पूर्व भारतीय राजदूत श्याम शरण भन्छन् –दुबैलाई मान्य हुने सीमा समाधान खोज्नै पर्छ ”

पूर्व भारतीय राजदूत श्याम शरण भन्छन् –दुबैलाई मान्य हुने सीमा समाधान खोज्नै पर्छ ”

काठमाडौ । सन् २००२देखि २००४सम्म नेपालका लागि भारतीय राजदूत रहिसकेका पूर्व विदेश सचिव श्याम शरणले नयाँ नक्सामा उत्पन्न विवादको समाधान नेपाल र भारत दुबैलाई मान्य हुनेगरी खोज्नै पर्ने भएको बताएका छन् । इन्डियन एक्सप्रेसमा ‘नेपाल इन्डिया मस्ट सीक म्युचअली एक्सेप्टेबल सलुसन टु कन्ट्रोभर्सी ओभर न्यू म्याप’ शीर्षकमा लेखेको आलेखमा यस्तो बताएका हुन् ।

सीमा विवादको समाधान भावनाको आधारमा नभइ एक अर्काले स्वीकार गर्ने परिणामको रूपमा खोज्नुपर्ने भन्दै पूर्व सचिव शरणले काठमाडौंमा देखिने कुरूप भारत विरोधी प्रदर्शनहरूले आफै पराजित हुने प्रत्युत्पादक विन्दु निर्माण  गर्ने चेतावनी पनि दिएका छन् ।

यो विवाद उत्पन्न हुन अघि दुई देशका प्रधानमन्त्रीले मोतिहारी अमलेखगन्ज पाइपलाईनको भिडियो कन्फ्रेन्स्बाट उद्घाटन गरिएको विषय दुई देशबीचको लाभ प्राप्त गर्ने सीमाआरपार सम्बन्धलाई दर्शाएको उनले जनाए । कुरूप किसिमको भारत विरोधी काठमाडौका प्रदर्शनले भारतमा काम गरी बसिरहेका ६०लाख देखि ८० लाख नेपालीहरू माथिको समस्या निम्त्याउने चेतावनी उनले लेखमार्फत दिएका छन् ।

उनले सन् २००१मा नेपाल भारतबीचको शान्ति मैत्री सन्धीको पुनरावलोकन गर्न भारतीय पक्ष सहमत भएको समेत उल्लेख गरेका छन् । साथै  कालापानी र सुस्तालगायतका सीमाविवादहरूलाई दुई पक्षीय रूपमा हल गर्ने संयन्त्र बनेको पनि उल्लेख गरेका छन् । कालापानी र सुस्ता विवाद समय समयमा आउने गरेको देखिएकोले यसको समाधान दुबै पक्षलाई मान्य हुने गरी खोज्नै पर्नै उनको भनाइ रहेको छ । नेपाल भारतबीचको पारिवारिक,धार्मििक तथा सांस्कृतिक सम्बन्धलाई यस्ता विवादले असर पर्ने भएको उनको भनाइ छ ।