पतिले ८ मतले हराएको उम्मेदवारलाई पत्नीले ११ मतले हराइन्

पतिले ८ मतले हराएको उम्मेदवारलाई पत्नीले ११ मतले हराइन्

सप्तरी । गत स्थानिय निर्वाचनमा प्रभाकर यादवसँग ८ मतले पराजित अच्छेलाल यस पटक भने उनकै पत्नी प्रमीला यादवसँग ११ मतले पराजित भएका छन् । 

भरखरै घोषित परिणाम अनुसार प्रमिलाले ५ सय ४० मत ल्याउँदा फेरी पनि निकटतम प्रतिद्वन्दी मै सिमित भएका अच्छेलालले ५ सय २९ मत पाएका थिए  ।     

राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको छिन्नमस्ता ७ को वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रिक्त पदमा प्रभाकरकै धर्मपत्नी प्रमिलालाई समाजवादी पार्टी समेतको समर्थनमा राजपाले उम्मदेवार बनाउँदा अच्छेलाल भने यस पटक नेकपाबाट उम्मेदवार रहेका थिए ।

चुनावी मैदानमा १ स्वतन्त्र गरी विभिन्न दलका गरी ७ जना उम्मदेवार थिए । घोषित परिमाण अनुसार राजपाकी प्रमिला र नेकपाका अच्छेलाल बाहेक अन्य कसैको पनि जमानत (धरोटी) बच्न सकेन । 

नेपाली काँग्रेसका शिव नारायण मण्डलले १५ र शान्तिपूर्ण राजनितिमा आएपछि पहिलो पल्ट निर्वाचनमा भाग लिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादवले ११ मत मात्र ल्याएर जनमत गुमाए । 

यस्तै राप्रपाका गजेन्द्र मण्डल २, नेपाल लोकतान्त्रिक पार्टीका सकलदेव साह २ र स्वतन्त्र उम्मेदवार नुर हुसन मंसुरीले पनि १ मत मात्र प्राप्त गरी जमानत गुमाएको  छ । जितपछि राजपाले आईतबार विहानै छिन्नमस्ता गाउँपालिकामा अबिर जुलुश गरेर जितको खुशी बाडेका छन् । 

कुल १ हजार ४ सय ३ मतदाता रहेकोमा १ हजार १ सय १४ मत खसेको थियो । जसमध्ये १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।