प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेशन गर्ने तयारी

प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेशन गर्ने तयारी

काठमाण्डौ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिसको अपरेशन गर्ने तयारी गरिएको छ ।

पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीलाई एपेण्डिसाइटिस भएकाले अपरेशन गर्ने तयारी गरिएको डाक्टर अरुण सायमीले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको मिगौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा पनि स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ ।

के हो एपेन्डिसाइटिस ?

ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेण्डिक्स’ भनिन्छ। एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पिप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। एपेण्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने चिकित्सकहरू बताउँछन् । अपरेसन गरेका यस्ता बिरामीले केही दिन अस्पतालमै आराम गर्नुपर्छ ।