सिक्किमीकरणको यात्रामा नेपाली सम्प्रभूता

सिक्किमीकरणको यात्रामा नेपाली सम्प्रभूता

कृष्णबहादुर बुढाथोकी

यतिबेला देश दुखेको छ, हिमाल, पहाड, मधेश यत्रतत्र सर्वत्र चिन्ता चर्चा र आक्रोसको आगो बलेको छ । तर नेपाल सरकार बोल्नका लागि आइतबार कुरिरहेको छ । जनताले राष्ट्रियता बचाउ भन्दा प्रहरीको लर्काे लगाएर धरपकड गरेको छ । घस्याक घुसुक दुले चोरले पीठो चोरेजस्तो सिमानाका जङ्गे पिलर चोर्ने र सार्ने काम गरेको थियो छिमेकीले, नेपाल सरकार हुँ भन्नेहरुले दयाले हो वा भयले हो मुख खोलेका थिएनन् । बेलुका नेपालमा सुतेका जनता बिहान उठ्दा भारतमा हुन्थे । नेपालीका हातमा लालपुर्जा भएपनि जमिन भारततिर हुन्थ्यो ।

जनताले गुनासो गरे सरकारले सहिदिनु भनी मौन आदेश फर्मान गथ्र्यो । यस्तै नियतिमा नेपालको सरकार र प्रशासनले लाचारीपन देखाएको बेलामा नेपाल सरकारका मन्त्रीहरुको मन्त्रालयमा हाल भारतले हडपेको भूमि नभएको मानचित्र टाँसेर छिमेकीको मनोबल बढाएको समाचार आयो । सामान्य बिरोध भएपछि ती नक्साहरु सुरुवालको ईंजारतिर लुकाएर घटना सामसुम बनाइयो । भारतले कश्मिरको स्वतन्त्रता लुट्दा विभजित मनसिकताको मौनता साँधियो । क्रमिकरुपले सुस्ता, कालापानी, पशुपतिनगर आदि नेपाली भूमिको अस्मिता लुटिदा रमिते बनेका हामी गोर्खालीका सन्तान गौतमबुद्ध भयौं । हाम्रो बर्कत नापेर तल्लाघरे महाजनले कालापनी, लिपुलेक र लिम्पियाधुरामा धावा बोलेको छ ।  

यस सङकटापन्न अवस्थामा नेपाल सरकार र देशमा आफूलाई बाघ सम्झिने दलहरु टाङमुनि पुच्छर लुकाएर बस्नु र देशको सिमा मिचिनु सार्वभौम राष्ट्रको अपमान हो भनेर आवाज उठाउने नेपालीलाई उल्टै धरपकड गर्न ताम्सिनले दल र सरकारको वदनियत हो कि भनेर शङ्का गर्ने ठाउँ प्रशस्त रहेको छ । सबभन्दा पहिले आफ्नै भूमि नभएको नक्सा मन्त्रालयले बनाउनु, सामान्य विरोधका बाबाजुद ती नक्सा लुकाइनु, भारत सरकारसँग खुलेर सिमा विवादमा छलफल गर्न नसक्नु, एउटा अबोध बालकले झैं हाम्रो पालामा होइन पहिले नै यो काम भएको भनेर पन्सिन खोज्नु, फणिन्द्र नेपालले १९५० को सन्धीमुताविक भारतले मिचेको  साठीहजार हेक्टर भूमि फिर्ता गर्न राष्ट्र संघमा जान पर्दछ भन्दा नेपाल सरकार र दलहरु नमान्नु, जनआक्रोस साम्य बनाउन प्रहरी परिचालन गर्नु,कर्मकाण्डीको रुपमा सर्वदलीय नामको हुल जम्मा गरेर जनताका आँखामा छारो हाल्नु, समिा विवादको विषयमा कुनै चिन्ता र चासो नगर्नु जस्ता परिवेशले सरकार र दलको भित्रि मिलेमतो भएको अड्कल गर्न सकिन्छ । 
अझ गम्भिर र दुःखदायी विषय त्यो छकि देशको सिमाको विषयमा संवेदनशील भएर गतिविधि बढाउन पर्ने समयमा सर्पले निलिरहेको भ्यागुताले झिंगा खान खोजिरहे जस्तो सरकारले प्रदेश प्रमुख, मन्त्री, मुख्य मन्त्री र सल्लाहकार वा सचिवालय सदस्यहरु प्रिवर्तनको नौटङ्की प्रदर्शनमा समय खर्च गर्दै छ भने दलहरु जात, धर्म ,क्षेत्र र भाषका आधारमा राज्यको नाम राख्नको लागि लविङमा लागेका छन् । सरकारका कानुनी सल्लाहकार ( महान्यायधिवक्ता ) र नेपाल वारका अधयक्ष समेत भएका कानुनविदहरु भट्टीमा जिउँदै मान्छे जलाउने कुख्यात अपराधीलाई कानुनको लेप लगाएर चोख्याउन आलमको दैलोमा झोली थाप्न पुगेका छन ।

सरकारको चौथो अङ्ग भनिने पत्रकारले मन्त्रालयमा विवादित नेपालको नक्सा कसरी आयो भनी पछिल्लो समय सिमा विवाद उत्कर्षमा पुग्दासमेत बाहिर चर्चा गर्न सकेका छैनन् । “कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझैं देशमा ग्रहण लागेको बेलामा सबैको ध्यान सिमातिर जानुपर्ने भएपनि सबैले आ-आफ्ना ढोलक बजाएर जनता अल्मल्याउन खोजेको देख्दा देश बन्धकमा परिसकेको भान हुन्छ । सबै दल र दलका नेताको आन्तरिक सहमतिमा विवादित भुभागको खोजी नगर्ने सहमति जुटेको हुनसक्छ । यी परिघटनाको मिहिन सर्जरी गर्दा सन १९७५ मा सिक्किम भारतमा विलय हुँदाको परिवेशसँग मिल्न पुगेको देखिन्छ भने नेताहरु लेण्डुप दोर्जे हुन खोजेको महसुस हुन्छ ।

स्वतन्त्र सिक्किमको सार्वभौमिकता बलात्कार गर्न जुन अस्त्र प्रयोग भयो र अभ्यास भयो हाल नेपालमा पनि यही अस्त्र र अभ्याको प्रयोग भएको देखिन्छ । सिक्किमका राजा चोग्याल नाम्देलबाट काजी पद पाएका लेण्डुप दोर्जेलाई उचालेर “सिक्किम प्रजामण्डल” नामक पार्टी गठन गराएर नेहरुको सम्पर्कमा ल्याइयो । पछि स्टेट कांग्रेस बनाइयो । दोर्जेलाई मख्ख पारेर जातिय र साम्प्रदायिक हिंसा भड्काइयो । लेप्चा, भोटे र नेपाली भाषीविचमा अविश्वास पैदा गराएर जातिय द्वन्द्व र अस्थिरता बढाइदियो । १९४९ मे दिवसको दिनबाट सिक्किमका दलहरुले आन्दोलन थाले । चलाकीपूर्ण तरिकाले सम्झौता गरायो भारतले । भारतको चलाखी बुझेर सिक्किमका प्रबुद्ध वर्गले बिरोध गरे । यस वर्गलाई निस्तेज पार्न नरबहादुर भण्डारी, र लेण्डुपलाई उचालेर प्रबुद्ध वर्गलाई निस्तेज बनाइयो ।

आन्दोलनको साहारले लेण्डुपले आजीवन शासक बन्ने दिवास्वप्ना देखेर ४ अप्रिल १९७३ मा नाम्ची, गान्तोक, मागन र गेजिङ गरी चार जिल्लाको स्वतन्त्रताको माग गरे, गर्न लगाइयो । यसै जगमा टेकेर सिक्किम सुरक्षाको वहाना बनाएर भारतीय सेना र सि.आर.पी उठाएर लेण्डुप र राजविचमा राजतन्त्र रहने आश्वासन देखाएर सम्झौता गराइयो । यही मौकामा वि.एस दासको अगुवाइमा एक टोली सिक्किम पठाएर निर्वाचन गराउने नाटक रचियो । नेपाली भाषिकाा लागि १५, लेप्चा, भोटेका लागि १५, दलित १ र लामा १ गरी ३२ सिटमा विभाजन गरियो । यस पटकको चुनावमा लेण्डुपको पार्टीले ३२ मध्ये ८ सिटमा विजय पायो । धाँधली भएको बहानामा सन १९७४ मा पुनः भारतीय सेनाको निर्देशनमा एकलौटी चुनाव गराएर ३२ मध्ये ३१ सिट जिताइयो । अप्रिल ४, १९७५,(२०३२ जेठ २) मा विधान सभाको बैठकमा भारतमा विलय हुने प्रस्ताव राखेर विलय गराइयो । 

वस्तवमा यो घटनाको विश्लेषण गर्दा आज नेपालमा पनि मिल्दोजुल्दो परिवेश सिर्जना भएको छ । राजतन्त्र फालिनु, सिक्किममा चार जिल्ला मागेर आन्दोलन भएजस्तो नेपालमा पनि स्वतन्त्र मधेस र जातीय स्वशासनको माग राखेर   विद्रोह गराउनु, बेलाबखत राजा र दलहरुविच, दल र विद्रोही दलविच सम्झौता गराउनु, नेपाली भाषी, लेप्चा, भोेटेलाई उचाले झैं नेपालीहरुमा जात, धर्म र क्षेत्रका आधारमा गणराज्य बनाउन उक्साउनु, आन्दोलन गराउनु, संविधान जारी गर्दा अवरोध गरी मान्यता नदिनु, बौद्धिक जमातमा विखण्डन गरी द्वन्द्व गराउने काम प्रशस्त भएका छन् । नरबहादुर भण्डारी र लेण्डुप दोर्जे जस्ता खल पात्रहरु जन्माउन लैन चौरमा महङ्गो कोक्टेल पाटीैको आयोजना गर्न समेत पछि परेको छैन । आफ्नै सक्रियतामा फालेको राजा फर्काउने त्रास देखाएर दलहरुलाई कब्जा गर्न खोजेको देखिन्छ, जसरी सिक्किममा राजा राख्ने आश्वासन दिएको थियो । यी परिघटना सिक्किमको परिघटनासँग मेल खान्छन् ।

अर्को त्रासदीपूर्ण पक्ष हो, सेना प्रवेश । जसरी सिक्किममा जातिय आन्दोलन गराउँदै राजालाई सहयोग गर्ने नाममा सेना छिरायो त्यो अवस्था नेपालमा पनि तयार गर्न खोजेको थियो । मधेश आन्दोलन चर्काएर अशान्त बनाउन पहल गरेकै हो तर समयमा व्यवस्थापन भयो । त्यो योजना असफल भयो । १९ जना किशोर किशोरीलाई विभत्स किसिमले हत्या गरेको घटना सामसुम पारेर उसको दाउ असफल बनाउन नेपाली नेता सफल भए । अहिले सिमा विवाद झिकेर निहु खोज्ने र सिमा सुरक्षाको बहानामा नेपाभित्र सेना छिराउने मौका खोजेको देखिन्छ । यहाँ आश्वासनको पोको बोकेर लेण्डुप दोर्जे बन्ने कोशिस गर्नेहरुले सोच्ने बेला आएको छ । देश रहे जात, धर्म, क्षेत्र रहन्छ । 

दिल्ली छिर्नेवित्तिकै रातो कार्पेट ओछ्याएर भव्य स्वागत पाउने दोर्जे, ३२ मध्ये ३१ सिट जिताइने दोर्जे, आजीवन मुख्यमन्त्री बनाउने शर्त जितेको दोर्जे अन्तमा “आफ्नो देशलाई गद्दार गर्न सक्ने गद्दारीले धोका दिनसक्छ” भनी भारतीय शासककै निर्देशनमा सन १९७९ को आम निर्वाचनमा लज्जास्पद हार बिहोर्न विवश भए । दिल्लीका नेता भेट्न साता कुर्नुपर्ने भयो । आफूलाई फसाएको भेउ पाएपछि विक्षिप्त भई अन्तमा निगाहमा दिएको खर्साङको थोत्रो घरमा असहाय जीवन बिताउनु पर्यो। सँधै विरोधको स्वरमा बोल्दा राष्ट्रवादी भनाइन दोर्जेको कुरा उगेल्ने हाम्रा नेताहरुले हामी र हाम्रो देश दोर्जे पथमा लम्किएको नदेख्नु लज्जास्पद कुरा हो । आफ्नो घरमा आगो लगाएर अरुको पिंढीमा बस्न जानेहरुको हविगत दोर्जे पथले देखाएको छ । 

नेपाली भुमि होस् वा राजनीति छिमेकीको इशारामा चल्नु दुर्भाग्य हो । शासकले प्रभू सत्ताको संरक्षण गर्न तिघ्रा कमाउन लाज मर्दो कुरा हो  । जनताले सिमा मिचियो भन्दा धरपकड गर्नु दासताको पहिचान हो । यो दासताले कुनै दिन निगाहको गाँसमा चित्त बुझाउन बाध्य हुने समय पनि आउन सक्छ । सानो स्वार्थले भोलिको पुस्ता पहिचान विहिन, राज्य विहिन नबनोस् । सिंहदरबारलाई संसार मानेर बालुवाटारको कुर्सीमा र्याल चुहाउने बेला होइन यो सुस्ताको घाउमा खाटा बसाउने, लिपुलेक र लिम्पियाधुरामा चन्द्रसूर्याङ्कित ध्वजा फहराउने बेला हो । कुनै पात्र परिवर्तनको समय होइन कि प्रवृत्ति फेर्ने बेला हो । लचकदार सोफामा बसेर चिच्याउने भन्दा सामरिक र कुटनैतिक किसिमले समस्याको हल गर्ने बेला हो ।

जनता केही समय चिच्याउँछन्, थाक्छन्, हामी हाम्रो पेशामा असर हुने कुरा गर्दैनौं । त्यति जमिन भारतले मिचोस् तर हामीमाथि वक्र दृष्टि नराखोस् भनेर सरकार र दलहरु चुप लाग्नु सबैका लागि दुर्भाग्य हुन्छ । समयमै विवेक पु¥याएर लेण्डुप हुनबाट जोगिन र नेपाली जनतालाई सँधै नेपाली भइरहने सौभाग्य प्रदान गर्न लेण्डुपबाट सिक्न जरुरी छ भने सिंहदरबारको सत्तामा होइन नेपाली संप्रभूतामा ध्यान दिन आवश्यक छ । समयमा विवेक नपुगे नेपाली जनताको राष्ट्रिया लुटिने समय ढोकामा आएको छ । गोर्खाली राष्ट्रियता नेपाली हुँदै सिक्किमीकरणको ओरालो लागेको छ । समयबद्ध साप्ताहिकबाट

खोटाङ, हाल काठमाडौ