहरुले भने विदाको पालना गरेको पाईएको छ । सरकारी कार्यँलय तथा बैंक एवम वित्तिय संस्थाहरुले प्रदेश २ सरकारले विदाको घोषणा गरेपनि केन्द्रबाट संचालन गर्नु भन्ने निर्देशन दिएकाले संचालनमा ल्याएको लाचारी व्यक्त गरेका छन् । 

संघिय (केन्द्र) सरकार मातहतका कार्यालयसँगै निजी तथा सरकारी वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुल्ला रहेका छन  । बैंक तथा वित्तिय संस्थाका प्रमुहरुले राष्ट्रिय बैंकको निर्देशन अनुसार मात्र विदा मान्नु पर्ने भएको तथा आईतबार बन्द गर्ने सन्दर्भमा अनुमति नपाएकाले संचालनमा ल्याएको बताएका छन् । 

प्रदेश सरकारले गरेको विदाको वेवास्ता गर्दै कार्यालय संचालनमा ल्याउनु संघियता कमजोर बनाउने खेल भएको प्रदेश २ मा सत्तासिन दलका स्थानिय नेताहरुले आरोप लगाएका छन् । 

कार्यालयहरु खुलेपनि सर्वसाधारणको उपस्थिति भने न्युन देखिएको थियो । प्रदेश सरकारले विदा दिएकाले कार्यालयहरु बन्द होला भन्ने ठानेर सर्वसाधारण नआउँदा अधिकांश कार्यालय सुनसान देखिएको थियो ।