३७ जिल्लाका ५३७ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान हुँदै

३७ जिल्लाका ५३७ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान हुँदै

काठमाण्डौ, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

मतदानका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन निर्वाचन आयोगले सबैसँग आग्रह गरेको छ । आयोगले बिहीबार र शुक्रबार सबै मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरे पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन आयोगले सबै मतदान अधिकृतलाई निर्देशन दिएको छ ।
यी हुन् आज चुनाव हुने ५२ स्थान
निर्वाचन कानुनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अरु कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिँदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढंगबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

उपचुनाव हुने क्षेत्रमा एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका अधिकारीबाट स्वीकृत सवारी पास पाएकाबाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको छ ।

२०७४ सालको को चुनावमा विजयी जनप्रतिनिधिको मृत्यु, राजीनामा, कारबाही र अरु कारणले पद रिक्त भएकाले ५२ ठाउँमा आज मतदान सुरु भएको हो ।