अध्यक्ष प्रचण्डलाई खुला पत्र...

अध्यक्ष प्रचण्डलाई खुला पत्र...

कमरेड प्रचण्ड,

तपाई सत्तासीन नेकपाको कार्यकारी भएको खबर तरंगले पुलकित हुँदै यो शव्द भेटघाटमा उपस्थित छु । यसलाई एक समर्थक, शुभेच्छुक र आमजनताको प्रतिनिधि आग्रह सम्झेर कार्यान्वयन गरिदिनुहुने छ भन्ने विश्वास लिएको छु ।

१. तपाई कार्यकारी अध्यक्ष भएपछि अब नेकपाको हेडक्वार्टर वालुवाटारबाट धुम्वाराहीमा तुरुन्तै सार्नु होला । प्रधानमन्त्रीको सरकारी निवासमा हामी जस्ता निमुखाको प्रवेश नै सम्भव भएन । देशभरका नेता कार्यकर्तालाई कम्तीमा पार्टी मुख्यालयमा आउने, धाउने, सुनाउने र सुस्ताउने प्रवन्ध आजको आजै व्यवस्था गरिदिनुहोला ।

२.पार्टी भनेको सरकारमा रहनेको होइन बस्तीबस्ती र टोल टोलबाट लेवी बुझाउँदै पार्टीको लागि खटिरहने समूहको प्रतिनिधि हो भन्ने तथ्य तपाईले अध्यक्षका रुपमा स्थापित गरिदिनु होला । अहिलेको नेकपा झण्डावालहरु, सिंहदरवार र वालुवाटारमा पहुँच हुनेको मात्रै भयो । त्यसमा क्रमभंगता ल्याएर नेकपा जनता अर्थात गाउँवासीको पार्टी भएको नयाँ रक्तसंचार तुरुन्तै गराइदिनु होला ।

३.पार्टी कमिटीहरु कता हराए, बिलाए ? यसको उत्तर अध्यक्ष कमरेडलाई पक्कै छ । तसर्थ कमरेड कम्तीमा केन्द्रीय कमिटिको वैठक पार्टी केन्द्रीय मुख्यालयमा, प्रदेशको प्रदेश कार्यालय, जिल्लाको जिल्लै र नगर तथा गाउ र वडाको तततत कार्यालयमा नै बैठक नियमित बस्ने र जनताका पक्षमा काम भए नभएकाबारे धरातलीय यथार्थका आधारमा पार्टीले समीक्षा गर्ने नयाँ विधि र शैली तपाईको कार्यकारी अध्यक्षताकालमा तुरुन्तै सुरु गरिदिनु होला ।

४. तपाईले भन्नु भएजस्तै बन्दुकले पार्टी होइन, पार्टीले बन्दुक चलाउने चलन नेकपाभित्र तपाई अध्यक्षज्यूले नै सुरु गरिदिनु पर्यो । अहिले त सिंहदरवार र वालुवाटारले धुम्वाराहीलाई चलाउने चलनले नेकपा, अब कता ? भन्ने प्रश्न संगिन रुपमा खडा भइसक्यो । यसमा तत्कालै क्रमभंगता गरिदिनुहोला । 

५. देश साक्षी छ, अहिलेका तीन तहका सरकार तपाई नेतृत्वकै १० वर्षे जनयुद्धका उपज हुन । तर अध्यक्ष कमरेड, यी तिनै तहका सरकार सरकारमा रहेकाहरुले कमाउने र नेकपालाई सिध्याउने सरकारी अड्डाका रुपमा बदनाम भइरहेका छन । जो जो निर्वाचित अधिकारीहरु छन्, तिनमा केही अपवादलाई छोडेर धेरै जसो कमाउने धन्दामा लागेका छन । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारका नाममा निर्वाचित भएका सबै जनप्रतिनिधि नयाँ मुखिया र तालुकदारका रुपमा उदाएका छन् । यिनको देखाउने र खाने दाँत फरक फरक हुुँदा जनतालाई जुन जोगी आए पनि कानै चिरेका भने जस्तो मात्रै भएको छ ।

६. त्यसैले अध्यक्ष कमरेड, सबै तहका सरकारमा रहेका जनप्रतिनिधि तथा साँसद र मन्त्रीहरुलाई तततत पार्टी कमिटीहरुले नत्थी लगाउन सक्ने, मिल्ने गरी तपाईले केन्द्रदेखि वडासम्मै पार्टी कमिटी र पार्टी नेतृत्वलाई तानाशाही रुपमा जनप्रतिनिधिमाथि अंकुश लगाउन सक्ने गरी सक्रिय र कार्यकारी बनाइदिने सञ्जाल र विधि तत्कालै व्यवस्था गरी कडा रुपमा लागू गरिदिनुहोला ।

७. अध्यक्षज्यू अहिले तिनै तहका सरकारमा रहेकाहरुलाई यसैगरी पुग्छ भन्ने भ्रम छ । पार्टी दोस्रो कुरा हो । सरकार र सत्ता पहिलो कुरा हो भन्ने भ्रम परेको छ । अध्यक्ष ज्यूले पार्टी नै पहिलो प्राथमिकता हो । पार्टीको उदेश्य, नीति र कार्यक्रम लागू गर्ने काम नै सरकार वा सत्तामा रहेका हरेक तहका प्रतिनिधिको मूल काम हो भन्ने तथ्य व्यवहारबाटै सिकाइदिनु होला  । नत्र कमरेड पार्टीको साख गिर्ने र सत्तामा जाने मात्रै मोटाउने यो शैलीले सरकार त सकिन्छ, सकिन्छ पार्टी पनि सकिन्छ । कम्तिमा तपाई कार्यकारी अध्यक्ष भएको नेकपा जनतासँग टाढा होइन, सँगैसँगै रहेको देख्न पाउनु प¥यो कमरेड ।

८. कर्मचारी भ्रष्ट छन भन्ने यहाँलाई अवगतै छ । तर भ्रष्ट कर्मचारीका मतियार बनेर स्थानीय र प्रदेश सरकार वा केन्द्र सरकारमा रहेकाहरुले गरेको आर्थिक अपचलनले अन्ततः सिध्याउने पार्टीलाई, जनतालाई र देशलाई हो । त्यसैले कर्मचारीको भ्रष्ट मति रोक्न र त्यसका मतियार हुन हानाथाप गर्ने जनप्रतिनिधिहरुका लागि आर्थिक अनुशासनका सन्दर्भमा पनि अध्यक्ष कमरेडले नयाँ केही योजना ल्याएर सत्तामा गएकाहरुलाई बेदाग फेरि जनतामा फर्कने खालको वातावरण अध्यक्ष कमरेडले आफ्नै कार्यकारी अध्यक्षताकालमा गर्नु नै पर्ने भएको छ ।

९.पार्टी पद्धतिले सरकार निर्देशित हुने र पार्टी नेता तथा कार्यकत्र्ताको सरसल्लाह र निर्देशनमा तीनै तहका सरकार र जनप्रतिनिधि चल्ने विधिमा तपाई स्वयंले नयाँ नीति, कार्यक्रम, योजनाहरु सञ्चालन गर्न सक्दा पार्टीमा र तीनै तहका सरकारमा नयाँ उमंग र तरंग आउछ । यसो हुँदा तपाईले सोचेको संघीयताले माटोमा जरा गाड्छ । अहिले ठीक उल्टो भइरहेको छ । त्यसैले अध्यक्ष कमरेड अब सुधारका लागि तपाई निर्मम कमाण्डरका रुपमा सक्रिय भइदिनु होला ।

१०. अध्यक्ष कमरेड तपाईको त्यागमा केन्द्र सरकारले ५ वर्षे स्थायित्व पाएको छ । केपी ओलीलाई सरकार चलाउन सहयोग गर्नुस ।  तपाईका लागि प्रधानमन्त्रीको कुर्सी न हिजो, न आज, न भोलि कहिल्यै टाढा छैन । खासै ठूलो महत्व नभएको प्रधानमन्त्री हुने चक्कर छोडेर तपाईले कार्यकारी नेकपा अध्यक्षका रुपमा देशलाई नीतिगत, सांगठानिक र व्यवहारिक कार्यरुप बाटै देशको मुहार बदल्न सरकारलाई वाध्य पार्न सक्नु हुन्छ । त्यसका लागि अबेर नगर्नु होला कमरेड । तपाईको त्याग अब देश विकासमा देखिनुपर्छ । तपाईको त्याग अब सरकारको गतिमा र पार्टीको प्रगतिमा प्रतिविम्वित हुनैपर्छ । सोही अनुसार काम गर्ने, गराउने जाँगर युद्धकालमा भन्दा तेज वेगवान बनाउनु होला ।

११. देशमा शान्तिका अधुरा काम पूरा गराउन ढिलो नगर्नुस, नगराउनुस । समाजको निराश तप्कालाई ऊर्जा भर्ने गरी रचनात्मक र परिणाममुखी काममा मात्रै तपाईले आफ्नो कार्यकारी अध्यक्ष पदलाई सदुपयोग गर्नुस । अब रिबन काट्न, शिलान्यास गर्न, सस्ते समारोहमा समय खर्च नगर्नुस । यस्ता काम तततत तहका पार्टी नेतृत्वलाई जिम्मा दिनुस । तपाई पार्टी र देश बनाउने गरी अध्ययन, चिन्तन, मनन, संगठन, प्रशिक्षण र निर्माणका काममा समय खर्च गर्नुस अध्यक्ष ज्यू । 

१२. तपाईले सत्तारुढ नेकपाको अध्यक्षका रुपमा पाएको जिम्मेवारीलाई अब हिजोको प्रचण्ड भएर हैन, आजको विकासवादी प्रचण्ड, जनवादी प्रचण्ड, जनताको प्रचण्ड भएर पूरा गर्नुस । तपाई लड्न सफल, तर जित्न र बनाउन सफल नभएको प्रचण्ड नबन्नुस । अब देश निर्माण प्रचण्ड बन्नुस, त्यसका लागि आफै नयाँ उत्साह र जोशको नयाँ प्रचण्ड बन्नुस । अनि नेकपाको इतिहासमा मात्रै होइन नेपालको नयाँ इतिहासमा तपाई आधुनिक गणतान्त्रिक राष्ट्र निर्माता प्रचण्ड बन्नु हुनेछ । तपाईलाई यही शुभकामना नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ।

शंकर तिमल्सिना, नुवाकोट, हाल काठमाडौं ।