सौताको रिसले पोइको खुट्टो चैट !

सौताको रिसले पोइको खुट्टो चैट !

साइँला भाइ

सौताको रिसले पोइको काख विगारेको तुक्का त सुनि ल्याइएकै हो । तर, सौताको रिसले पोइको खुट्टो भाँचेको कथा भने नौलो हो । उनै विश्वप्रकाशले यो कथालाई नयाँ ढाँचामा कथेर दूनिया दिवाना गराए ।

कथा अनुसार एकादेशमा एक जना मानिसको दूइटी श्रीमती रहेछन । दूवै सौता अचाक्ली झगडालु रहेछन् । एकदिन लोग्नेले दुवैलाई धनसम्पत्ति अंशबण्डा गराएर छुट्याइ दिएछन् । आफुलाई स्याहार सुसार गर्न पनि शरीरका अंगप्रत्यंग बाँडफाँड गरिदिएछन् । जस अनुसार दाहिने खुट्टोमा तेल लगाउने जिम्मा जेठीको र देब्रे खुट्टो मालिस गर्ने जिम्मा कान्छीको भागमा परेछ ।

यसरी नै दिन वित्दै गएको थियो । एक दिन अचानक जेठीको माइत जाने काम परेर हिँडिछ । उनी गएदेखि दाहिने खुट्टोमा तेल मालिस गर्ने काम रोकिएछ । एक दिनको कुरो हो । बुढाले दाहिने खुट्टो मालिस गर्न कान्छिलाई अह्राएछन । तर कान्छिले जेठीको खुट्टो मालिस गर्ने कुरा त परै जाओस चिर्पटले हिर्काएर जेठीको अंशभागमा परेको दाहिने खुट्टो भचाँइ दिइछ ।

उता माइतिबाट जेठी आएर हेर्दा आफ्नो भागको दाहिने खुट्टो भाँचिदिएको झोँकमा उनले पनि कान्छिको अंश भागमा परेको देब्रे खुट्टो पनि भाँचि दिइछ । यसरी सौताको कारण बुढा थला परेछन ।
यो प्रसंग शर्माले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विप्लव नेतृत्वको नेकपाको लडाँइ सौताको लडाइले बुढा थला परेझै कम्युनिस्ट सिद्धिदै गएको अर्थमा भने । तर उपस्थित स्रोताहरुले यो कथालाई सत्तापक्ष र प्रतिपक्षको लडाँइले लोकतन्त्र नै घाइते हुने अर्थमा बुझे । आखिर कथाको सार त्यस्तै हुने होइन र ?