कार्यकारी प्रचण्ड, नेकपामा तरङ्ग

कार्यकारी प्रचण्ड, नेकपामा तरङ्ग

काठमाडौं । विस्तृत शान्ति सम्झौता २०६४ मंसिर ५ को जग र निरन्तरतामा अघि बढ्दै आएको नेपाली राजनीतिमा २०७६ मंसिर ४ को निर्णयले पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष हुने निर्णय सार्वजनिक हुनु आफैंमा एउटा सुखद खबर थियो, नेकपा पङ्क्ति र देशको राजनीतिका लागि । अझ यो इतिहासले फेरि जुराएको अवसर हो, प्रचण्डका लागि । जनयुद्धको दशकलाई शान्तिमा बदलेर शान्ति राजनीति मार्फत एकीकृत कम्युनिष्ट आन्दोलन अघि बढाउने र एकीकृत कम्युनिष्ट पार्टीको सरकारबाट देश र जनताको समृद्धि यात्रामा अघि बढ्ने प्रचण्ड संघर्ष र सपना पूरा गर्न यो एउटा दुर्लभ अवसर फेरि जुरेको छ, प्रचण्डलाई ।

सत्तामा आलोपालो गर्ने पूर्व सहमतिबाट पछि हटेर समकक्षी केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिन मञ्जुर हुँदा प्रचण्डले नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने अवसर पाएका छन् । उनी सम्भवतः अब नेकपाको यो सत्ताकालमा सरकार प्रमुख हुने छैनन । तर, यो सरकारलाई मार्गनिर्देश गर्ने र एकीकृत कम्युनिष्ट आन्दोलनलाई, सत्तारुढ नेकपालाई र देशको समग्र सत्ता राजनीतिलाई दिशानिर्देश गर्ने तहमा शक्तिशाली नायक बन्ने मौका पाएका छन् ।

इतिहासले प्रचण्डलाई धेरै पटक काम गरेर जनताको विश्वास जित्ने अवसर दिएको छ । तत्कालीन नेकपा एमाले र माओवादीको एकताका करीब दुई वर्षपछि मात्रै उनले कार्यकारी पार्टी अध्यक्षको जिम्मेवारी संस्थागत निर्णयका साथ प्रधानमन्त्रीको सम्भावित अवसर गुमाएर पाएका छन् । 

अब उनले नेकपाको आन्तरिक साँगठानिक जीवनमा नयाँ ज्यान भर्नुपर्नेछ, सत्तारुढ नेकपाको सरकारका सुस्त कामहरुका कारण जनताको ठूलो हिस्सामा सरकारप्रति निराशा र वितृष्णा बढेको छ, त्यसलाई चिर्नु छ । शान्ति संझौताका बाँकी कामहरु अलपत्र छन्, तिनलाई निष्कर्षमा पुरयाउनु पर्नेछ । र, समग्रमा दुई तिहाई बहुमतको वाम सरकारले जनजनका सामु गरेका हर वाचा पूूरा गरेर जनताको विश्वास जितिरहनु पर्नेछ । त्यसका लागि प्रचण्डको कार्यकारी अध्यक्षकाल निकै चुनौतिपूर्ण प्रचण्ड अवसर हो । 

१. पार्टी एकतालाई भावनात्मक रुपमा सम्पन्न गर्ने चुनौती

प्रचण्डले सोलोडोलो एकतावद्ध घोषित तर मनसँग मन नमिलेका देशभरका पार्टी संगठन र नेता कार्यकर्ताको एकतालाई साँच्चै मूर्त रुप दिन सक्नुपर्छ केन्द्रीय कार्यकारी अध्यक्षका रुपमा । नत्र, अहिले केन्द्रमा नेता मिलेका र जिल्ला तहमा पार्टी भङ्ग भएका कारण जबर्जस्त मिले जस्तो गरेका नेता, कार्यकर्तालाई उनले आपसमा मिलाउन सकेनन् भने उनको एकतावद्ध र ठूलो पार्टी बनाउने सपना पूरा हुने छैन । अहिलेसम्मको पार्टी एकता प्राविधिक मात्र देखिएको छ, यसलाई जरैदेखि भावनात्मक र व्यावहारिक बनाउन सक्नुपर्छ । 

सत्तारुढ नेकपाको कार्यकारी प्रचण्ड हुनुको तात्पर्य उनी २०४९ मा मिलेका माले र माक्र्सवादीको एकतापछि बनेको नेकपाका पहिलो अध्यक्ष मनमोहन अधिकारी जस्ता पोष्टर अध्यक्ष मात्रै होइनन् । उनी अहिले देश बदल्न सत्तामा रहेको नेकपाका कार्यकारी अध्यक्ष हुन भन्ने निर्णयमा होइन, व्यवहारमा प्रमाणित हुने अवसर छ, त्यो उनले पूरा गर्नैपर्छ । 

बाहिर नभनिएको भए पनि भित्रभित्र पूर्व माओवादीहरुलाई सिध्याउने गरी राज्यसत्तासँग जोडिएर एउटा पक्ष लागेको तीतो यथार्थबाट प्रचण्ड बेखबर छैनन् । पूर्व माओवादीको शक्तिका स्रोत मानिएका नेता, नेतृत्व र व्यक्तित्वहरुलाई यो वा त्यो बहानामा प्रत्यक्ष÷अप्रत्यक्ष कमजोर पार्ने अभ्यासहरु जुन रफ्तारमा भइरहेका छन्, यसले पार्टीको भावनात्मक एकतालाई आघात पारिरहेको तथ्य प्रचण्डले अब बिर्सन हुँदैन । उनले यति बलियो विधि र पद्धतिमा पार्टीलाई होमिदिनुपर्छ कि त्यहाँभित्र सबैले योगदान,योग्यता र क्षमताका आधारमा अघि बढ्न सकून, पाऊन ।

२ पार्टी पद्धति पुनस्र्थापनाको चुनौती

कसैले माने पनि नमाने पनि एकीकृत घोषणापछिको सत्तारुढ नेकपा एउटा असंगठित भीड र नेतामुखी निर्देशनमा आधारित तप्का झै बनेको छ । मुलतः शीर्ष, पहुँचवाला नेताहरुको रोजाइ, लहड वा सपना पूरा गर्ने नाममा पार्टीको तीव्र नेताकरण, ध्वस्त पार्टी विधि, नीति र पद्धति वर्तमान नेकपाको नियति हो ।

अब प्रचण्डले केन्द्रदेखि वडा तहसम्मै पार्टीको पुनर्गठन र संस्थागत संगठन पुननिर्माण र त्यसलाई संस्थागत ढंगमा परिचालन गरेर पार्टीलाई जनतासँग पुनः जोड्ने र जागृत गराउने काम गर्न सक्नैपर्छ । यसो गरेमा मात्रै कार्यकारी अध्यक्ष प्रचण्डको सार्थकता पुष्टि हुनेछ । 

३. सरकारमाथि लगाम, जनविश्वास आर्जनको चुनौती 

बितेका २१ महिनामा केपी ओली नेतृत्वको सरकारले मनमौजी हिसावमा सरकार सञ्चालन ग¥यो । दुई अध्यक्षको सल्लाह वा प्रचण्डलाई वोधार्थ दिने शैलीले ओलीले सरकार चलाउँदै आए । फलतः सरकार लोकप्रिय र कामकाजी प्रमाणित हुन सकेन, जनजनका नजरमा । 

अब सरकारलाई कामकाजी बनाउन पार्टी निर्देशित बनाउन सक्नुपर्छ प्रचण्डले । चुनावी घोषणपत्र कता छ र करीव दुई वर्षमा प्रधानमन्त्री र मन्त्रीहरुको यात्रा कता गएको छ ? त्यसको निर्मम समीक्षा र सुधार प्रचण्डले गर्न, गराउन सक्नुपर्छ । यसो भएन भने अहिलेको जनविश्वास अर्को चुनावसम्म धराशायी हुन सक्ने पूर्वानुमान प्रचण्ड जत्तिको काविल नेताले गर्न सक्छन र सक्नुपर्छ ।

सरकार प्रधानमन्त्रीको होइन, पार्टीको हो । मन्त्रीहरु पार्टीका जनताको मोर्चामा काम गर्ने आवधिक प्रतिनिधि हुन, सर्वेसर्वा कार्यकारी होइनन् भन्ने विधि र पद्धति कार्यकारी प्रचण्डको कार्यकालमा स्थापित हुन सक्नुपर्छ ।
चिनियाँ राष्ट्रपति सी चिन फिङले नेकपाका नेताहरुलाई काठमाडौं भ्रमणका दौरान सत्तामा टिक्न जनताको मन जित्न सम्झाएर गएका तथ्य कम्तिमा प्रचण्डले हमेसा सम्झिरहनुपर्छ । जनतासँग प्रत्यक्ष जोडिने पङ्क्ति भनेको स्थानीय पार्टी पङ्क्ति हो । स्थानीय पार्टी पङ्क्ति ध्वस्त, निष्क्रिय वा पलायनपथमा र स्थानीय सरकार भनिएको निर्वाचित निकाय कमाउधन्दामा लागेको विसङ्गत वर्तमानमा प्रचण्डले क्रमभङ्गता ल्याउन नसके यो सरकारको हालत पनि २०६१ को शाही कदम ढले जस्तै

नहोला भन्न सकिन्न । जनतासँग पार्टी र सबै तहका सरकारको दूूरी बढेको विन्दुबाटै जनतासँग पार्टी र सरकारलाई जोड्न प्रचण्ड पूर्व मेचीदेखि पश्चिम महाकाली, घरघर र वस्तीवस्तीमा आफ्नै कमाण्डमा पुग्न सक्नुपर्छ । 
व्यवस्थाहरु फेरिएका तर जनताको अवस्था नफेरिएको पीडा, आक्रोस वा असन्तुष्टिको उपचार गर्न प्रचण्ड सक्रियता भएन भने उनले जुन पद र जिम्मेवारी लिए पनि त्यसले आमजनतालाई तरङ्गित र समाहित गर्न सक्दैन । 

४. शान्ति सम्झौता पूर्णताको चुनौती 

आफू कार्यकारी अध्यक्ष भएको भोलिपल्ट प्रचण्डले शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अब आफू तातेको बताए । तर, उनले यस्ता भाषण गरेको दशक बितिसक्यो । अब उनले शान्ति सम्झौताका बाँकी काम मुख्य विपक्षी काँग्रेस समेतको विश्वास, साथ र समर्थनमा पीडित मैत्री भएर यथाशक्य चाँडो गर्न, गराउन सक्नुपर्छ । नत्र उनले शान्तिको गीत गाउँदै गर्दा जनताका मन अन्तै बहकिन पनि सक्छ ।

शान्ति सम्झौताको पूर्णतामा उनका पूर्व सहकर्मीहरु मोहन वैद्य किरण, नेत्र विक्रम चन्द विप्लवहरुदेखि गोपाल किराँती र बाबुराम भट्टराईहरु पनि समेटिन सक्नुपर्छ । १० वर्षे वलिदानीपूर्ण जनयुद्धको जग र बलमा प्राप्त वर्तमान उपलव्धिको रक्षा र सम्वद्र्धनमा अरुलाई दोष दिएर उम्कन नसक्ने, नपाउने विन्दुमा छन् उनी अहिले । जनयुद्धका बेला शहादत प्राप्त गर्नेहरुको आत्माको कामना पूरा गर्न, घाइते, अङ्गभङ्ग तथा वेपत्ताहरु र तिनका परिवारको आँशुको मूल्य नचुकाइ हुन्न । उनको कार्यकारी नेकपा अध्यक्षको वर्तमान जिम्मेवारी अन्तिम अवसर हो ।

५.आफै उदाहरण बन्ने चुनौती 

समकालीन नेपाली राजनीतिको भूधरातलीय यथार्थ यही हो कि प्रचण्ड नेपाली राजनीतिका मियो हुन । जनयुद्धका आलोकमा, शान्ति सम्झौताका पृष्ठभूमिमा र वाम एकतापछि बनेको करीव दुई तिहाई वहुमतको वाम सरकार बनाउने सत्तारुढ नेकपाका अध्यक्षका आवरणमा फरकफरक बान्की र विम्व छन् प्रचण्डका । 

तथापि, एउटा क्रूर सत्य  यही हो, यदि नेपाल भन्ने देशले संघीय लोकतान्त्रिक गणतन्त्रको पहिचानमा आफूलाई सतीसाल झैं उभ्याइरहने हो भने निर्विकल्प छ, त्यसको खम्वा प्रचण्ड नै हुन् ।  यस अर्थमा नेपाली गणतन्त्रका जन्मदाता प्रचण्ड के नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र जनताको परिवर्तनको भावना र अपेक्षालाई पूरा गर्ने सही बाटोमा पहिले आफै उदाहरण बन्न सक्नुपर्छ । 

वदलिएको परिवशेमा सत्ता नै जब परिवर्तनको अन्तिम मुकाम र अस्त्र हो भने, वर्तमान सत्तालाई युगान्तकारी परिवर्तनको स्वर्णकाल बनाउन चुक्ने, झुक्ने वा बरालिने छुट छैन अब नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई ? हिजो देश बदल्न शिरमा कफन बाँधेर हिडेका प्रचण्ड जब आफैं बदलिएर युद्धलाई शान्तिमा वदल्न काविल सावित भए भने शान्तिबाट समृद्धिमा फड्को मार्न सकिन भन्ने ठाउँमा रहेनन् । यसमा बरालिने वा अल्मलिने छुट र सुविधा छैन अब उनलाई  । 

अनुकूलता छलाङ मार्ने अवसर 

सत्तारुढ नेकपाको पार्टी अङ्कगणितमा प्रचण्डका लागि यो भन्दा उत्तम अवसर अब किन बाँकी छैन भने माधव नेपाल, वामदेव गौतम जस्ता शक्तिशाली नेता उनका हितैसी छन । ओलीको उनले विश्वास जितेरै वा वाध्यताले शक्ति सीमित गरेका छन् । ईश्वर पोखरेलहरुको व्यवस्थापनमा उनले ध्यान दिए भने विष्णु पौडेलहरु प्रचण्डका चुनौती नै होइनन् । आफ्नो रोडम्यापमा उनले पार्टीलाई लगाम लगाउन सके, सरकारलाई स्वतः लगाम लाग्ने र त्यो सरकार केन्द्रदेखि वडासम्म जनमुखी हुने पक्का छ । 
पार्टी एककीकरणपछिको दुई वर्षमा उनले आफूलाई यो तहको शक्तिशाली अध्यक्ष बनाउन सक्नु मात्रै उपलव्धि होइन, त्यसलाई कार्यरुपमा उतार्न सक्नु उनका लागि अवसर हो । नेकपामा प्रचण्डको यो उदय प्रचण्ड स्वर्णकाल हुन सकोस भन्ने उनका समर्थकको शुभकामना उनले हरदम नभुले मात्रै पनि उनी असफल हुनबाट जोगिन सक्नेछन् । समयबद्ध साप्ताहिकबाट