प्रहरीको एनसेलमाथिको आक्रमणको सुइ विप्लव माओवादीतिर

प्रहरीको एनसेलमाथिको आक्रमणको सुइ विप्लव माओवादीतिर

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार साँझ भएको एनसेल मोबाइलको टावरमा भएको आक्रमणका कारण एक जनाको ज्यान गएको छ भने दुई जना घाइतेको उपचार भइरहेको छ । त्यसै दिन कमसेकम देशभरिका एक दर्जन जति एनसेलको टावरमा आक्रमण भएको थियो । ललितपुरको नख्खुमा मानवीय क्षति भए पनि अन्यत्र भएको छैन । 

यी घटनाहरुको अहिलेसम्म औपचारिक रुपमा कसैले जिम्मेवारी लिएका छैन । तर, प्रहरीले त्यसले निकालेको पर्चा, देशभरिको संगठनात्मक संरचना र एक दशकको माओवादी जनयुद्धको प्रकृतिको फौजी कार्वाहीलाई विश्लेषण गरेर यो कार्वाही विप्लव पाटी्र्रले गराएको आशंका गरेको छ । 

सिंहबहादुर गुरुङ, ४९, नख्खुको एनसेलको घटनामा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा शनिवार निधन भएको छ । दुई घाइते प्रतिक्षा खड्का र निरुशा मानन्धरको अस्पतालमा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको जनाइएको छ ।     

गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले विरामीलाई भेटेर सम्पूर्ण उपचार खर्च सरकारले बेहार्ने घोषणा गरे । र, साथै दोषीलाई कानुनको कठघरामा ल्याउने प्रतिबद्धता जाहेर गरे । गृहमन्त्रीसँगै आईजीपी सर्वेन्द्र खनाल पनि थिए । 

ललितपुरको नख्खुमा जस्तै एनसेलको टावरमाथि अछाम, कञ्चनपुर, नवलपरासी, नुवाकोट, गोरखा, कास्की र म्याग्दीमा आक्रमण भएको थियो । 

कञ्चनपुरमा एनसेल टावर नजिकै ‘जय जनता’ को नाममा एउटा पर्चा फालिएको भेटिएको छ । 

त्यसमा एनसेलको विरोध, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएको छ । 

विप्लव माओवादीतिर शंकाको सुइ तेस्र्याएर प्रहरीले तिनका निकटका नेता तथा कार्यकर्ताहरुलाई घटना भएका ठाउँ निकटबाट गिरफ्तार गरिरहेको छ ।