घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीमा गडबढी: किसानको रकम, हाकिमको हजम !

घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीमा गडबढी: किसानको रकम, हाकिमको हजम !

प्रेम दाहाल

सिन्धुली । सरकारले किसान लक्षित विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ, तर किसानलाई अनुदान दिने निकायनैं किसानलाई दिने अनुदान आफैं हजम गर्छन् भन्ने सुन्दा तपाई आश्चर्यमा पर्नुहुन्छ । किसानलाई दिइने अनुदान दुरुपयोग भएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला सिन्धुली जिल्लामा किसान लक्षित सरकारी लगानी बालुवामा पानी हाले सरह भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीबाट आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा किसानहरुको मागमा आधारित ८० प्रतिशत मेशिनरी औजार उपकरण खरिदमा तत्कालिन कार्यालय प्रमुख माधव काफ्लेले भ्याट वापतको रकम सबै किसानसँग असुलेर हजम गरेको तथ्य फेला परेको छ ।

घरेलु कार्यालय स्रोतले दिएको जानकारी अनुसार किसानलाई दिइएको मेशिनरी औजार उपकरणको विलमै ‘भ्याट इन्क्लुड’ हुने भएकाले थप रकम लिन नहुने थियो । तर, कार्यालय प्रमुख काफ्ले आफैंले रसिद काटेर किसानहरुसँग रकम असुली गरेका थिए । अघिल्लो आर्थिक वर्षमा वितरित १ दर्जन बढी मेशिनरी औजार उपकरण गर्दा किसानहरुबाट काफ्लेले मोटै रकम असुली गरेको देखिएको छ । 

अघिल्लो आर्थिक वर्षमा घरेलु कार्यालयका सेवाग्राही किसानहरुले राज्यबाट प्राप्त गरेको ८० प्रतिशत अनुदान कार्यक्रमबाट आफुहरु ठगिएको महसुश गर्दै समयवद्ध साप्ताहिकलाई कार्यालय प्रमुख काफ्लेले भ्याट वापतको रकम तिरेको विल बुझाएका छन् । उनीहरुले बुझाएको बिलमा ८० हजार पर्ने एउटा मेसिनको भ्याट वापत भन्दै ११ हजार तीन सय र जम्मा २२ हजार ६ सय रुपैयाँ बुझिलिएको देखिएको छ । २०७६ असार २२ गते घरेलु तथा साना उद्योग विकास समिति, शाखा कार्यालय सिन्धुली, रसिद नं. २६७६ बाट २२ हजार ६ सय रुपैयाँ भ्याट बापत असुली गरेको देखिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका तत्कालिन प्रमुख माधव काफ्लेले आफ्नो कार्यकालमा त्यस प्रकारको गलत काम नभएको जिकिर गरेका छन् । उनले अघिल्लो किसानबाट गैरकानूनी रुपमा रकम असुली नगरेको दावी गरे । तपाई आफैंले किसानबाट भ्याट बापतको रकम भन्दै अवैध रुपमा रकम लिनुभएको रहेछ नि ? भन्ने प्रश्नमा उनले भने– ‘मलाई त्यस विषयमा केही पनि थाहा छैन, लेखापाल राजन काफ्लेलाई सोध्नु होला ।’ सिन्धुलीबाट सरुवा भई विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा पुगेका उनले टेलिफोन कुराकानीमा अनुदानका मेशिनरी उपकरण खरिदमा कुनै पनि अनियमितता नभएको र आफु सरुवा भइसकेकाले त्यसको जिम्मेवारी पनि आफ्नो नभएको दबी गरेका छन् ।  

यसैबीच घरेलु तथा साना उद्योग कार्यालयका लेखा प्रमुख रहेका राजन काफ्लेले कार्यसम्पादनका क्रममा गल्ती र कमजोरी भएको स्वीकार गरेका छन् । उनले किसानबाट केही रकम बढी आएको कुरा आफुल तत्कालिन हाकिमसँग भनेको र  यो रकम उनले फिर्ता गर्ने बताए । उनले हाकिमका तर्फबाट बिगतमा कमजोरी भएको र त्यसलाई समयमैं औंल्याएको हुँदा त्यसको सम्पूर्ण जिम्मेवारी रसिद काटेर लिने व्यक्तिलेनैं लिनुपर्ने बताए । उनले अगाडि भने, ‘हाकिमको बुझाईमा कमजोरी भएकाले यो समस्या सिर्जना भएको हो ।’

घरेलु तथा साना उद्योग कार्यालयका एक कर्मचारीका अनुसार, तत्कालिन कार्यालय प्रमुख काफ्लेले लेखापाल र एक जना थापा थरका महिला कर्मचारीलाई हात लिएर सबै काम गरेका थिए । अनुदानका कार्यक्रम सञ्चालन गर्ने क्रममा कार्यालय प्रमुख काफ्लेले कार्यालयका अन्य कर्मचारीलाई कुनै पनि जानकारी नगराई किसानहरुबाट रकम लिएर हजम गरेको कार्यरत कर्मचारीहरु बताउने गर्छन् ।

उनीहरुका अनुसार किसानहरुबाट भ्याटका नाममा गैर कानूनी रुपमा आफैंले रसिद काटेर रकम असुली गरेपछि अहिले पनि ती किसानहरु आफुहरु ठगिएको भन्दै रसिद बोकेर कार्यालयमा आउने गरेको उनीहरुको भनाई छ । तर को को किसाहरु आए भन्ने प्रश्नमा उनीहरुले ‘आफ्नै कार्यालयको बद्नाम हुन्छ, के भन्नु’ भन्दै पन्छिए । समाचार स्रोतका अनुसार कार्यालय प्रमुख काफ्लेकै कारण रंजितकार इन्टर प्राइजेजले अहिले पनि एक जना कृषकलाई मेशिनरी सामान उपलव्ध नगराएको बुझिएको छ ।  
यसैबीच प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोनले अघिल्लो आर्थिक वर्षमा वितरण गरेका मेशिनरी औजार उपकरण किसानलाई वितरण गरेको अभियनय गरेर बिक्रेता श्रेष्ठ ट्रेडर्समैं फिर्ता गरिएका थिए । ती मेशिनरी उपकरण लगायत अन्य विषयमा अनियमितता भएको भन्दै अख्तियारले तत्कालिन कार्यालयका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानवीन थालेको छ भने त्यस बेला कार्यालय प्रमुख ललनसिंह र लेखापाल शम्भु श्रेष्ठ थिए । समयबद्ध साप्ताहिकबाट